नवलपुर, १८ असार– नवलपुरमा फेरि निषेधाज्ञा समय थपिएको छ । यसअघि असार १८ गतेसम्म जारी गरिएको समय थप गर्दै असार २७ गते राति १२ बजेसम्मका लागि थप १० दिन निषेधाज्ञा बढाइएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको सूचना अनुसार निषेधाज्ञालाई क्रमिक रुपमा खुकुलो भने गरेको छ ।
यसअघि उद्योग वाणिज्यका क्षेत्र अन्तर्गत पसल ब्यवसाय दिनभर र बैक वित्तीय संस्थालाई कार्यालयको नियमअनुसारको समयसम्म खोल्न र सेवा प्रदान गर्न दिएर खुकुलो गराएको थियो । अब शनिबारदेखि लागु हुने अर्को आदेशमा जिल्लाभित्र चल्ने भाडाका सवारी साधनहरुले जोर–बिजोर प्रणालीको नियम परिधिभित्र रहेर सार्वजनिक यातायातका सवारी साधनहरु सञ्चालन गर्न पाउने भएको छन् ।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा भीडभाडजन्य उपस्थिति देखिने सार्वजनिक सभा–समारोह, जात्रा–महोत्सव, खेलकुद, भौतिक उपस्थितिमा हुने शैक्षिक क्रियाकलाप लगायतका गतिबिधि गर्न गराउन रोक लगाइएको उल्लेख छ ।





