आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्पोर्टस् अवार्ड भर्चुअलमै

स्पोर्टस् अवार्ड भर्चुअलमै


  • विजय नेपाली
  • असार १७ २०७८, बिहिबार

पोखरा, १७ असार– कोरोना महामारीका कारण गतवर्षदेखि रोकिएको पोखरा स्पोर्टस् अर्वाड यसवर्ष भर्चुअल माध्यमबाट हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले गर्दै आएको अवार्डको पाँचौं संस्करण भर्चुअल माधयमबाट असार १८ गते हुने मञ्च अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
मञ्चले प्रत्येक वर्ष गर्दै आएको अवार्ड कार्यक्रम गतवर्ष कोरोना महामारीका कारण हुन स्थगित भएको थियो । ‘लकडाउनले एक वर्ष रोकिन पुग्यौं । केही सहज समयपछि बैशाख २० गते गर्ने भनेका थियौं,’ अध्यक्ष गिरीले भने, ‘तर फेरि महामारीले दोस्रो पटक लकडाउन भएपछि फेरि स्थगित गर्न बाध्य भएका थियौं ।’
प्रतियोगितामा १३ औं सागमा गण्डकी प्रदेशका खेलाडीले देखाएको प्रदर्शनलाई मुख्य आधार मानिएको अध्यक्ष गिरीले जानकारी दिए । अवार्डको उत्कृष्ट पुरुष खेलाडी विधातर्फ करातेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् ।
उत्कृष्ट महिला खेलाडीतर्फ साइकलिङका जमुना थापा, तेक्वान्डोका पार्वती गुरुङ र प्रशंसा क्षेत्री मनोनियनमा परेका छन् । उदीयमान खेलाडीतर्फ पौडीका दुवाना लामा, लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री मनोनियनमा छन् ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षक विधामा पौडीका आनन्द कुँवर, फुटबलका किरण गुरुङ र बक्सिङका सुरेश मल्ल ठकुरी मनोनियन सूचीमा छन् । मनोनियनमा परेकामध्ये उत्कृष्ट एकजनालाई छनोट गरी उत्कृष्टको अवार्ड प्रदान गरिने मञ्चका महामसचिव विजय नेपालले जानकारी दिए ।
वर्ष उत्कृष्ट पुरुष, महिला खेलाडीले २÷२ लाख रुपैयाँ, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ हात पार्नेछन् । वर्ष उत्कृष्ट खेल पत्रकारलाई पनि ३५ हजार रुपैयाँले सम्मान गरिने आयोजकले जनाएको छ ।
अघिल्लो वर्ष कोरोनाका कारण खेलकुदको कुनै पनि कार्यक्रम इभेन्ट सञ्चालन हुन नसकेका कारण २ वर्षको अवार्ड संयुक्त रुपमै दिन लागिएको अध्यक्ष गिरीले जानकारी दिए । खेलाडीलाई संयुक्त रुपमा २ वर्षको एकैचोटी अवार्ड वितरण गर्न लागिएको भए पनि खेल पत्रकारलाई भने छुट्टाछुट्टै दिन लागिएको छ ।
‘महामारीमा खेलका इभेन्टहरु पो हुन पाएनन् । खेल पत्रकारहरु एक्टिभ नै छन् । उनीहरुले रिपोर्टिङ निरन्तर गरिराखेका छन्,’ अध्यक्ष गिरीले भने, ‘कोही खेल पत्रकार मर्कामा नपरुन् भनेर यसपालि २ वर्षको गरेर २ जना पत्रकारलाई अवार्ड दिने निर्णय गरेका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->