पोखरा, ७ साउन– नेपाल क्रिकेट संघ (क्यान) का सदस्यसँगै कप्तान र खेलाडी गैर नाफामुलक अभियान बलियो नेपाल अभियानमा आवद्ध हुनु शंकास्पद रहेको भन्दै अनुसन्धान गर्न माग गरिएको छ ।
एमरेष्ट प्रिमियर लिग (इपिएल) का संस्थापक आमिर अख्तरले गैर नाफामुलक अभियानमा पदाधिकारी तथा खेलाडी आवद्ध हुँदा भ्रष्टचार हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका हुन ।
क्यान सदस्य छुम्बी लामा, राष्ट्रिय क्रिकेट टिमका कप्तान तथा खेलाडीहरु एकै क्षेत्रमा उपस्थित हुन नहुने उनले क्यान पदाधिकारीलाई इमेल लेखेका हुन् । उनले क्यान अध्यक्ष चतरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन बहादुर सिंह, निर्देशक विनोद दास र प्रबन्ध निर्देशक रौनक मल्ललाइ इमेल लेखेका हुन ।
अख्तरले क्यानका सदस्य र खेलाडी एकसाथ अघि बढ्नुले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट को अवस्था उत्पन्न भइ आगामी दिनमा भ्रष्टचारको सम्भावना बढ्ने उल्लेख गर्दै छानविन गर्न माग गरेका छन ।
उनले क्यानले जवाफ नदिए ४८ घण्टाभित्र अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने समेत बताएका छन । उनले क्यान सदस्य तथा कप्तानले प्रत्यक्ष रुपमा एकसाथ व्यापार गरेको आरोप समेत लगाए । ‘बोर्ड सदस्य भएपछि कुनै खेलाडीसँग व्यापार गर्न मिल्छ ? उनले आधिकारीक रुपमा प्रश्न गरेका छन । फाउन्डेसनको नाममा खेलाडी सहित कप्तानले व्यापार गर्दै आइरहेको आरोप समेत लगाए । ‘फाउन्डेसन भन्नुस या व्यापारिक संस्था भन्नुहोस । खेल संस्थामा कुनैपनि मिल्दैन भोली फाउन्डेसनमा पैसा आउँछ त्यो पैसा के गर्ने ? खेलाडी पनि छ क्यान बोर्ड सदस्य पनि छ’ अख्तरले भने ।
अख्तरले बलियो नेपालले मंगलबार आयोजना गरेको छलफल कार्यक्रमबारे आपत्ति जनाएका छन । के अब नेपालले सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बन्न सक्छ ? भन्ने विषयमा आयोजित कार्यक्रममा पुरुष टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, महिला टोलीकी कप्तान रुविना क्षेत्री पूर्व कप्तान पारस खड्का, बोर्ड सदस्य लामा लगायतको सहभागिता रहने छ ।
उता बोर्ड सदस्य लामाले भने बलियो संस्था नेपालले क्रिकेटको विकासका लागि गरेको कार्यक्रम प्रति प्रश्न उठ्नु आश्चर्यजन रहेको बताए । उनले सकरात्मक सोचमा समेत नकरात्मक कुरा राखिएको धारणा राखे । लामाले गैर नाफामुलक कार्यक्रम रहेकाले आफुहरुले सहयोग गर्नुपर्ने बताए ।





