काठमाडौं, १३ साउन– जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा गौरिकाले १ : ००.११ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । ५० मिटरको लङ कोर्समा गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् । यसअघि गौरिकाको नाममा १ः००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
गौरिकाले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाए पनि गौरिकाले सेमिफाइनलमा स्थान बनाउन सकिनन् । उनी हिट चरणबार्ट बाहिरिइन् । यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ५२ खेलाडीमध्ये गौरिका ५१ औं स्थानमा रहिन् ।





