नवलपुर, ३ साउन– जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्री वनेका कृष्णचन्द्र पोख्रेल नेपाली ३७ दिनपछि गृहजिल्ला नवलपुर आएका छन् । त्यसो त मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेपाली कांग्रेस नवलपुरका नेता, कार्यकर्ता लगायत हजारौं शुभेच्छुक–शुभचिन्तक प्रदेश राजधानी पोखरा नै पुगेर नेपालीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए भने आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने मुहुर्त समेत नजिकिएपछि दैनिक दर्जनौ संघ–संस्था तथा नेपाली कांग्रेस निकटका नगर–गाउँ पालिकाका प्रमुख तथा वडाका प्रतिनिधि समेत पोखरा पुगेर बधाई–शुभकामनाका साथ योजनाका फाईल समेत टक्र्याएका थिए ।
असारको तेस्रो साता मुख्यमन्त्री पोखरेल गृहजिल्ला आउने कार्यक्रम तालिका नै तय भएपनि बाढी–पहिरो लगायतका कारण सडक अवरुद्ध भएको भन्दै कार्यक्रम स्थगित गरिएको थियो । यसपटक भने शुक्रवार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट्न काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल प्रदेश सांसद एवं नवलपुर कांगे्रस सभापति विष्णुप्रसाद लामिछाने, स्वकीय सचिव विष्णुप्रसाद भुसाल, राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल र प्रेस संयोजक भरत कोइराला सहित आईतवार नवलपुर आएका हुन् ।





