बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटमा बने वडैपिच्छे गौरवका योजना

गलकोटमा बने वडैपिच्छे गौरवका योजना


  • ढोरपाटन सम्वाददाता
  • असार २९ २०७८, मंगलबार

बागलुङ, २९ असार– गलकोट नगरपालिकाले चार बर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिले छानेका ती आयोजना चार बर्षमा पुरा भएका हुन् । गौरवका आयोजना छनौट गर्दा एक वडामा एक आयोजना पर्नेगरी राखिएको थियो । ती आयोजनामा दुईदेखि तीन बर्षसम्म लगातार बजेट बिनियोजन गरेपछि सम्पन्न भएको नगरप्रमुख भरत शर्मा गैरेले बताए ।
गौरवका आयोजनामा पहिलो बर्ष २० देखि ३० लाख, दोश्रो बर्ष ४० देखि ६५ लाख र तेस्रो बर्ष आबस्यकताको आधारमा लगानी गरेपछि कामले पूर्णता पाएका हुन् । वडा नं. १ मा स्वास्थ्य चौकीको जग्गा व्यवस्थापन र भवन निर्माणलाई गौरवको योजनामा सूचिकृत गरिएको थियो । सो वडामा जग्गा व्यवस्थापन गरेपछि भवन निर्माण सुरु भएको छ ।
वडा नं. २ मा वडा कार्यालय र नगरसभाहल निर्माण भएको छ । दुई बर्षदेखि नगरसभा समेत सभाहलमै गर्न थालिएको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । पहिलो तल्ला रहेको भवनमा एक तला थपेर सभाहल तथा कार्यालय व्यवस्थापन समेत गरिएको हो । सभाहलका लागि ६५ लाख रुपैयाँ खर्च भएको थियो ।
वडा नं. ३ ले कोतघर व्यवस्थापन र कोतमैदानसम्म पुग्ने सडक निर्माण गरेको हो । ऐतिहासिक महत्वको कोतघरमा चैतेदशै र बडादशैमा मेला लाग्छ । अन्य समयमा पनि धार्मिक पर्यटकहरु पुग्ने गर्छन् । ऐतिहासिक स्थलको अबलोकनमा यो योजनाले महत्वपूर्ण योगदान दिएको वडा अध्यक्ष बीरजंग भण्डारीले बताए । यो काममा नगरपालिका, गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालय लगायतबाट झण्डै एक करोड लगानी भएको छ ।
वडा नं. ४ ले मध्यपहाडी लोकमार्गदेखि वडासम्म पुग्ने सडक कालोपत्रे गरेको छ । यो सडक बनेपछि खरुवा माबि आउजाउ समेत सहज भएको छ । ५० लाख खर्चेर सडक कालोपत्रे भएपछि यात्रा सहज र सेवाग्राहीले सजिलो महसुस गरेको स्थानीय इश्वर सुवेदीले जानकारी दिए ।
वडा नं. ५ ले हरिचौर बजार ढलान गरेको छ । तीन बर्ष लगाएर १ करोड बढी लगानीमा १ किमी सडक ढलान गरेको वडा अध्यक्ष नारायणध्वज मल्लले बताए । ‘पुरानो सदरमुकाम समेत भएकोले धेरै मानिस घुम्न आउँछन्, हिलाम्मे सडकले नराम्रो मान्थे, अहिले सजिलो भयो’ मल्लले भने, ‘वडाभित्रै नगर अस्पतालसमेत बनाउन सफल भयौं ।’ त्यसका लागि छुट्टै ५० लाख रकम लगानी गर्न सकिएको उनले जानकारी दिए । अस्पतालले पूर्णता पाउँदा करोडौं खर्च हुनेछ ।
वडा नं. ६ ले मजुवादेखि ढलेपीपल क्षेत्रमा बस्ती विकास मापदण्ड अनुसारको सडक निर्माण गरेको छ । यो सडक नालीसहितको छ । समयमै सडक बनाएपछि बस्ती बिकासलाई सहयोग पुग्ने, ताराखोलातर्फ जाने सडक पनि नियमित चल्ने अबस्थाको हुने वडा अध्यक्ष नरबहादुर खत्रीले बताए । वडा नं. ७ ले आँगखेतदेखि सप्ताहघाट सडक स्तरीय बनाएको छ । वडा नं. ८ मा सभाहलसहितको वडा कार्यालय बनेको छ । यो भवन सक्न ६४ लाख खर्च भएको थियो । वडा नं. ९ ले सडकलाई प्राथमिकता दिएको छ । वडा नं. १० मा सिद्दथान गैराबारी सडक र वडा नं. ११ ले पनि मल्मदेखि रिघा सम्मको सडक बनाएको हो । प्रदेश सरकारको समेत सहयोग पाएपछि यहाँको सडकमा करोडौ लगानी भैसकेको छ । वडा नं. ११ मा रहेको बौद्ध गुम्बा समेत पर्यटकीय आर्कषणको केन्द्र बनेको वडा अध्यक्ष डम्बर श्रीषले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->