बागलुङ, १६ असार– संयुक्त बिद्यार्थी आन्दोलन बागलुङले बुधवार बागलुङ बजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
जातीय छुवाछुत बिरुद्धको घटनाका दोषीलाई सरकारकारका मन्त्रीले संरक्षण गरेको बिषय र मूल्यवृद्धि समेतको बिरोध गर्दै पुत्ला जलाएको उनीहरुले बताए । नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी लगायत ५ बिद्यार्थी संगठनले उक्त बिरोध गरेका थिए ।
धौलागिरि चोकबाट पुत्ला बोकेर आएका बिद्यार्थीले लोकतान्त्रिक चोकमा आएर नाराबाजी गर्दै पुत्ला दहन गरेका थिए । नेविसंघका सचिव दिनेश पन्त, क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्मा, धौलागिरि बहुमुखी क्याम्पस नेविसंघका अध्यक्ष दिनेश पन्त लगायतका बिद्यार्थी नेताले बिरोध कार्यक्रमको नेतृत्व गरेका थिए ।
उनीहरुले पेट्रोलियम पदार्थलगायत खाद्यन्नमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने लगायतका माग गरेका थिए । विरोध कार्यक्रम र पुत्ला जलाइसकेपछि पुगेको प्रहरीले बिद्यार्थीलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । बिद्यार्थीको बिरोधपछि प्रहरी त्यसै फर्केको थियो ।





