बागलुङ, १५ साउन– नीति तथा कार्यक्रम सार्वजनिक गर्नेबेला ताराखोला गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । गाउँपालिकाले अहिले उक्त कार्यक्रमअनुसार प्रारम्भिक काम थालिसकेको छ ।
ढुंगाखानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउने सम्मका क्रियाकलाप समावेश गरेर यो कार्यक्रम सञ्चालन हुनेछ । गाउँपालिकाभरि भएका काम तथा क्रियाकलापमा स्थानीय ढुंगाको उपयोग गर्ने नीति लिएर यो कार्यक्रम थालिएको अध्यक्ष प्रकाश घर्तीले बताए । घरको छाना छाउनेदेखि सरकारी भवन, पार्क, पदमार्ग समेतमा स्थानीयले उत्पादन गरेका ढुंगा प्रयोग गर्ने नीति ल्याएको उनले बताए ।
ताराखोलाका राजनीतिक संयन्त्रले जनप्रतिनिधि आउनुअघि पनि जस्तापाता नभिœयाउने नीति लिएका थिए । अधिकांशले स्थानीय ढुंगाकै छाना छाएका छन् । केही खरका छाना थिए । ती पनि विस्थापित गर्ने, रसायनिक मल नल्याउने, स्थानीय प्रविधिलाई उपयोग गर्ने र वर्षौंदेखि चलिआएका संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यलाई अहिले पनि सञ्चालनमा ल्याएको हो ।
यहाँ दर्जनौ ढुंगाखानी चलाउन सकिने स्थान छन् । तीमध्ये उद्यमीले खानी तथा भूगर्भ विभागमा गएर दर्ता गर्नुपथ्र्यो । अब भने व्यक्तिगत लगानी र आफ्नै खेतबारीमा साना उद्योग चलाउन पालिका तहमै व्यवसाय दर्ता गरेर कर तिर्ने व्यवस्था गरिएको हो । ‘सानो स्केलमा काम गर्नेलाई व्यवसाय दर्ता गराएर काम गर्न दिने भनेका छौं,’ घर्तीले भने, ‘केही साथीहरुले काम थालिसक्नु भएको छ ।’
बागलुङ, पोखरालगायत सहरी क्षेत्रका घर बनाउँदा आर्कषक टायलको रुपमा प्रयोग भएका अधिकांश ताराखोलाका ढुंगा हुन् । लुकीछिपी काम भरहनुभन्दा कर तिरेर वातावरण पनि नबिग्रने गरी उत्खनन् गर्न दिँदा राम्रो हुने जनप्रतिनिधिले समेत सुझाव दिएका थिए ।
सार्वजनिक र सामुदायिक क्षेत्रमा खानी संचालन गर्न खोज्नेलाई भने पालिकाले समन्वय गरेर छिटो आइईई गराउन पहल गर्ने भएको हो । आइईईले तोकेको मापदण्डमा ढुंगा निकाल्ने अवसर दिन पहल गरेकोसमेत घर्तीले जानकारी दिए । तामा र सुनखानी चलाउन लागेझै जनताले दुःख पाउने गरी लामो प्रक्रिया गर्न नहुने समेत उनको भनाइ छ ।
अघिल्ला वर्ष केही उद्यमीले ढुंगाखानी सञ्चालन गर्न लाखौं लगानी गरिसकेपछि दर्ता प्रक्रियामा ढिलाइ भएर कामै छाडेका थिए । ‘किलो, धार्नी र रतिमा बेच्ने सुनचाँदी जस्तो ढुंगालाई लिन हुँदैन,’ घर्तीले भने, ‘त्यसका लागि पालिकाबाटै सहजीकरण गराएका छौं ।’
घरेलु तथा साना उद्योग कार्यालयले पनि ढुंगाखानीलाई दर्ता गर्न नमानेर खानी विभाग पठाएको थियो । अघिल्लो वर्ष ताराखोलाकै २ जना उद्यमीले लगानी गरिसकेका योजना दर्ता गर्न नसकी फाइल फिर्ता ल्याएका थिए । यो वर्ष भने पालिका अध्यक्ष घर्तीकै नेतृत्वमा प्राविधिक बोलाएर अध्ययनसमेत भइरहेको स्थानीय धनबहादुर विकले बताए ।
ताराखोलामा आइईईअनुसारका उद्योग चलाएमा सय जना बढी युवाले रोजगारी पाउने उनले बताए । गाउँपालिकाले पनि राम्रो कर संकलन गर्न सक्ने उनको भनाइ छ ।





