बागलुङ– श्रीमान दुई वर्ष यता रोजगारीको शिलशिलामा साउदी अरेबियामा छन् । उनले घर छोडेपछि सुरु भएको कोरोना महामारी पटक पटक गाउँ पस्यो । स–साना छोराछोरीसँगै गाउँमा एक्लै बसेकी बिनिता (नाम परिवर्तन)ले यसअघिका दुई चरणमा गाउँ पसेको कोरोनाबाट आँफु र बालबच्चाका सबैलाई जोगाईन् । तर यसपटक भने बिनितालाई कोरोनाबाट जोगिन निकै कठिन भयो ।
दैलोमै आएको कोरोनाबाट उनले बालबच्चा त जोगाएकी थिईन् तर आँफु संक्रमित भएपछि भने उनको केही उपाय लागेन् । बागलुङ नगरपालिका–१२ अमलाचौरकी बिनिताले कोरोना संक्रमणपछि स–साना बालबच्चाका लागि पानी दिनेसमेत कोही छैनन् । उपाय केही नभएपछि आँफु संक्रमित भएपनि संक्रमण नभएका छोराछोरी समेत आँफैसँग राखेकी छन् ।
होम आईसोलेसनमा बसेकी उनले आँफै पकाउँछिन्, खुवाउँछिन र छोराछोरीसँगै सुत्छिन् । ‘पाँच बर्षको छोरा अरुसँग बस्न मानेन्, केही गरी लागेन’ बिनिता भन्छिन्– ‘८ बर्षकी छोरी पनि म सँगै छ ।’
आमालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँकाले सहयोग गरेनन् । घरमा कोही नभएकाले बालबालिका जर्बजस्त संक्रमित आमासंगै बस्नुपरेको उनले सुनाइन् । एक साता पहिला बिनितालाई संक्रमण पुष्टि भएको हो । त्यसयता सँगै बसेका बालबालिकाको भने जाँच भएको छैन् । उनीहरुको जाँचका लागि बोलाईएको अमलाचौर स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद शर्माले बताए ।
जैमिनी नगरपालिका–१ की बिमला (नाम परिवर्तन) पनि कोरोना संक्रमित हुन् । जैमिनीले बनाएको अस्थायी कोभिड अस्पतालमा बसेकी उनका दुई छोराछोरी छन् । बिमलासँगै उनीकी बयोबृद्ध सासु, ४ बर्षकी छोरी र ११ बर्षका छोरा पनि संक्रमित भए । श्रीमान जागिरे हुन् । उनको भने कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ ।
पाँच जनाको परिवारमा चार जना संक्रमित छन् । बिमला र उनकी सासुलाई स्वास्थ्यका अन्य समस्या समेत छन् । आँफुहरुको स्वास्थ्यमा समस्या भएका कारण केही होलाकी भनेर अस्पताल आउँदा छोराछोरी होम आईसोलेसनमा राख्न नसकेको गुनासो बिमलाको छ । छोराछोरीलाई कठिन खालका लक्षण छैनन् । तर घरमा कोही नभएका कारण बिमला पनि छोराछोरी र सासुसहित अस्थायी कोभिड अस्पतालमा बसिरहेका छन् । ‘आमा, हजुरआमासँग जस्तो परिवारका अरु सदस्यसँग कहाँ बस्न मान्छन् र छोराछोरी’ उनले भनिन् ‘सँगै छौं, खाना अस्पतालले दिन्छ, अरु सुसार गरेकी छु ।’
कोरोना महामारीको पहिलो लहरभन्दा दोस्रो लहरमा महिला र बालबालिका धेरै प्रभावित छन् । आमा संक्रमित हुँदा बालबालिकाका लागि आईसोलेसनको समय निकै कठिन हुने गरेको छ । आमाहरु संक्रमित हुँदा बालबालिका संक्रमित हुने खतरा बढी रहेको स्वास्थ्य कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।
‘महामारी आँफैमा कठिन समय हो, यो बेलामा सबैमा मानसिक असर परेको हुन्छ’ धौलागिरी अस्पतालका मानसिक रोग बिषेशज्ञ डा. धिरेन्द्र पौडेल भन्छन् । बालबालिकाका लागि न त अस्पतालका आईसोलेसनहरुमा छुट्टै व्यवस्था छ न होम आईसोलेसनमा व्यवस्थापन गरिएको छ ।





