बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखानीमा पनि अग्लो र लामो पुल बन्दै

लेखानीमा पनि अग्लो र लामो पुल बन्दै

घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकोमा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने भन्दै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गरिन् ।


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७८, मंगलबार

बागलुङ, १३ साउन– काठेखोला गाउँपालिका वडा नं. ८ को लेखानी र कादेश जोड्ने अग्लो र लामो झोलुंगे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पुर्वाधार विकास कार्यालय बागलुङले लेखानीदेखि कादेश जोड्ने ३ सय ५९ मीटर लामो र खोलाको पानी सतहदेखि ९५ मीटर अग्लो पुल बनाएको हो । यो पुलले कादेशका झण्डै ४ सय घरपरिवारलाई वडा कार्यालय, स्वास्थ्य चौकी र लेखानी माविमा जोड्छ ।
गण्डकी प्रदेश सरकारको २ करोड ९३ लाख ८५ हजार ६ सय ५० रुपैयाँको लागतमा यो पुल निर्माणाधिन छ । इन्जिनियर कृष्ण गौतमका अनुसार पुलको तारबार लगाउने तथा डेक राख्ने काम बाँकी छ । २०७६ को जेठमा सम्झौता भएपनि कोरोना संक्रमणले ६ महिना म्याद थपेको मुक्तिनाथ निर्माण सेवाले केही समयमै काम सक्ने आश्वासन दिएको छ ।
घुमाउरो बाटोले एक घण्टा लाग्ने गरेकोमा यो पुलले १० मिनेटमै लेखानी आउन सकिने भन्दै स्थानीय लालकुमारी पुनले खुशी व्यक्त गरिन् । ‘लेखानी गाउँमै तरकारी पठाउनु पर्दा पनि गाडी चाहिन्थ्यो, अब डोकोमै बोकेर पनि छिट्टै पठाउन सकिने भयो’ उनले भनिन्, ‘गाउँपालिका केन्द्र जान झनै सजिलो भएको छ ।’ यो बाटो छोटिएपछि पालिका केन्द्र आइपुग्न १ घण्टा छोटो हुने उनले बताइन् ।
दुई वर्षअघि वर्षात्मा यहाँ खसेको पहिरो र खोलाको बाढीले लेखानीदेखि कादेश जोड्ने सडक क्षतविक्षत थियो । खोलाको पुरानो झोलुंगे पुल पनि बगेपछि लेखानी मावि आउने विद्यार्थीले समेत सास्ती खेपेका थिए । खोला तर्न नसक्ने भएकोले अभिभावकले छोराछोरी पठाउन पनि सकेका थिएनन् । साउन र भदौ महिनामा धेरै बालबालिका विद्यालय आउनै नसक्दा पढाइ अबरुद्ध थियो । यो पुल बनेपछि भने सहजै यात्रा गर्न सकिने भएको हो ।
नेपालमा प्रजातन्त्र आएपछि स्विस, अमेरिकी र बेलायती सरकारको सहयोगमा ग्रामीण क्षेत्रमा झोलुंगे पुल बनाउने लहर चलेकोमा पछिल्लो समय अग्ला र लामा पुल बनाउन नेपाली प्राविधिक नै सक्षम भएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख सोभियत खड्काले बताए । ‘यस्ता पुल निर्माण हुँदा विद्यालय र बजार छोटिएर स्थानीयले सुख पाएका छन्’ खड्काले भने, ‘घण्टौं हिंड्नु पर्ने बाटोहरु १० मिनेटमा छोटिंदा बुढापाकालाई उपचारमा पहुँच समेत बढेको छ ।’
उनका अनुसार स्विस सहयोगमा अधिकांश झोलुङ्गे पुलहरु बन्न थालेकोमा पिसकोरहरुको सहयोगमा क्यान्टीलिभर पुलहरु बनेका थिए । दक्ष जनशक्ती अभावमा बन्न नसकेका लामा पुलहरु अब भने बन्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->