बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भर्चुअल कक्षा चलाउनै समस्या

भर्चुअल कक्षा चलाउनै समस्या

ग्रामीण क्षेत्रमा अधिकांस अभिभावकले स्मार्टफोन चलाउन नसक्ने र शिक्षकको समेत ल्यापटप नभएकोले भर्चुअल कक्षा प्रभावकारी नहुने शिक्षकहरु बताउँछन् ।


  • ढोरपाटन सम्वाददाता
  • असार ३१ २०७८, बिहिबार

बागलुङ, ३१ असार– जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत सातादेखिनै बैकल्पिक सिकाइबाट कक्षा चलाउन बिद्यालयलाई निर्देशन दिएको छ ।
वैकल्पिकभित्र भर्चुअल कक्षा मात्र चलाउन सक्ने प्रावधान राखिएको छ । कक्षा कोठामा राखेर पढाउन पूर्ण प्रतिबन्ध लगाइएपछि शिक्षकहरु अन्यौलमा छन् । उनीहरुले कसरी कक्षा चलाउने भन्ने सोच्न सकेका छैनन् ।
विद्यालयमा दुइ सिफ्ट गर्ने, आधा–आधा बिद्यार्थी बोलाएर पढाउने जस्ता प्रकृया थाल्न खोज्दा प्रशासन र प्रहरीबाट अबरोध भएको शिक्षकहरुले गुनासो गरेका छन् । ‘बैकल्पिक शिक्षा भनेको भर्चुअल कक्षा मात्रै हो भन्ने धारणा राखेजस्तो देखियो’ धिमिकरिना माबिका प्रअ रतन थापाले भने, ‘सामाजिक दुरी कायम गरेर पढाउन खोज्दा प्रशासनले रोक्यो ।’ थापालाई प्रहरीले नियन्त्रणमा लिएर कक्षा नचलाउन समेत भनेको अभिभावकले बताए ।
ग्रामीण क्षेत्रमा अधिकांस अभिभावकले स्मार्टफोन चलाउन नसक्ने र शिक्षकको समेत ल्यापटप नभएकोले भर्चुअल कक्षा प्रभावकारी नहुने शिक्षकहरु बताउँछन् । ‘बिपन्न परिवारमा स्मार्ट फोन पनि छैन, कसरी सबैलाई समान व्यवहार गर्न सकिन्छ ?’ गलकोटस्थित शिव माबिका प्रअ हरि चालिसेले भने, ‘यो वर्ष कक्षा सुरु गर्न सकिएनको छैन ।’ गतबर्ष भने यो बिद्यालयले टोल–टोलमा कक्षा चलाएको थियो ।
यो बर्ष अझै अन्यौल भएकोले कक्षा चलाउने काम चुनौतीको भएको त्रिभूवन माबिका प्रअ ढालमणी भण्डारीले बताए । ‘हामीले टोल सिकाइनै गर्नुपर्छ भनेर पाठ्यक्रम बनाउँदै छौं’ भण्डारीले भने, ‘साउन पहिलो साताबाट शुरु गर्नुपर्छ ।’ प्रशासनले भर्चुअल भनेपनि संभव नहुने उनको धारणा छ ।
मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र टोलटोलमा सानो समूहमा पढाउँदा बालबालिकाले सिक्ने र कोरोना संक्रमणबाट पनि बचाउन सकिने उनले बताए । प्रजिअ शिवकुमार कार्कीले भने कोरोनाका संक्रमित धेरै भएकोले भर्चुअल पढाइ गर्न भनेको बताए । भीड गर्दा जोखिम हुने उनको भनाइ छ ।
अधिकांस ग्रामीण तहमा पटकपटक विद्युत र इन्टरनेटको नेटवर्क नहुने र अभिभावकसँग स्मार्ट फोन नभएको अबस्थामा बालबालिकामै बिभेदको अबस्था सिर्जना हुने, पढाइबाट बिद्यार्थी छुट्ने खतरा बढेको शिक्षकहरुले टिप्पणी गरेका छन् । प्रशासनको आदेश र स्थानीय बाध्यताले बालबालिकाले पढ्ने अबसर नपाएको भण्डारीले गुनासो गरे । ‘पोहोर साल राम्रो सिकाइ भएको थियो, तर यो बर्ष टोल सिकाइ ढीला भैसक्यो’ भण्डारीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर पढाउनै पर्छ ।’ माथिल्लो कक्षामा भर्चुअल विधि उपयोगी भएपनि बालबालिकालाई भने गाह्रो हुने उनको अनुभव छ ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ संचालन गर्दा राम्रो हुने सुझाव दिएको बताए । ‘बैठकमा पनि मैले सानो समूह बनाउने, टोल–टोलमा पढाउने भनेको छु’ उपाध्यायले भने, ‘शिक्षक साथीहरुको पनि यस्तै सुझाव आएको छ ।’ ग्रामीण तहका प्राथमिक कक्षाहरु सानो समूहमा कक्षा कोठामै पढाउन सकिने उनले बताए । अधिकांस प्राविमा १५ देखि २० तथा केहीमा मात्रै ५० जना सम्म बालबालिका छन् । उनीहरुलाई पढाउँदा सानो समूह हुने भएकोले समस्या नपर्ने उनले बताए ।
उपाध्यायले धेरैजसो बिद्यालयमा भर्चुअल विधि सुरु भएको बताएपनि अधिकांसमा नभएको शिक्षकहरुकै टिप्पणी छ । पश्चिम बागलुङका धेरै क्षेत्रमा बिद्युत सेवा समेत अभाव छ । सदरमुकाममा पनि पटक पटक बिद्युत अवरुद्ध भएर कक्षा चलाउन नसकेको प्रअहरुले गुनासो गरे । ‘कतिपय बालबालिका निशेधाज्ञामा गाउँ गएका छन्, अझै फर्केका छैनन्, उनीहरुलाई सिकाइ बारे बताउन पनि सकिएको छैन’ बिद्यामन्दिर माबिका प्रअ शान्तमणी ढकालले भने, ‘बजारको बिद्यालय भनेपनि अधिकांस बिद्यार्थी मजदुर र गाउँतहका गरिव किसानका छोराछोरी छन् ।’ उनीहरुले भर्चुअल कक्षा लिन नसक्ने ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->