
पोखरा/ नेपाल र बंगलादेशबीच महिला मैत्रीपूर्र्ण खेलका लागि एन्फाको टोलीले पोखराको फुटबल मैदान निरीक्षण गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव ईन्द्रमान तुलाधरको टोलीले पोखरा रंगशालास्थित फुटबल मैदानको निरीक्षण गर्दै पोखरामा महिला मैत्रीपूर्ण खेल हुने बताएका थिए । उनका अनुसार बंगलादेशले महिला मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छ । यता, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने अझैसम्म त्यसतो केही जानकारी नआएको बताएका छन् ।
‘काठमाडौंमा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ, प्रक्रियामै छ । महिला टोलीको अहिलेसम्म केही कुरा आएको छैन्’शेर्पाले भने,‘पोखरा रंगशालाको काम नै सकिएको छैन् । पहिला त काम सम्पन्न हुनपर्ने होला नि ?’
महासचिव ईन्द्रमान तुलाधरले भने पोखरामा करिब १५ दिनमै काम सम्पन्न गर्न सकिने बताएका छन् । ‘अगस्टको अन्तिम साता खेल हुनेछ । बंगलादेशले फ्रेन्डली खेलका लागि प्रस्ताव गरेको छ’, उनले भने ।
एन्फा पदाधिकारीकै धारणा बाझिँदा पोखरामा मैत्रीपूर्ण खेल हुने÷नहुनेमा शंका उब्जिएको छ ।
पुरुषको बुधबारदेखि प्रशिक्षण
राष्ट्रिय पुरुष फुटबल टोलीले बुधवारदेखि पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण गर्ने भएको छ । एसियन कप र १३ औँ साफ च्याम्पियनसीपको तयारीमा रहेको पुरुष फुटबल टोली यसअघि नै पोखरा आउने तयारी गरेको थियो । ३७ सदस्यीय टोली मंगलबार पोखरा आउने छ । टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी भने पोखरा आइसकेका छन् ।
१० दिनको विदामा रहेको टोलीले बुधवार देखि प्रशिक्षण सुरु गर्नेछन् । टोलीमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की र विशाल सुनार रहेका छन् । यस्तै रजिन धिमाल, सुमन अर्याल, रणदीप पौडेल, दिनेश राजबंशी, गौतम श्रेष्ठ, राजीव लोपचन, अनन्त तामाङ, रोहित चन्द,सुरज जेउ ठकुरी,सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटि,विशाल राई, सन्तोष तामाङ, संजोग राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनीष डाँगी, जर्ज प्रिन्स कार्की, अञ्जन विष्ट, आयुष घलन,नवयुग श्रेष्ठ,आशिष लामा, भरत खवास, अभिषेक रिजाल,सेसेहाङ आंगडेम्बे र शिशिर लेखी टोलीमा रहेका छन् । यस्तै यसअघि काठमाडौंमा प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्ट भने पोखराको प्रशिक्षणमा सामेल छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आंङदेम्बे रहेका छन् ।





