नवलपुर, ४ साउन– चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको शुरुमै दुई गैंडा मृत भेटिएका छन् । निकुञ्जको पूर्वी क्षेत्र राप्ती नदी किनारमा एउटा र अर्को पश्चिमी सेक्टर नारायाणी नदीकिनारमा मृतावस्थामा भेटिएको निकुञ्ज प्रशासनले जनाएको छ ।
राप्ती नदी किनारमा बच्चा गैंडा मृत भेटिएको हो भने पश्चिमी सेक्टरमा बुढो गैंडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनले दुवै गैंडा प्राकृतिक कारणले मरेको बताए ।
कसरा नजिकै राप्ती नदी किनारमा मृतावस्थामा भेटिएको करीव दुई महिनाको बच्चा गैंडा बाघको आक्रमणबाट मरेको हुनसक्ने जनाईएको छ । त्यस्तै, पश्चिम सेक्टर अन्तर्गत नवलपुरको अमलटारीस्थित रतनपुरघाट नजिकै नारायणी नदी किनारमा बालुवामा गडेको अवस्थामा भेटिएको भाले गैंडा अन्दाजी ३० बर्षको भएको निकुञ्जले जनाएको छ । सो गैंडा बाढी आएका बेला दलदलमा फसेर निस्कन नसक्दा मरेको हुन सक्ने प्रारम्भिक अनुमान निकुञ्जले गरेको छ ।
बच्चा गैंडाको ब्रम्हखाग, खुर तथा बयस्क गैँडाको खाग, खुर सुरक्षित रहेकाले पनि प्राकृतिक कारणले मरेको हुनसक्ने तथ्य बलियो रहेको सुचना अधिकारी लोकन्द्र अधिकारीले बताए । गत आर्थिक वर्ष ०७७–०७८ मा चितवन राष्ट्रिय निकुञ्जमा ३२ गैँडा मरेका थिए । अघिल्लो आव ०७६–०७७ मा २६ गैँडा मरेको निकुञ्जको तथ्याङ्क रहेको छ ।





