पोखरा,११ असार– उरुग्वे कोपा अमेरिका २०२१ को अन्तिम आठमा प्रवेश गरेको छ । शुक्रवार विहान भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० ले हराउँदै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
समूह ए अन्तर्गत भएको खेलमा उरुग्वेले उपाहार गोलसंगै अग्रता लिएको थियो । पहिलो हाफमा आत्मघाती गोलले अघि बढेको उरुग्वेका लागि दोस्रो हाफमा एडिन्सन काभानीले गोल गरेपछि टोलीले २–० को जित दर्ता गरेको हो ।

पहिलो हाफको ५ मिनेट बाँकी रहँदा बोलिभियाका जाइरो क्विनटेरोस र कार्लोस लाम्पेबीच समझदारी हुन नसक्दा लाम्पेले आत्मघाती गोल गर्न पुगेका थिए । उरुग्वेले एकपछि अर्को आक्रमण बुनेपनि बोलिभियाको डिफेन्सले बलियो प्रदर्शन गरेको थियो ।
७९ औं मिनेटमा काभानीले गोल गर्दै जित पक्का गरेका थिए । फाकुन्डो टोरेसको क्रसलाई गोलमा परिणत गर्दै काभानीले उरुग्वेलाई जारी कोपा अमेरिकामा पहिलो जित दिलाएका थिए ।
उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समूहमा शीर्ष स्थानको अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । चिलीको ३ खेलमा ५ अंक छ भने पाराग्वेले २ खेलमा ३ अंक रहेको छ ।





