बागलुङ, २८ असार– कोरोना महामारीको सम्भावित तेस्रो लहरसँग जुध्न जिल्लाको जैमिनी नगरपालिकाले स्रोतको अभाव हुन नदिने भएको छ । नवौं नगरसभाको अन्तिम बैठकले कोरोना महामारीसँग जुध्नका लागि नगरमा उपलव्ध सबै शिर्षकको बजेट रकमान्तर गर्ने अधिकार नगर कार्यपालिकालाई दिएको हो ।
नीतिगत व्यवस्था नहुँदा बजेटको अभावका कारण कोरोनासँग जुध्न बजेटको अभाव भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोईरालले कार्यपालिकालाई रकमान्तरको अधिकार दिने प्रस्ताव नगरसभामा प्रस्तुत गरेका थिए । प्रस्ताव पारित भएसँगै महामारीको समयमा काम गर्न स्रोतको अभाव नहुने कोईराले बताए ।
गत बर्ष बिपत् व्यवस्थापन कोषको रकम प्रयोग गरेर कोरोना महामारी नियन्त्रणको प्रयास गरेको जैमिनीले आगामी बर्षको लागि अभाव भोग्नु नपर्ने उपप्रमुख लिला रानाले बताए । नगरसभाले उपप्रमुख लिला रानाले गत असार १० गते नगरसभाको पहिलो बैठकमा प्रस्तुत गरेको आर्थिक विधेयक, विनियोजन विधेयक र बजेट सर्वसम्मतले पारित गरेको छ ।
नगरपालिकाले दशवटै वडामा समान हिसाबले ३० लाख रुपैयाँका योजना बिनियोजन गरेको छ । वडा तहबाट छलफल भएर आएका योजना विस्तृत विवरण समेत नगरसभाले पारित गरेको हो ।





