पोखरा,८ असार–युरो कप अन्तगर्त समूह बी को अन्तिम खेलमा डेनमार्कले फराकिलो जीत हात पार्दै नकआउट चरणमा प्रवेश गरेको छ । लिग अन्तर्गतको जीत्नैपर्ने खेलमा डेनमार्कले रसियालाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
३ खेलबाट ३ अंक रहको डेनमार्क गोल अन्तरका आधारमा अघि बढेको हो । समान खेलबाट रसिया र फिनल्याण्डको पनि ३–३ अंक रहेको छ । बेल्जियम भने ९ अंकका साथ शीर्षस्थानमा रहँदै यस अघि नै अन्तिम १६ मा पुगिसकेको छ ।
रसिया भने अन्तिममा रहँदै बाहिरीएको छ । पहिलो हाफको ७ मिनेट समय बाँकी रहँदा मिकेल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । उनले पिएर एमिल होएबिएरको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको ५९ औं मिनेटमा युसुफ पौलसेनले गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे । डिफेन्डरले गम्भीर गल्ति गर्दै दिएको पासलाई पौलसेनले सहजै नियन्त्रणमा लिँदै सहजै गोल गरेका थिए ।
७० औं मिनेटमा रसियाले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने अवसर पाएको थियो । यानिक भेस्टेगार्डले पेनाल्टी क्षेत्रभित्र सोबोलेभलाई लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान आर्टम ज्युबाले गोल गरेका थिए ।
७९ औं मिनेटमा डिफेन्डर आन्द्रेस क्रिस्टेन्सनले गोल गर्दै डेनमार्कको २ गोलको अग्रता पुनः स्थापना गरे । गोलरक्षक सोबोलेभले लगातार दुई प्रहार विफल पारेपछि आएको रिबाउन्डमा उनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।
८२ औं मिनेटमा जोआकिम माहलेले गोल गर्दै डेनमार्कको जित सुनिश्चित गरे । काउन्टर अट्याकमा अघि बढेको डेनमार्कका माहलेले गोलरक्षक सफोनोभलाई उत्कृष्ट फिनिसमा बिट गर्दै ४–१ को जित दिलाए ।





