बागलुङ, १३ साउन– बागलुङमा केही दिनदेखि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक यातायात र बजार खुलेपछि संक्रमितको संख्या पनि बढेको हो । बुधबार दिउँसोसम्म जिल्लामा ३ सय ५९ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् ।
स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार, सबैभन्दा धेरै बागलुङ नगरपालिकामा छन् । नगरपालिकामा मात्रै १ सय ९५ जना सक्रिय संक्रमित रहेको कार्यालयका कोभिड फोकल पर्सद देवप्रकाश घिमिरेले बताए ।
त्यस्तै, बुधवार मात्रै बागलुङमा ५९ जना संक्रमित थपिएका छन् । तीमध्ये बागलुङ नगरपालिकाका १८ जना र धौलागिरि अस्पतालमा पुष्टी भएका १५ गरी सदरमुकाममा मात्रै ३३ जना थपिएका हुन् । बागलुङमै भएको परीक्षणमा बेनीका १९ जना, कुश्माका ६ जना, पर्वत अस्पतालमा १ जनामा संक्रमण पुष्टी भएको हो ।
बुधबार दिउँसोसम्म जैमिनी नगरपालिकामा ३४ जना संक्रमित पुगेका छन् । ताराखोलामा २४, निसीखोलामा २३, बरेङमा २० जना र ढोरपाटन नगरपालिकामा १५ जना संक्रमित पुगेका हुन् । त्यस्तै, काठेखोला गाउँपालिकामा १४ जना, गलकोट नगरपालिकामा १४ जना बडिगाडमा ७ जना र तमानमा १ जना छन् । १२ जना ठेगाना नखुलेका समेत रहेको बताइएको छ ।
बागलुङमा अहिलेसम्म पिसिआर विधिबाट ५ हजार १ सय ७ जना र एन्टिजेन्ट विधिबाट ७ सय ७२ जना संक्रमित पुगेका छन् । तीमध्ये अहिलेसम्म ५ हजार ४ सय ६० जना निको भैसकेका छन् । जिल्लामा अहिलेसम्म ६१ जनाको कोरोना संक्रमणबाटै मृत्यु भैसकेको छ ।
सामाग्री सहयोग
सक्रिय संक्रमित र लक्षणसहितका केही बिरामी देखिएपछि बागलुङ नगरपालिका वडा नं. १४ समेत अन्तरिक लकडाउनमा छ । वडा कार्यालयले घर बाहिर ननिस्कन आब्हान गरेर स्वास्थ्य सामग्री वितरण गरेको अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।
नारायणस्थानकैलागि नेपाल मानवअधिकार संगठन बागलुङ शाखाले बिभिन्न दाताको सहयोग संकलन गरेर स्वास्थ्य सामाग्री पठाएको अध्यक्ष लक्ष्मी जिसी कार्कीले बताइन् । मानवअधिकार तथा शान्ति समाजकी केन्द्रीय सदस्य गीता श्रीष, रोटरी क्लब लगायतका संस्थाले दिएको मास्क, सेनिटाइजर, औषधी र साबुन संकलन गरेर वडाध्यक्ष खत्री र सामाजिक अगुवा कमलकुमार जिसीमार्फत बितरण गरिएको उनले जानकारी दिइन् ।





