डोटेली लवजमै उनले फेवा किनारमा केही वाक्यहरु सुनाए । मन्द गतिमा आएका छालहरु फेवा किनारसम्म आइपुग्थे । अनि उनी पनि छालहरु भन्दा पहिला पुग्थे डोटीको सम्झनामा । उनी सुदुर पश्चिमेली भाषा बुझ्दैनन् मात्र, बोल्छन् पनि । भाषाले मात्र हैन, त्यहाँको रहनसहन, संस्कृति र आतिथ्यताले उनले त्यहाँ आफ्नोपनको अनुभूति गरे । डोटीको मायाको डोरीले यति बाध्यो कि पूराका पुरा तीन वर्ष डोटी मै बिताए उनले । त्यहीँ रमाए, डोटेली माटोमा मज्जाले भिजे । थुप्रै आफन्तहरु बनाए । बुबाहरु बनाए, आमा, दिदी, बहिनी भाई दाई आदि साइनोले उनलाई डोटी आफ्नै घरजस्तो लाग्छ । अनि आफ्नै देश सरहको प्रेम छ नेपालमा ।
ग्यारेट मोरिस । पाँच वर्ष अघि अमेरिकी पिस कोर्स अन्तर्गत स्वयंसेवक बनी पहिलोपल्ट नेपाल आएका थिए उनी । उनले रोजेका थिए, खाद्य सुरक्षा कार्यक्रमको स्वयंसेवी । सगरमाथाको देश, बुद्धको देश, सुरुमा मात्र यति जानकार थियो नेपालबारे उनमा । स्वयंसेवक भएर जान उनीसँग दुइटा रोजाइ थिए, कि डोमिनिकन रिपब्लिक कि नेपाल । उनलाई फरक भाषा, चालचलन र धर्म संस्कृति भएको देश घुम्न र काम गर्न मन थियो । फरकपनको अनुभूति सँगाल्नु थियो । त्यसैले उनको रोजाइमा प¥यो, नेपाल ।
पिस कोर्सबाट नेपाल आउने हरेक स्वयंसेवकले तीन महिनाको तालिम लिनु पर्ने प्रावधान छ । त्यहीँ अनुरुप उनी काभ्रे पुगे । त्यहीँ गाउँमा उनले तीन महिना बिताएँ । उनी आफूले जाने र पढेका कुराहरु गाउँलेहरुलाई सिकाउन चाहन्थे । तर न भाषा मिल्थ्यो न संस्कृति नै । उनलाई जसरी पनि बुझाउनु थियो । सिकाउनु थियो । यसका लागि मात्र विकल्प थियो, नेपाली भाषा सिक्ने र बुझ्ने । अनि सुरु भयो उनको नेपाली भाषा सिकाईको यात्रा ।
यो यात्रा त्यति सहज त कहाँ थियो र ? नेपाली र अंग्रेजीको वाक्य संरचना नै फरक थियो । जीवनभर सिकेर नसकिने भाषा तीन महिनामा, त्यो सम्भव नै थिएन । तर उनले हार मानेनन् । दैनिक पाँच छ घण्टा उनी नेपाली पढ्न, सिक्न र बुझ्न समय व्यतित गर्थे । इच्छा र रहर भए के सम्भव हुँदैन र ? तीन महिना तालिम अवधि भर उनले तालिम मात्र लिएनन्, सँगै लिए नेपाली संस्कृति, भाषा, चालचलन र परम्पराको धेरथोर ज्ञान । उनको कार्यक्षेत्र थियो सुदुर पश्चिमको डोटी जिल्ला । अनि उनी हानिए सुदुर पश्चिम ।
काभ्रेको भन्दा फरक थियो डोटेली भाषा, त्यहाँको रहनसहन अनि संस्कृति । त्यहीँ चुनौतीलाई अवसरका रुपमा लिएर उनले त्यहीँको रैथाने भाषा र रहनसहन सिक्न थाले । त्यही घुलमिलन थाले । डोटी कै माटोमा मज्जाले भिजे उनी । त्यहाँका किसानहरुलाई विभिन्न तालिमहरु सिकाउँथे । उनी सिकाउँथेनन् मात्र, आफू पनि सिक्थे किसानहरुबाट । बिउबिजन उत्पादन देखि त्यसको फल संकलनसम्मका प्रक्रियाहरु उनी सिकाउँथे । सुर्खेतसम्म पुगेर त्यहाँको वन विभागसँग त्यस ठाउँका लागि नयाँ खेतीपातीका विषयमा कुराहरु राख्थे ।
सुरुमा उनको चिनजानी भयो त्यहीँ गाउँमा रहेका विद्यालयका प्रधानाध्यापकसँग । ग्यारेट उनकै घरमा बसें साथी बनेर । त्यहीँ खाने, सुत्ने र बस्ने प्रबन्ध जोह भयो । त्यसका लागि उनले केही न्युनतम खर्च दिन्थे । त्यस परिवारमा घुलमिलिन उनलाई धेरै समय लागेन । त्यतिमात्र हैन, त्यस गाउँभरका मानिसहरु कोही उनका बुबा, आमा, दाजु, भाउजु, दिदी बहिनी बने । ‘म त कति हो कति धनी । एउटा आमा हो र, घरैपिच्छे आमा । घरैपिच्छे बा । सिंगो गाउँ नै मेरो घर, गाउँलेहरु सबै मेरा आफन्त । आफ्नो देश र घरपरिवारसँगको न्यास्रो डोटीले बिर्साइदियो ।’
पिसकोर्सले उनलाई मासिक नेपाली रुपैँया बीस हजार दिन्थ्यो, स्वयंसेवक भत्ता । केही हजारका नोट खाना र बस्न छुटाउँथे भने बाँकी आफ्नै खर्चका लागि । अमेरिकामा पठाउने त परको कुरा । उनले पोषण सम्बन्धी ग्रयाजुएट गरेका थिए अमेरिकामा । त्यहीँ पढाइकै विषयमा जागिर नपाएका होइनन् । राम्रो कमाई पनि हुन्थ्यो । तर उनले स्वयंसेवक भएर नेपालमै केही समय बस्ने योजना गरे ।
डोटीको मायाको डोरी यति बाधिँयो कि उनले दुई वर्षको कार्यकाल सकेपछि फेरि एक वर्ष थप गरे । अर्को एक वर्ष डोटीमै बिताए । त्यहीँ रमाएँ । अनि त्यहीँ हराए । त्यहाँको प्राकृतिक सुन्दरता, मानिसहरुको आत्मीय र आथित्यताको प्रशंसक उनी । समय कति चाँडै बित्यो, पत्तै भएन उनलाई । तीन वर्ष तीन दिन झैं लाग्यो । गह्रौ मन लिएर बिदाईका हातहरु हल्याउँदै उनी डोटीबाट बिदा लिए । तर मन भने डोटीमै अल्झिरहेको थियो ।
उनलाई तुरुन्त स्वदेश फर्कन मन थिएन । केही समय नेपालमै बिताउन पाए, मनले भनिरहन्थ्यो । त्यसैले उनले रोजे पोखरा । उनी विभिन्न खानाका परिकारका पकाउन सौखिन । पाककलामा राम्रो अनुभव बटुलेको मान्छे उनी । अनि उनले सुरु गरे लेकसाइडमा सेफको काम । उनी हरेक कुरामा रमाउन मान्छे, त्यसैले हरेक काममा रमाए ।
कहाँ डोटीको त्यो बसाई, अनि कहाँ पोखराको । बिरानो शहरमा उनलाई कोही आफ्नो भइदिए भन्ने नलागेको हैन । सुख दुःखका भावनाहरु सुनिदिने र साथ दिने मान्छे खोजेका थिए । उनी डेरा लिएर बस्ने घरछेउको छिमेममा बस्थिन्, चिनियाँ मुलकी कोको । उनी नेपाली र विदेशीहरुलाई योग सिकाउँथिन् । अझ् भनौं योगा प्रशिक्षक थिइन् उनी ।
उनै कोकोसँगको उनको चिनजान भयो । समयसँगै उनीहरु नजिक भए । चिनजान प्रेममा बदलियो । बिरानो शहरमा दुई फरक देशका मानिसलाई नेपालको मायाले एक बनायौं । अनि सुरु भयो उनीहरुको लिभिङ टुग्यादरको यात्रा । उनीहरु आधिकारिक रुपमा बिहे नै गर्न चाहन्थे तर दुई विदेशीलाई नेपालमा बिहे गर्ने वैधानिकता छैन । त्यसैले उनीहरु हानिएका थिए चीन ।
कोकोको परिवारसँग ग्यारेट पनि नजिकिए । उनीहरु त्यहीँ केही समय बिताए । उनीहरु आधिकारिक रुपमै एक हुन चाहन्थे तर त्यहीँ बेला सुरु भयो कोरोना महामारी । उनीहरुको सपना पूरा हुन सकेन । उनीहरु केही समय चीनमै रोकिए । अवस्था सामान्य भएपछि भने उनीहरु फेरि नेपालमै फर्के ।
कृषिमा एकदमै रुचि राख्ने ग्यारेट । उनी खेतीपाती गर्न एकदम सौखिन । त्यसैले करिब तीन महिना पामेमा रहेको इन्द्रेमी फार्ममा काम गरे । बदलामा खाना बस्ने व्यवस्था दुवैलाई फार्ममा थियो । कोरोना कहरले कोकोको योगा सिकाउने काम रोकियो । दुवै त्यसैमा फार्म मै रमाए । त्यसपछि उनीहरु पामे पारि ब्याक टु नेचर फार्ममा रहे, दुई महिनाका लागि । च्याउ लगायत विभिन्न तरकारीको उत्पादन र नर्सरीमा रमाए दुवै । त्यसैमा सन्तुष्टि मिलिरहेको थियो । त्यसपछि केही समय बेगनास ताल नजिक एक जना साथीको फार्ममा बसे ।
चीनबाट फर्केपछि उनी फेरि केही समयका लागि डोटी पुगेका थिए । त्यतिबेला दसैं र तिहारको रौनकता छाएको थियो । उनले आफ्नै घर फर्केको अनुभूति गरेका थिए । घरै पिच्छे दसैंको तिहार थाप्न पुगे । निधारभरि रातो टिका अनि मनभरि डोटेली माया । तिहारको किस्सा यसरी उनी सुनाउँछन्, ‘दिदी बहिनी पनि थुप्रै थिए । भाइटीकाको दिन त घाँटीभरि मालैमाला । निधारभरि सप्तरंगी टिका । दिनभर लागेको थियो टिका लगाउन पनि । सबै दिदी बहिनीलाई दक्षिणा दिदाँ राम्रै खर्च पनि भएको थियो । तर त्यो भन्दा ठूलो कुरा, त्यो अमूल्य पलहरु नै थियो, जुन जति पैसा खर्चे पनि कहिल्यै किन्न सकिँदैन ।’
पछिल्लो समय उनीहरु लेकसाइडमा एक होटलमा बस्थे । कोरोना महामारीले उनीहरुले काम गर्न पाएनन् । केही फार्महरुमा नबोलाएका हैनन्, तर त्यतिले आर्थिक बोझ धान्न धौ धौ थियो । खाना बस्नलाई समस्या थिएन, तर अलिअलि बचत गर्न पाए, उनीहरुको धेय थियो ।
आधिकारिक रुपमा अमेरिका कि चीनमै यो सम्बन्धलाई बिहेमा परिणत गर्ने उनीहरुको सपना थियो । बिहे गर्ने अनि नेपाल फर्कने । यतै बस्ने । यतै रमाउने । महत्वाकांक्षी सपनाहरु बोकेका छैनन् उनीहरुले । लाखौं पैसा कमाएर भवन ठडाउने कल्पना गरेका छैनन् । बस्, ग्यारेट अर्गानिक कृषिमा लाग्ने र कोको योगा सिकाउने । सरल र सहज जीवन निर्वाह गर्ने । तर समस्या उहीँ न हो, भिषाको । पर्यटन भिषामा हरेक दिन ५÷५ डलर तिरेर बस्न पनि त गाह्रै छ नि । उनीहरु चाहन्छन्, नेपाल सरकारले केही सहजता बनाओस् । नेपालमै केही गर्न चाहनेहरुलाई नीति नियम खुकुलो बनाइदिए, उनी चाहन्छन् ।
नेपाल प्रिय लाग्छ उनलाई । केही समय नेपालमै बस्ने रहर जो थियो । नेपालीको आत्मीयता, आतिथ्यता र यहाँको भौगोलिक सुन्दरताले स्वदेश फर्कन मनले मानेको थिएन । कोरोनाको दोस्रो लहरसम्म जेनतेन दैनिकी चल्यो । फेरि अर्को लहर आउने हल्ला चलेसँगै उनले निर्णय लिए, स्वदेश फर्कने र केही समय त्यहीँ काम गर्ने । घरपरिवारसँग पनि केही समय बिताउन पाइन्छ र केही पैसा जम्मा गरेर उनी नेपाल फर्कन चाहन्छन् । कोको भने पोखरा लेकसाइडमै बस्छिन्, पहिलाकै डेरामा ।
फरक भूगोल र फरक भाषीका दुई अपरिचित मानिसहरुलाई नेपाली मायाले एक बनायो । न त सीमाले बाध्यो न भूगोलले नै । प्रेमलाई बाँधेर बाध्न सकिँदो रहेनछ । यो एक उदाहरण थियो । नेपालमै केही गर्न चाहने विदेशीहरुलाई सरकारले केही हेरिदिए, कति जाति हुँदो हो । फेरि आफैंलाई प्रश्न गर्न मन लाग्छ, साच्चै नेपालमा पनि सरकार छ र ?




