आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सन्यासपछि पारस- ‘अब व्यवस्थापनतिर जान्छु’

सन्यासपछि पारस- ‘अब व्यवस्थापनतिर जान्छु’

पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन ५ र त्यसपछि डिभिजन ३ सम्मको उपाधि जितेको छ ।


  • विजय नेपाली
  • साउन २१ २०७८, बिहिबार

पोखरा/नेपाली क्रिकेटको आजको ‘सफल’ अवस्थालाई नियाल्ने हो भने श्रेय पारस खड्कालाई जान्छ । लामो समय कप्तानको भूमिका निभाएका उनले नेपालका लागि १७ वर्ष अन्तर्राष्ट्रिय क्रिजमा आफ्नो समय गुजारेका छन् ।
नेपाली क्रिकेटका तिनै हस्ती खड्काले मंगलबार अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए । नेपाली क्रिकेटप्रेमीका लागिमात्रै नभई उनको निर्णयले अन्तर्राष्ट्रिय जगतमै हलचल ल्यायो । उनको सन्यास घोषणा अप्रत्याशित थियो । तर, उनले भने आफूले सन्यास लिने सहि समय भएको धारणा दिएका छन् । ‘क्रिकेटबाट सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्यासको लागि यो सहि समय हो भनेर निर्णय लिएँ,’ उनले भने ।
सन् २००४ मा मलेसियाविरुद्ध मैदानमा उत्रदै अन्तर्राष्ट्रिय खेलसँगै डेब्यु गरेका खड्का नेपाली अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा लामो समय कप्तान रहे । सन् २००८ देखि २०१९ सम्म राष्ट्रिय टिमका कप्तानसमेत रहे ।
कप्तानका साथसाथै खड्काले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गर्न सफल खेलाडीसमेत हुन् । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलिसकेका छन् । उनको कप्तानीमा नेपालले पहिलो पटक २०१४ मा टि–२० विश्वकप खेलेको थियो ।
सन् २०१८ मा नेपालले पहिलो पटक ऐतिहासिक ओडिआई मान्यता पाएको थियो । पारसको कप्तानीमा नेपालले २०१० मा पहिलो पटक डिभिजन ५ को उपाधि जितेको थियो । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेको छ ।
पारस ओडिआई र टि–२० आई दुवैमा नेपालको तर्फबाट शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । ओडिआईमा सन् २०१९ मा युएई र त्यसै वर्ष सिंगापुरविरुद्ध टि–२० आईमा शतक प्रहार गरेका थिए । टि–२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने उनी पहिलो कप्तान हुन् ।
पारसले नेपालबाट १० ओडिआई, ३३ टि–२० आई, २ प्रथम श्रेणी, ४४ लिस्ट ए र ५६ टि–२० क्रिकेट खेलिसकेका छन् ।
पहिले प्यासन, अब करिअर
मंगलबार सन्यास लिएका पूर्वकप्तान खड्काले बुधबार पत्रकार सम्मेलन गर्दै आफू व्यवस्थापनको रुपमा योगदान दिने योजना रहेको बताए । उनले यसअघि प्यासनले क्रिकेट खेलिरहेको बताउँदै अब भने करिअर सुरु भएको अभिव्यक्ति दिए ।
‘कप्तानी छाड्ने समयमा नै खेल छोड्ने वा नखेल्ने सोच आएको थियो । मैले १० वर्ष कप्तानी गर्दा ज्ञानेन्द्र मल्ल उपकप्तान थिए । ज्ञानेन्द्र र टोलीलाई साथ दिनुपर्छ भनेर त्यो बेला छाडिनँ,’ पत्रकार सम्मेलनमा खड्काले भने, ‘लगभग २ वर्षको समय सकिँदा मैले धेरै पटक सोचें र अब क्रिकेट खेल्दिन भन्ने निर्णय लिएँ ।’
आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि क्रिकेटबाट नटाढिएको सुनाए । उनले क्रिकेटमा भूमिका मात्र बद्लिएको बताए । अन्तर्राष्ट्रिय क्रिकेट छाडेपनि उनले व्यवस्थापनमा आउने योजना सुनाए ।
‘मेरो सोच जहिले पनि कसरी क्रिकेट प्रभाव पार्न सकिन्छ भन्ने हो । मैले क्रिकेटरको रुपमा पार्न सक्ने प्रभाव (दिन सक्ने योगदान) यति नै थियो । अन्तर्राष्ट्रिय क्रिकेट छाडेपछि आगामी दिनमा व्यवस्थापनमा आउने मन छ,’ उनले भने, ‘मैले गर्दा मात्र नेपाली क्रिकेट यहाँ आइपुगेको होइन । म लगायत धेरै खेलाडीको मिहिनेतले यहाँ सम्म आइपुगेको हो ।’
पारसले आफू व्यवस्थापन आएसँगै सींगै आफ्नो एक टिम पनि आउने बताए । अन्तर्राष्ट्रिय खेलबाट टाढिए पनि घरेलु क्रिकेट खेल्ने बताए । पत्रकार सम्मेलनमा उनले सोच क्रिकेट एकेडेमी सञ्चालन गर्नेसमेत जानकारी दिए । ‘एक दुई महिनापछि क्रिकेट एकेडेमी लन्च (सार्वजनिक) गर्ने छु । त्यसलाई नेपालभर लगेर जाने योजना छ,’ पारसले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->