गोरखा, १८ असार – अविरल वर्षका कारण मर्स्याङदी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने एक्लेफाँट झोलुङ्गे पुल बगाएको छ । गोरखा नगरपालिका-१४ गोप्लिङ र तनहुँको आवुखैरेनी गाउँपालिका-२ एक्लेफाँट जोड्ने झोलुङ्गे पुल भत्किएर नदीमा डुबेको हो ।
‘तनहुँको एक्लेफाँटतर्फ जिप राखेको जमीन भासिएर पुलको दुवै पोल नदिमा पुगेको छ’ गोरखा नगरपालिका वडानम्बर १४ का अध्यक्ष रामबहादुर खड्काले भने, ‘जमीन भासिने क्रम अझै रोकिएको छैन ।’ एक्लेफाँट र गोप्लिङ बस्ती जोखिममा रहेको छ ।
पुलमा क्षति पुगेसँगै अब ड्यामको बाटोबाट आउजाउ गर्नुपर्ने भएको छ । ‘अब त्यहाका मानिसहरुलाई आउजाउ गर्न ड्यामको बाटो बाहेक अरु विकल्प छैन तर ड्याममा आफ्नो समयमाभन्दा पनि ड्यामले भनेको समयमा मात्र आउजाउ गर्न पाइन्छ, समस्या छ,’ खड्काले भने । यो पुलबाट गोरखातर्फ रहेको गोप्लिङ, गोर्वुङ, सलाङगिरीलगायतका स्थानीय आउजाउ गर्थे । गोरखातर्फ रहेको धार्मिक स्थल अकला मन्दिर आउजाउ गर्न यही झोलुङ्गे पुल प्रयोग गरिन्थ्यो ।

पुलमा क्षति पुगेसँगै अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको जिल्ला प्रहरी कार्यालयकाप्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए । ‘पुलमा चुडियो भनेर हामीलाई बिहान खवर आयो, सूचना पाउने बित्तिकै हामीले त्यो क्षेत्रमा सर्वसाधारणलाई आउजाउमा रोक लगाएका छौं,’ दाहालले भने ।





