पहिलो दृश्य : वि.सं. २०७३ माघ ५ गते
जाडो यामको त्यो समय । घडीले बिहानको ६ बजाएको थियो । तर जताततै निष्पट अन्धकार । अध्यारो मै हामी छामछुम पारेरै पुगेका थियौं एक घरमा । घर पनि के भनु, झट्ट बाहिरबाट नियाल्दा गोठ झैं लाग्दो हो सबैलाई । तर यसभित्र ७ जनाको सिंगो परिवार अटाएको थियो । छानो खरले छाएको थियो अनि चौघेरै अलिअलि स्याउलाले बारेको थियो । घेरेको पनि के भन्नु, अनुमान गर्न सकिन्थ्यो, चिसो हावा मज्जाले घरभित्र पसेको छ । पर्खाल थिएन वरपर, न त अडेस लाउने भित्तो नै ।
कुखुराका चल्लाहरुको चिमचिम आवाजले मौनता भंग गरिदिएको थियो । घरभित्र छिर्ने ढोका थिएन, थियो त डोकाले अडाएको बासको बार । हामी त्यसलाई उघारेर भित्र छि¥यौं । आँखाहरु दौडिए, घरभित्रको यर्थाथता स्क्यान गर्न । हेर्नलाई धेरै चिजहरु पनि त थिएनन् कोठामा । काटीमा केही थोत्रा लुगाहरु भmुन्ड्याइएका थिए, कुनामा काठको बाकस थियो । अनि अर्को छेउमा थिए असरल्ल परेका केही भाडाकुडा । बिचमा अगेना थियो, आगोको राप केही बाँकी थियो । त्यहीँ अगेना वरिपरि गुटमुटिएर सुतेका थिए ७ जना । न ओछ्याउने गुन्द्री थियो, न ओढ्ने एक सरो कम्मल नै । भुइँमै मिठोे निद्रामा मस्त थिए सबैजना ।
मसँग साथमै थिए, पत्रकार एकल सिलवाल । नामै लिएर सरले बोलाएपछि आँखा मिच्दै उठे सन्त बहादुर चेपाङ । विस्तारै अरु पनि सल्बलाउन थाले, श्रीमती, तीन छोराहरु र दुई छीरीहरु । कान्छो छोरा आमाको काखमा लुटपुटिन थाल्यो । जाडोले हुनुपर्छ मनमनै सोचे । नहोस् पनि कसरी, माघ महिनाको त्यो कठ्याङग्रिदो याम । हामी ज्याकेट, टोपी, पन्जा अनि गलबन्दीमा थियौं । यता उनको शरीरमा मात्र थियो, घुडाघुडा छुने कसैको लामो भेस्ट । मनै चिसो भएर आयो ।
राति अबेर मात्र आएर सुतेका रहेछन् उनी । ‘तपाईहरुसँग भेटेनरीका डाक्टर साबहरु पनि आउनु भएको छ भन्ने सुनेर जंगलबाट गोरुहरु खोजेर ल्याएको सर । औषधी उपचार केही हुन्छ कि भनेर । केही घण्टा न भो आएर पल्टेको पनि,’ उनले अनिदो आवाजमा भने । भारी बोक्दा बोक्दा खुइलिएको उनको तालु, दुःखले मुजै मुजा परेको उनको निधार अनि काम गर्दा गर्दै पटपटी खुटेका हात र खुट्टाहरु । त्यो भन्दा बढी उनको मन चरचरी चिरा परेको छ, छोरा विदेश जाँदा लागेको ऋणले । घरपरिवार धान्न गाह्रो प¥यो । दुई वर्ष अघि १ लाख दस हजार ऋण काढेर छोरालाई विदेश पठाएका थिए, तर कमाई छैन छोराको । न साउ बुझाउन सके, न ब्याज नै । दिनहुँ बोक्ने भारीले भन्दा बढी थिचेको छ उनलाई यहीँ पिरले ।
कुरै कुराले मैले सोधें, ‘हिजो भान्छामा के पाक्यो नि तपाईहरुको ?’ ‘त्यही सिस्नु र ढिडो नै त हो सर । त्यो पनि कहाँ सधैं खान पाइन्छ र ?,’ मलिन स्वरमा उनले जवाफ फर्काए । चितवनको कान्दा भन्ने यस ठाउँ भौगोलिक विकटताले ग्रस्त ठाउँ । वर्षभरि खेती गरेको दुःखले केही महिना मात्र थामिन्छ । वनमा पाइने गिठ्ठाभ्याकुर पनि कति दिन पाइएला ? केही रात भोकै बस्नु सामान्य रहेछ, उनको परिवारमा । अझ भनौं, सिंगो उनको गाउँमा ।
पछिल्लो पटक भात कहिले पाकेको थियो नि भान्छामा ? मेरो यो प्रश्न सुनेर उनी केही समय अकमक्क परे । अझ भनौं, अलमलमा परे । केही क्षणको मौनतालाई चिर्दै उनले मलिन स्वरमा भने, ‘खै सर पछिल्लो पटक भात खाएको दिन त ठ्याक्कै सम्झना भएन । सायद अघिल्लो महिना हुनुपर्छ । भात त हाम्रोमा पाहुना आउँदा र चाडपर्वमा मात्र पाक्छ । सधैं भात खाएर त कहाँ पुग्छ र हामीलाई ?’ यो जवाफले मलाई नराम्रोसँग चिमोट्यो । सानोमा घरमा पाहुना लाग्दा मासु खान पाइने आशले खुसीको मूल फुट्थ्यो, यहाँ भात खान पाइने झिनो आशले ।
यहाँ १ सय २० घरथुरी छन् चेपाङका । एकदमै सोझा र इमान्दार । गाउँमा कसैले अम्रिसो रोपे, त कसैले तरकारी रोपे, कसैले बास रोपे । कसैले कुँचो, तरकारी त कसैले डोको र थुन्से तयार पार्थे । बजारबाट गाउँगाउँ आउँथे साहुहरु । २० रुपैंयाको दरले कुँचो किन्थे, भारी बनाएर त्यही चेपाङलाई बोकाएर दुई दिनमा बजार पु¥याउथे । दिनको ज्याला १०० रुपैंया । अनि ती साहुहरु प्रति कुँचोलाई बेच्थे सय रुपैंयामा । यसैमा मख्ख पर्थे ती सोझा चेपाङहरु । उनीहरु आफैं बजार लगेर बेचेको भए धेरै फाइदा कमाउन सकिन्थ्यो, त्यस्तो दिमाग पलाएको थिएन् उनीहरुको । एकदमै सोझा र इमान्दार ।
यस्तै सोझा र इमान्दार मध्ये एक हुन् उनै सन्त बहादुर । अर्कालाई ठगेर, चोरेर र लुटेर कहिल्यै दुई पैसा कमाएनन् । जति कमाए, आफ्नै मिहिनेतले । आफ्नै बलबुत्ता र पसिनाको कमाइमा रमाए । जति नै हात छाला घोटाए पनि ७ जनाको जहान परिवार पाल्नु चानचुने कुरा पक्कै थिएन । अभावले नराम्ररी गिथिल्यो । त्यसैले न उनले बाध्य भएर जेठा छोरालाई विदेश पठाएका थिए ।
घाम पानीमा ओत लाग्ने झुप्रो बनाउने उनको सपना केवल सपना नै रह्यो । सन्तानलाई मिठो मसिनो खुवाउने संकल्प पनि अधुरै । यस्तै कैयौं सपना नै सपनाको महल ठडिएको छ । अभाव छ तर खुसीको अभाव कहिल्यै रहेन् । सधैं हाँसिरहने उनको त्यो मुहार ।

लेखक : दिवश गुरु
दोस्रो दृश्य : वि.सं. २०७७ चैत २२ गते
मितेरी फाउन्डेसन नेपाल र भरतपुर अस्पतालको संयुक्त आयोजनामा त्यही चेपाङ गाउँमा स्वास्थ्य शिविरको योजना बन्यो । म पनि सामेल भएर टोलीमा कान्दा पुगे पाँच वर्ष पछि । पाँच छ घण्टा हिँडेर गाउँ पुगेका थियौं हामी । बाटैमा सीता बहादुर बाको घर देखे । जस्ताले छाएको रहेघ घर, छेवैमा ट्वाइलेट पनि । उनी घरमा थिएनन् । भोलि कार्यक्रममै भेटिने अभिलाषाले म उक्लिए, कुमार बलराम स्मृति छात्राबास । जहाँ हाम्रो खानपिन र बस्ने व्यवस्था गरिएको थियो ।
अर्को दिन बिहानै कान्देश्वरी आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सुरु भयो । त्यहीँ देखे सीता बहादुर बालाई । उनले बिर्सेका रहेनछन् त्यो हाम्रो पाँच वर्ष अघिको भेट । कार्यक्रममा सबै व्यस्त । त्यति कुराकानी गर्ने मौका नै मिलेन । बेलुका उनकै घरमा ओर्लने सोचे । उनलाई बेलुका उनकै घरमा भेट्ने बताउँदा खुसी भए ।
दिनभर कार्यक्रम चल्यो । कार्यक्रम सकिए पश्चात सबैलाई बिदाई गर्ने तालिका थियो । विद्यालय अभिभावक व्यवस्थापन टोलीका प्रमुख उनै रहेछन् । अभिभावकको प्रतिनिधित्व गर्दै उनले सबैलाई धन्यवाद टक्राए । पहिला बोल्न पनि हिचकिचाउने उनी आज स्टेजमा गएर निर्धक्क आफ्ना कुराहरु राखे । कति खुलेर कुरा गरेका । गाउँमा बुढापाका मध्ये शिक्षित उनी । आजकल गाउँमा बालबालिकालाई विद्यालय पठाउन हौसाउँदा रहेछन् । शिक्षा क्रान्ति आवश्यक छ भन्ने पक्षमा भेटे उनलाई । मलाई औधी खुसी लाग्यो ।
कार्यक्रम सकेर सबै जना बिदा भए, म भने लागे सीता बहादुर बाको घरतिर । उनी त्यही स्थानिय बिरुवाबाट उत्पादन हुने सुर्ती बेरेर तान्दै थिए । जेठा छोरा विदेशबाट फर्कदा ल्याएको पैसाले ऋण तिरेछन्, बाँकीले घर बनाएछन् । एउटा सपना जेहोस् साकार भयो उनको ।
माइला छोरा विद्यालयमै सहयोगीको रुपमा आबद्ध छन् । साइला छोरा घरमै खेतीपाती गर्छन् । साना दुई छोराहरु र छोरी त्यही विद्यालयमै पढ्छन् । त्यही छात्रावासमा बस्छन् । जेनतेन परिवार चलिरहेको छ उनको । गोरु, बाख्रा र कुखुरा पालेका छन् । त्यही बेचेर आएको पैसाले घर व्यवहारमा केही टेको मिलेको छ ।
उमेरले पनि साठी काटिसकेको छ उनको । धेरै दुःख गरेर काम गर्न शरीरले दिँदैन । भारी बोकेर नुन तेल किन्न तागतले भ्याउँदैन । धेरै सहज भएको छ अहिले गाउँमा । दिनभर हिँडेर मोटरबाटो पुगिन्थ्यो, अहिले केही घण्टा मात्र हिँडे पुगिन्छ । केही वर्षमा त गाउँ सडकले जोडिने आशामा छन् उनी । आजकल गाउँमै फोनमा कुराकानी गर्न पाइन्छ । गाउँलेहरु पनि धेरै शिक्षित र टाठाबाठा भइसके । यसैमा खुसी छन् उनी ।
गाउँको शिरानको डाँडा हो कामिनचुली डाँडा । जहाँ लालीगुँरास फुल्छ चैत बैशाखमा । यी डाँडाहरु राम्रा हिल स्टेशन बन्न सक्छन् भविष्यमा । राम्रो बाटो बने त केही घण्टामै चितवन बजारबाट यहाँ आइपुगिन्छ । त्यसैले उनले त्यहाँ व्याप्त एउटा दुखद अवस्थाबारे यसरी सुनाए, ‘आजकल बजारतिरका सबै दलालको आँखा यहाँका डाँडापाखामा गडिएका छन् । लाखका बिट्टामा हाम्रा डाँडाकाडा किनिसके उनीहरुले । चेपाङहरुलाई केही लाखको बिटो पनि करोडौं लाग्ने, उनीहरु सजिलै पैसामा बिकिगए । बजारमै सबै सेटिङ हुँदो रहेछ दलालको । अहिले सबै पाखाहरु दलालले किनिसके । यस्तै हो, भने हामी सबैलाई यहाँबाट उठीबास लगाउन बेर लाग्दैन । समयमै सबैको ध्यान जाओस् । जग्गा बिक्रीवितरण नै रोक्का लगाइदिनुपर्छ जस्तो नि लाग्छ ।’
उनी धेरै जानेबुझेका मान्छे । अर्थपूर्ण तर्कहरु प्रस्तुत गर्थे । चेपाङहरुमा चामलको छ्याङ बनाएर पाहुनालाई दिने सस्कार रहेछ । उनकामा दुई जना पाहुनाहरु थिए । मलाई पनि छ्याङ तक्राएका थिए । तर म नखाने परे । घरभित्रबाट ६ कोसा केराहरु ल्याएर दिँदै उनले भने, ‘हामी गरिबको घर, केही हुँदैन खानलाई । यहीँ केरा खानुस् है सर, यो हाम्रै बारीको केरा हो । अर्गानिक पो ह त, कहाँ बजारको जस्तो हो र यो ।’ खुला हृदयका उनी धनको गरिब थिए, मनको हैन ।
अबेलासम्म कुराकानी गरे । समय बितेको पत्तै भएन । बजारबाट उनलाई केही कोसेली लैजाने मेसोमेलो मिलेको थिएन । उनीसँग बिदा माग्दै गर्दा हातमा सानो सहयोग थमाइदिए । मलाई औधी प्रिय लाग्ने मान्छे हुन्, सीता बहादुर बा । अर्कोपटक फेरि गाउँ पस्दा उनीसँग धेरै बात मार्नुछ, दुखसुखका ।.




