
बागलुङ/ बागलुङमा चालु आर्थिक बर्षमा थप २५ खानेपानी आयोजना सञ्चालनमा आउने भएका छन् । गण्डकी प्रदेश सरकारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत योजना सञ्चालन गर्ने भएको हो ।
एक घर एक धारा कार्यक्रमका लागि खानेपानीको समस्या रहेका गाउँहरुमा योजना थप भएको डिभिजन कार्यालय बागलुङका प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले बताए । जिल्लाभर २५ खानेपानी आयोजना थप गर्न १ करोड ९८ लाख रुपैयाँ बिनियोजन भएको छ । उपभोक्ताको मागका आधारमा छनौट भएका योजनाहरुमा बजेट बिनियोजन भएर काम सुरुभएको न्यौपानेले बताए ।
थप भएका योजनामध्ये सबैभन्दा ठुलो योजना ढोरपाटन नगरपालिका–४ खुंगामा सञ्चालन हुने छ । झारेखोला, देउराली खोला, खुंगा खानेपानी योजनका लागि २५ लाख रुपैयाँ बिनियोजन भएको छ । नयाँ योजना भएकाले नाप जाँचको काम सकेर मुहानदेखि धारासम्मका काम थालिने इञ्जिनियर इश्वरी शर्माले बताए । संघीय सरकारको खानेपानी डिभिजन कार्यालय म्याग्दी र स्थानीय सरकारले सञ्चालन गर्ने योजना बाहेक जिल्लामा चालु आर्थिक बर्षमा ७८ वटा खानेपानीका योजना सञ्चालनमा रहने छन् ।
गअ आर्थिक बर्ष र त्यो भन्दा पहिलेदेखि दायीत्व सरेर आएका ५३ क्रमागत योजना चालु आवमा समेत सञ्चालनमा रहने छन् । १२ करोड ५० लाखका योजना निर्माणकै क्रममा रहेकाले चालु बर्षमा समेत सञ्चालनमा रहने न्यौपानले बताए । घर घरमा खानेपानी पु¥याउनका लागि लामो कसरत भैरहेको भएपनि अझै जिल्लाका दुरदराजदेखि सदरमुकाममा खानेपानीको समस्या छ । प्रदेश सरकारले सर्सतमा ४३ योजना सञ्चालन गरिरहेको छ । ७ करोड ८५ लाख रुपैयाँ खर्चेर चालु बर्षमा समेत यी योजनाहरुमा काम हुने छ ।
‘कार्यक्षेत्रका हिसावले पर्वत र बागलुङमा काम गर्दा कठिन छ तर हामि खटिरहेका छौं’ न्यौपानेले भने ‘गत आवमा शत प्रतिशत भौतिक र बित्तिय प्रगति भएको छ । थपिएका योजनाहरु मध्ये दुई वटा योजनामा दुई लाख रुपैयाँ मात्रै बिनियोजन भएको छ । ढोरपाटन नगरपालिका–१, २ र ३ मा पर्ने दुई योजनाका लागि चार लाख रुपैयाँ बजेट बिनियोजन भएको हो । नौ वटा पाँच लाखका योजना छन् । ८ लाख रुपैयाँ बजेट रहेका दुईवटा र नौ वटा दश लाख रुपैयाँ बजेटका योजना रहेका छन् । सबै योजना सूचिकृत भएर प्रारम्भीक काम थालिएको न्यौपानेले बताए ।





