बागलुङ/बागलुङ नगरपालिका–१४ नारायाणस्थानलाई दश दिनका लागि पूर्ण निशेधाज्ञा गरिदिन वडा कार्यालयले अपिल गरेको छ । कोरोना फैलिएको भन्दै वडा अध्यक्ष चक्रबहादुर खत्रीले बागलुङ नगरपालिकालाई पत्रचार गर्दै दश दिनका लागि निशेधाज्ञा गरिदिन अनुरोध गरेका हुन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई निशेधाज्ञाका लागि सिफारिस गरिदिन आग्रह गर्दै खत्रीले नगरपालिकालाई पत्राचार गरेका छन् । जिल्लामा महामारीको दोस्रो लहर चल्ने बेला नारायणस्थान सबैभन्दा पहिले प्रभावित भएको थियो । नरायणस्थानबाट फैलिएको कोरोना बलेवाका अमलाचौर, पैञ्युपाटामा समुदायमै फैलिएपछि बैशाख ८ गतेदेखि तीनवटै वडामा निशेधाज्ञा गरिएको थियो ।
अहिले एउटै गाउँमा दर्जन बढी संक्रमित एकैपटक देखिन थालेपछि वडाले सजगता अपनाउन थालेको हो । अन्य वडाको तुलनामा घना बस्ति रहेको नारायणस्थान उच्च जोखिममा छ । छिमेकी जिल्ला पर्वतको कुमामसँग बिभिन्न माध्यामबाट जोडिएको वडामा संक्रमित बढेपछि अन्यत्र संक्रमण फैलिने र वडा समेत थप जोखिममा रहने भएकाले वडाले अपिल गरेको हो ।





