पोखरा, १५ साउन– नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको राजीनामा प्रकरण झन् जटिल बनेको छ ।
१३ औं साफ च्याम्पियनसिपको मिति नजिकिँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आफूमाथि लगाएको आरोपमाथि छानविन हुनुपर्ने माग राख्दै एन्फामा निवेदन दिएपछि यो प्रकरण लम्बिएको हो ।
राष्ट्रिय टिमको प्रशिक्षण नै प्रभावपर्ने गरी चर्किएको विवाद मिलाउन र साफ च्याम्पियनसिप आयोजनाबारे एन्फाले आपतकालीन बैठकसमेत डाकेको छ । प्रशिक्षकले वरिष्ठ उपाध्यक्ष नेम्वाङको कारण आफूले राजीनामा दिने घोषणापछि एन्फाले शुक्रबार केन्द्रीय समितिको आपत्कालीन बैठक डाकेको हो ।
अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत् नेम्बाङले पछिल्लो ३ सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले राजीनामा नदिन र केही दिन आराम गर्न भनेपछि उनले राजीनामा नदिएको बताइएको छ ।
अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्ने गरी आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रीय समितिको बैठक माग गरेका हुन् । अलमुताइरीले आफूसँग नेम्बाङले माफी माग्नुपर्ने माग राखेको श्रोतले बतायो । तर, नेम्बाङ भने त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत् विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् ।एन्फा अध्यक्षलाई सोमबार पत्र लेख्दै नेम्बाङले सामाजिक सञ्जालमा आफ्नो बदलान गरेको हुँदा के कति कारणले अलमुताइरीलाई नाटक गरे र के कति कारणले राजीनामा दिनुप¥यो भन्ने सम्बन्धमा आवश्यक छानविन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी जारी भएपनि अलमुताइरी भने प्रशिक्षणमा सामेल छैनन् । एन्फाले अहिले अनौपचारिक छलफलाई अघि बढाए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । उनलाई यस विषयमा निर्णय नआउन्जेल विश्राम दिइएको छ । दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिप आयोजनाका लागि एन्फाले आइतबार नै आधिकारिक प्रस्ताव पाएको थियो ।
कतार फुटबल संघको सहयोगमा गत चैतमा अलमुताइरीले राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेका थिए । उनको नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण खेल तथा विश्व कप र एसिया कपका ३ गरी कुल ४ खेल खेलेको थियो ।
उनको नेतृत्वमा टोलीले सुधारिएको प्रदर्शन गरेपछि चौतर्फी प्रशंसा पाएका थिए । एन्फाले उनको सम्झौता अवधि थप्नका लागि कतार फुटबल संघलाई पत्रचार गरिरहेकै अवस्थामा अलमुताइरीले राजीनाको घोषणा गरेका छन् । नेम्वाङले आफ्ना निकट व्यक्तिहरुमार्फत् तनाव दिने गरेको प्रशिक्षकको आरोप छ ।





