गोरखा÷ उत्तरी गोरखामा पहिरोका कारण खोलामाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ । चुमनुव्री गाउँपालिका–६ चुम्चेतको लोक्पा स्थित डुयु खोलामाथिको झोलुङ्गे पुल चुँडीएको हो । मंगलवार राती माथिबाट खसेको पहिरोले पुल चुडिएको वडाध्यक्ष लोप्साङ लामाले बताए । पुल चुडिएसँगै आउजाउ ठप्प छ । ‘खाद्यान्न बोकेर गएका खच्चडहरु सबै पुल वारी रोकिएका छन्,’ वडाध्यक्ष लामाले भने, ‘मान्छे पनि आउजाउ गर्न सकेका छैनन् ।’
खच्चड र मानिस आउजाउ गर्न मिल्ने गरी अस्थायी बाटो निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । पुल भत्किएसँगै चुम्चेत छेकम्पार आउजाउमा समस्या भएको उनले बताए । कादुरी नामक संस्थाले नौ बर्ष अघि करिव ४० लाख खर्चेर उक्त झोलुङ्गे पुल निर्माण गरेको थियो ।





