बागलुङ, १७ साउन– स्थापना भएको पहिलो वर्षमै कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धी हासिल गरेको दाबी गरेको छ ।
गत वर्ष संचालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९.४७ प्रतिशत उपलब्धी गरेको कार्यालयको तथ्यांक छ । आलु प्रवद्र्धनात्मक कार्यक्रममार्फत ३ हजार केजी आलुको बीउ लगाएर ३ सय रोपनी जमिनमा २ सय १० मेट्रिकटन आलु उत्पादन गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिए । उक्त कामका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट थियो । किसानले उत्पादन गरेको आलु बजारमा बिक्री समेत गरेका छन् ।
बागलुङको काठेखोला, ढोरपाटन नगरपालिका, तमान र निसीखोला लगायतका सबै पालिकामा आलुखेती बिस्तार भएको हो । अघिल्लो वर्षभन्दा यो वर्ष आलुको उत्पादन बढेको कार्यालयको तथ्यांकमा उल्लेख छ । ‘कृषि प्राविधिकको सल्लाह, बीउ तथा औषधीको उचित प्रयोग जस्ता कारणले उत्पादन बढेको छ’ पुनले भने, ‘ज्ञान केन्द्र स्थापनाले किसानले समयमै समस्याको समाधान पनि गर्न पाएका छन् ।’ अघिल्ला वर्ष किसानले अनुदान नपाउने, प्रविधि र उन्नत बीउसमेत पाउन नसकेकोमा केन्द्र स्थाना भएपछि यो सहज भएको उनले बताए ।
रैथाने बाली संरक्षण कार्यक्रममा पनि ९८ प्रतिशत सफलता पाएको कार्यालयको तथ्यांक छ । ६ वटा समूहले १ सय ५० रोपनीमा रैथाने बाली लगाउने कार्यका लागि १५ लाख बजेट थियो । मकै, भटमास र चैतेधान खेती बिस्तार कार्यक्रममा पनि १५ लाख खर्चेर ९० प्रतिशत सफलता पाएको कार्यालयले तत्थांक निकालेको छ । उक्त कार्यक्रममा ६ वटा समूहले २ सय रोपनीमा मकै, ६० रोपनीमा भटमास खेती गरेका थिए । २ सय ९२ रोपनीमा तरकारी खेती बिस्तार भएको र उक्त स्थानमा ४ हजार १ सय ३० बर्ग मीटर प्लाष्टिक टनेल बिस्तार भएको पुनले जानकारी दिए ।
‘ज्ञान केन्द्र आएपछि हामीले नियमित प्राविधिक सल्लाह र खेती बिस्तार गर्न सकेका छौं’ बानपा–३ का अगुवा किसान गंगाबहादुर थापाले भने, ‘गाउँ गाउँका किसानले पनि प्राविधिक ज्ञान पाउन थालेकोले उत्पादन बढ्ने क्रम छ ।’ अन्न, तरकारी र कोसेबालीमा पनि किसानको पहुँच बढेको उनले बताए ।
गत वर्ष २२ लाख ५० हजार रुपैयाँको लागतमा कार्यालयले ३ वटा कृषि उपज संकलन केन्द्रसमेत बनाएको केन्द्र प्रमुख भानुभक्त भट्टराइले बताए । कृषि मोडेल फर्म बिस्तार कार्यक्रमअन्र्तगत कार्यालयले १८ वटा फलामे टनेल, ३ सय मौरीका गोलाघार, ३० रोपनीमा केरा र २० रोपनीमा सुन्तला खेती बिस्तार गरेको हो । सिताके च्याउको एक फर्म बिस्तार भएको छ । सिताके च्याउ काठेखोला र निसीखोलामा बिस्तार गरिएको हो ।
त्यस्तै सुन्तला खेती बागलुङ नगरपालिका–८ को सिगाना र जैमिनी–४ को सर्कुवामा बिस्तार गरिएको थियो । त्यसबाट ३७ मेट्रिकटन तरकारी उत्पादन, ३ मेट्रिकटन सिताके च्याउ, २ दशमलब ७ मेट्रिकटन मह, ६ मेट्रिकटन सुन्तला र ३ मेट्रिकटन किवीसमेत उत्पादन भएको उनले जानकारी दिए । त्यसबाट किसानले लाखौं आम्दानी गर्न सकेको उनले बताए ।
गत आर्थिक वर्ष ११ करोड १५ लाख ४० हजार रुपैयाँको लागतमा ती क्रियाकलाप सम्पन्न भएका हुन् । कार्यालयले जिल्लाका १० वटै पालिका तहमा पुगेर यन्त्रिकरण, ब्लक निर्माण, साना व्यवसायिक कृषि फर्म निर्माण तथा संचालन, साना सिंचाइ कार्यक्रम र ग्रिन हाउस निर्माण कार्यक्रममा लगानी गरेको हो ।





