पोखरा,७ असार–युरोकप २०२१ अन्तर्गत आइतवार राती भएको खेलमा इटालीले संघर्षपूर्ण जीत निकालेको छ । समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा इटालीले वेल्सलाई १–० ले हराउन सफल रह्यो ।
खेलको ३९ औ मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटालीलाइ अग्रता दिलाएका थिए । मार्को भेराट्टीको फ्रिकिकमा सेस्सिनाले बलको दिशा परिवर्तन गर्दै गोल गरेका थिए ।
दोस्रो हाफको सुरुवातमै फेडेरिको बर्नाडेस्कीको प्रहार बाहिरीदा अग्रता दोब्बर गर्नबाट चुके । ५३ औ मिनेटमा करिब २५ यार्डबाट गरेको फ्रिकिक प्रहार पोस्टमा लाग्दै बाहिरीन पुगेको थियो । खेलको ५५ औ मिनेटमा वेल्सका इथान अम्पादुले रातो कार्ड पाए । बर्नाडेस्कीलाई टयाकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए ।
१० खेलाडीमा सिमित वेल्सले ७५ औ मिनेटमा बराबरीको अवसर गुमायो । किएफ मुरले दिएको हेडरपासमा अनर्माक रहेका वेल्सका कप्तान गारेथ बेलले गोल गर्नबाट चुके ।
सोहि समूहको अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाइ ३–१ गोल अन्तरले पाखा लगायो ।
यस अघि नै नकआउट चरणमा प्रवेश गरेको इटाली शीर्षस्थानमा यथावत रह्यो । इटालीसंग हार व्यहोरेपनि वेल्स भने अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । जीतसंगै इटालीको ३ खेलबाट ९ अंक रहेको छ ।
यस्तै वेल्सको ४ अंक रहेको छ । समान ४ अंक रहेको स्विट्जरल्याण्ड तेस्रो स्थानमा रहेको छ । वेल्स गोल अन्तरमा स्विट्जरल्याण्ड भन्दा अघि रहँदै नकआउट चरणमा प्रवेश गरको हो । टर्की भने अंक विहिन रहँदै युरोकपबाट बाहिरीयो । स्विट्जरल्याण्डले भने अन्तिम १६ मा स्थान बनाउन अन्य तेस्रो स्थानको नतिजा कुर्नुपर्ने भएको छ । ४ अंक भएकाले स्विट्जरल्याण्डको सम्भावना भने बलियो देखिएको छ ।





