पोखरा, २२ असार– ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिकामा पेरुमाथि १–० को संघर्षपूर्ण जीत निकाल्दै ब्राजिल फाइनल प्रवेश गरेको हो ।
रियो दि जेनेरियोमा मंगलबार विहान भएको खेलमा साविक विजेता ब्राजिलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । सुरुवाती क्षण देखिनै आक्रमक खेल खेलेको ब्राजिलका लागि पेरुका गोलरक्षक कप्तान पेड्रो गालेसे बारम्बार बाधक बने ।
खेलको आठौँ मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई छलाउँदै नेयमारलाई पास निकालेपनि नेयमारले फिनिसिङ दिन सकेनन् । १३ औ मिनेटमा क्यासेमिरोको प्रहारमा गालेसे बाधक बने ।
१५ औ मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार सोझै गोलरक्षक गालेसेको हातमा पुगेको थियो । खेलको १९ औ मिनेटमा गालेसेले ३ प्रहारलाई उत्कृष्ट बचाउ गरे । क्यासेमिराको लामो प्रहार बचाउ गर्दा रिवाउन्ड बलमा रिचार्लीसनको प्रहार पुनः उत्कृष्ट बचाउ गर्दै सोहि बलमा नेयमारले प्रहार गर्दा उक्त प्रहार समेत विफल पारे ।
लगातार ब्राजिलको प्रहारमा बाधक गालेसे ३५ औ मिनेटमा भने चुक्न पुगे । नेयमारको पासमा पाक्वेटाले उत्कृष्ट प्रहार गर्दै गोल गरे ।
दोस्रो हाफको सुरुवातमै पेरुले गोल गर्ने अवसर भने खेर फाल्यो ।
जियानलुका लामाडुलाको प्रहारमा ब्राजिली गोलरक्षक एडरसन बाधक बन्दा बराबरी गर्नबाट चुक्यो । खेलको ५२ औ मिनेटमा गार्सियाको प्रहार पोस्ट नजिकैबाट बाहिरीदा पेरुको दुर्भाग्य सावित भयो ।





