पोखरा, १३ असार– पटक–पटक म्याद थप गर्दै अघिबढेको पोखरा फुटबल रंगशालाको भौतिकतर्फको ९० प्रतिशत काम सकिएको छ ।
बजेट अभाव र कोरोनाका कारण बारम्बार स्थगित हुँदै आएको रंगशालामा छानो हाल्ने काम सकिनै लागेको छ । भिआइपी तर्फको रुपटेन राखिएसँगै फेब्रिक राख्ने काम सुरु गरिएको छ । पानीले नबिगार्ने फेब्रिक करिब ५० वर्षसम्म टिकाउ हुने पोखरा रंगशालाका प्रोजेक्ट इन्जिनियर पुरुषोत्तम बरालले जानकारी दिए । उनका अनुसार फुटबल मैदानका लागि अब भिआइपीतर्फको काम र कार्यालयदेखि चेञ्जिङ रुमसम्मको काम मात्रै बाँकी छ ।
‘फिजिकलतर्फ ९० प्रतिशत काम सकिसकेका छौँ । फाइनान्स तर्फ ८५ प्रतिशत काम सकिएको छ’, उनले भने,‘अब फुटबल रंगशालाको स्टक्चर आइसक्यो । भिआइपीतर्फ छानो राख्दै गर्दा प्यारापिटतर्फ रहेका शौचालय र ४ सय मिटर बाटो पिच गरिने उनले जनाए । सम्पन्न हुँदा रंगशालामा १७ हजार ५ सय दर्शक अटाउँछन् । पहिलो योजना अनुसार प्यारापिटलाई बढाएर २० हजार पु¥याउने घोषणा भने पूरा नहुने उनले जानकारी दिए । पोखरामा २० हजार दर्शक क्षमताको प्यारापिट निमार्ण गरिने राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव र सदस्य राजेश गुरुङले घोषणा गरेका थिए ।





