पोखरा, १३ असार–इटाली युरो कप २०२१ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । लन्डनको वेम्ब्ली अन्तराष्ट्रिय फुटबल एरिनामा अष्ट्रियालाई २–१ गोलले हराउँदै इटाली अन्तिम आठमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९५ औ मिनेटमा परिवर्तित खेलाडी फेडेरिको किएजाले गोल गर्दै अग्रता दिलाए । उनले किएजालो स्पिनाजोलाको पासमा गोल गरे ।
खेलको १०४ औ मिनेटमा अटालीले अग्रता दोब्बर गर्न सफल रह्यो । म्याटियो पेस्सिनाले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । लोरेन्जो इन्सिन्गेले प्रहार गरेको फ्रिकिकमा अष्ट्रियाका गोलरक्षक ड्यानियल ब्याकमानले उत्कृट बचाउ गरेका थिए ।
उक्त बचाउपछि कर्नरबाट आएको बलमा पेस्सिनाले गोल गरेका थिए । खेल सकिन ५ मिनेटको समय बाँकी रहँदा अष्ट्रिया अग्रता घटाउन सफल रह्यो । स्वाउबको कर्नरमा वैकल्पिक खेलाडी सासा कालाज्डिचले गोल गर्दै खेल २–१ को स्थितिमा पु¥याए ।
अतिरिक्त समय अघिको खेलमा इटालीले अष्ट्रियालाई दबाबमा राखेपनि गोल गर्नबाट भने चुकेको थियो । खेलको १७ औ मिनेटमा इटालीका निकोलो बारेल्लाको प्रहार अष्ट्रियाका गोलरक्षकको खुट्टामा लाग्दै गोल हुनबाट जोगिएको थियो । ३२ औ मिनेटमा चिरो इम्मोबिलेको प्रहारमा पोस्ट बाधक बन्न पुग्यो ।
खेलको ६३ औ मिनेटमा अष्ट्रियाका अर्नाउटोभिचले हेडर गोल गरेपनि भीएआरले गोललाई मान्यता भने दिएन । उक्त गोल अफसाइड ठहरिदाँ अष्ट्रिका लागि दुर्भाग्य साबित भयो ।





