पोखरा, २३ साउन– नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।घरेलु मैदानमा नेपालले २ वटा मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको हो ।
१३ औँ साफ च्याम्पियसिप नजिकिँदै गर्दा नेपालको भारतसहित प्यालेस्टाइन र बंगलादेशले प्रस्ताव राखेको हो । यस्तै किर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि नेपाललाई आमन्त्रण गरेको छ ।
भारतसँग नेपालले दशरथ रंगशालामा भदौ १७ र २० गते खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार २ खेल हुने पक्का गरेको हो । नेपाल र भारत दुबै साफ च्याम्पियनसिपको तयारीमा रहेका छन् । च्याम्पियनसीप अक्टोबरमा हुने भनिएपनि हालसम्म आयोजकको टुंगो लागेको छैन । साफले अर्को साता हुने बैठकमा नेपाल वा माल्दिभ्समध्ये एक राष्ट्रलाई आयोजनाको जिम्मेवारी दिने देखिएको छ ।नेपालले ६ वर्षपछि भारतलाई घरेलु मैदान दशरथ रंगशालमा भेट्दै छ । ६ वर्षअघिविश्वकप छनोट अन्तर्गतको खेल गोलरहीत बराबरीमा सकिएको थियो । त्यसपछि सन् २०१५ को साफ च्याम्पियनसीपमा नेपाल ४–१ र सन् २०१७ को मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई२–० ले हराएको थियो । दुबैराष्ट्र एसियन कप छनौटको तेस्रो चरणमा प्रवेश गर्न सफल टोली हुन् । भारत आफ्नो समूहमा तेस्रो तथा नेपाल चौथोहुँदै अर्को चरणमा अघिबढेको थियो । छनोट चरणका खेल सन् २०२२ फ्रेबुअरीमा सुरु हुनेछ ।
गत साउन १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसीपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसँग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भइरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो ।एन्फा महासचिव ईन्द्रमान तुलाधरले नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्तावहरु आएको बताए । भारतसँगको खेलका लागि आन्तरीक तयारी गरिरहेको तुलाधरले बताए ।‘कीर्गिस्तान गएर खेलेमा नेपालमा अरु खेल छुटिहाल्छ । फिफा म्याच डे अगष्ट २० देखि सेप्टेम्बर १ सम्म मात्र छ । यसैमा छलफल भैरहेको छ’, तुलाधरले भने ।





