बागलुङ, ३१ असार– बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांस योजना सम्पन्न गरेको छ । ३ सय १० योजना सम्झौता गरेकोमा ३ सय ७ वटा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले बताए । काम सकेर मंगलबारै रकम फिर्ता समेत गरेको छ ।
छुटेका तीन योजनामध्ये वडा नं. ७ का दुई योजना र वडा नं. ६ को कोट पदमार्ग योजनाबाहेक सबै सम्पन्न भएका हुन् । बिहुँको खोलातिर आधारभूत विद्यालयले सम्झौता गरेर पनि काम सम्पन्न नभएको हो । अन्य योजनामा भने अधिकांस सन्तोषजनक रुपमा सम्पन्न भएका हुन् । गाउँपालिकाले गरेको अनुगमन र मूल्यांकनमा पनि ती योजनाको राम्रो प्रगती देखिएको कार्कीले जानकारी दिए ।
ती योजनामा खर्च हुन नसकेको सशर्त बजेटतर्फको १ करोड ८९ लाख ८० हजार ६ सय ५८ रुपैयाँ बुधबार कोष तथा लेखा नियन्त्रण कार्यालयमा फिर्ता गरेको छ । फिर्ता भएकोमध्ये सबैभन्दा धेरै प्रधानमन्त्री रोजगार कार्यक्रमको छ । रोजगार कार्यक्रमअन्र्तगत ३ सय ९५ जनालाई १ सय दिन रोजगार बनाउन आएको १ करोड ११ लाख ९१ हजार रकममध्ये २ सय ७५ जनाले ८० दिन मात्रै काम गरेकोले ९२ लाख ३५ हजार रकम फिर्ता भएको हो ।
चालु आर्थिक बर्षको असार १० गतेसम्म विभिन्न शिर्षकमार्फत गाउँपालिकाको खातामा आएको ५५ करोड ७५ लाख रुपैयाँमध्ये अधिकांस काम भने सम्पन्न भएको उनले जानकारी दिए । सुरक्षित आवास कार्यक्रममा प्रतिघर ५० हजार रुपैयाँ दिनुपर्नेमा २ घरले सम्झौता गरेपनि बजेट लगेका थिएनन् ।





