बागलुङ, ४ साउन– नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले पत्रकार महासंघ बागलुङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाको लागि भन्दै रेडक्रसले मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
रेडक्रसको केन्द्रीय कार्यक्रम अन्तर्गत २ हजार थान मास्क र १७ थान स्यानिटाइजर बोटल सहयोग गरिएको सभापति जब्बरबहादुर लामिछानेले बताए । ‘संकटका बेला रेडक्रस सबैको साथमा हुन्छ, संघ र प्रदेशको कार्यविधि अनुसारनै पत्रकारलाई सहयोग गरिएको हो,’ लामिछानेले भने, ‘अग्रभागमा काम गर्नेलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले रेडक्रसले सहयोग गरेका स्वास्थ्य सामग्री दुर्गममा रहेर काम गर्ने पत्रकारका लागि पठाइने बताए । कोरोना महामारीको पहिलो लहरका बेला स्वास्थ्य समग्रीको अभाव भएर गुहार माग्नुपर्ने अबस्था आएको भन्दै कँडेलले दोस्रो लहरको समयमा साथ सहयोग प्राप्त भइरहेको बताए । कार्यक्रम रेडक्रस सोसाइटी बागलुङ शाखाका उप–सभापति राजेन्द्र आचार्यले सञ्चालन गरेका थिए ।





