शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सित्तैमा सिमकार्ड

वैकल्पिक सिकाइ प्रभावकारी बनाउन सित्तैमा सिमकार्ड


  • अर्जुन काफ्ले
  • साउन १४ २०७८, बिहिबार

स्याङ्जा, १४ साउन– वालिङ नगरपालिकाले वैकल्पिक शिक्षण सिकाइ प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्ड वितरण गरेको छ । नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी गरी ५ हजार नेपाल टेलिकम तथा २ हजार ५ सय एनसेलले इन्टरनेट प्याकेज सहितको सिमकार्ड निशुल्क उपलब्ध गराएको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले जानकारी दिए ।
कोरोना महामारीका कारण विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन हुने स्थिति नरहेपछि अनलाइन कक्ष प्रभावकारी बनाउन निशुल्क सिम वितरण गरेको सापकोटाले बताए । ‘सबै विद्यार्थीको पहुँचमा इन्टरनेट सेवा उपलब्ध नहुँदा वैकल्पिक शिक्षक सिकाइ क्रियाकलाप पनि प्रभावकारी हुन सकेको थिएन । त्यसैको सहजताका लागि सिम बाँडेका हौं,’ उनले भने ।
नगरभित्रका १४ वडाका ५६ आधारभुत र १६ माध्यमिक गरी ७२ सामुदायिक विद्यालयका ४ सय ५० जना शिक्षक र विद्यार्थीलाई सिमकार्ड वितरण गरिएको थियो । ‘उनीहरुको ठाउँमा जुन कम्पनीको प्रभावकारी छ सोही अनुसारको सिम उपलब्ध गराइएको हो,’ सापकोटाले भने ।
पहिलो चरणमा पालिकाले रिचार्जसहित सिमकार्ड प्रदान गरेपछि दोस्रो चरणबाट शिक्षक र विद्यार्थीले आफंैले रिचार्ज गर्नुपर्ने पालिकाले जनाएको छ । सापकोटाले वैकल्पिक शिक्षण क्रियाकलापका लागि जिल्लामै वालिङ नगरपालिकाले सञ्चालन गरेको अभियान पहिलो र नयाँ भएको दाबी गरे । उनले भने, ‘सबै विद्यार्थी तथा शिक्षकको हात हातमा इन्टरनेटको प्याकेजसहितको सिमकार्ड भएपछि शिक्षण सिकाई क्रियाकलाप थप प्रभावकारी हुनेछ ।’
इन्टरनेटको पहुँच नपुगेकै कारण वैकल्पिक सिकाइ प्रभावकारी हुन नसकेको गुनासो आइरहेकोबेला उक्त समस्या समाधान गर्न इन्टरनेट प्याकेजसहित सिम वितरण गरेको प्रमुख प्रशासकीय राजन भट्टराईले बताए । उनले सिमकार्डको प्रयोग भए नभएको साथै पठन पाठन भए नभएको निरन्तररुपमा अनुगमन तथा मुल्यांकन गरिने व्यवस्था मिलाइएको बताए । ‘यसले राज्यले शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल आउने आशा गरेका छौं,’ उनले भने ।
वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले गाउँ गाउँमा इन्टरनेटको सहज पहुँच नपुग्दासम्म शिक्षक तथा विद्यार्थीलाई निशुल्क सिमकार्डको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->