आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मुख्य प्रशिक्षक विना नै पोखरामा राष्ट्रिय टोलीको प्रशिक्षण

मुख्य प्रशिक्षक विना नै पोखरामा राष्ट्रिय टोलीको प्रशिक्षण

छानविन समितिले सक्यो बयान ।


  • ढोरपाटन संवाददाता
  • साउन २९ २०७८, शुक्रबार
Nepal national football team members take part in a training session in Dhaka on Thursday. Photo Courtesy: ANFA

पोखरा/ एशियन कप र १३ औँ साफ च्याम्पियनसिप तयारीमा रहेको पुरुष राष्ट्रिय फुटबल टोलीले पोखरामा मुख्य प्रशिक्षक विना नै प्रशिक्षण थालेका छन् ।

बन्द प्रशिक्षणका लागि मंगलबार पोखरा आइपुगेको ३७ सदस्यीय राष्ट्रिय टोलीले बिहीबार मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी विना नै प्रशिक्षण थालेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अल्मुताइरी विवाद समाधन गर्न बनेको समितिले डाकेपछि प्रशिक्षक अल्मुताइरीसहित टोलीका कप्तान किरण चेम्जोङ बयानका लागि काठमाडौं पुगेका हुन् । कप्तान र प्रशिक्षकले आ–आफ्नो बयान दिएका छन् । छानविन समितिलाइ बयान दिएपश्चात पत्रकारहरुसँग बोल्दै प्रशिक्षकले नतिजा पर्खेर बस्ने बताए । उनले आफूले समितिलाइ सबै कुरा बताएको बताउँदै निकै सहज महसुस गरेको बताए । ‘आज निकै सहज महसुस गरेको छु । मैले निवेदन भएअनुसार सम्पूर्ण कुराहरु छानविन समितिलाइ विस्तार लगाएको छु । अब पर्खौँ नतिजा के आउँछ ?’, अल्मुताइरीले भने । छानविन समितिले सोमबारसम्म प्रतिवेदन बुझाउने अनुमान गरिएको छ ।

प्रशिक्षक अल्मुताइरीले १७ दिन अघिमात्र आफ्नो जिम्मेवारीबाट राजिनामा दिने घोषणा गरेका थिए । अल्मुताइरीले वरिष्ठ उपाध्यक्षले वारम्वार समस्यामा पारेको कारण राजिनामा दिन एन्फा जान लागेको बताएका थिए । उनले साउन १० गते सामाजिक संजाल फेसबुक मार्फत् राजिनामा दिन लागेको घोषणा गरेपश्चात विवाद बाहिर आएको हो । मुख्य प्रशिक्षकले आफूमाथि अनावस्यक रुपमा आरोप लगाएको भन्दै त्यसको ५ दिन पछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले छानविनका लागि एन्फामा निवेदन दिएका थिए ।

एन्फाले अघिल्लो शुक्रबारमात्रै आपतकालीन बैठक डाकेको थियो । तर, बैठकबाट विवाद मिलाउन नसकेपछि एन्फाले खेलकुद मन्त्रालयलाइ घटनाको छानविन गर्नका लागि पत्राचार गरेको थियो । खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाइ छानविन समिति बनाउन सिफरिस गरेको थियो । गतसाता राखेपले सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिले मंगलबार र बुधबार विभिन्न सम्बन्धित व्यक्तिहरुसँग समेत बयान लिइसकेको छ । समितिले मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, प्रवक्ता किरण राई र राखेपअन्तर्गत फुटबलको मुख्य प्रशिक्षक अरुणा गुरुङसँग बयान लिएको थियो । त्यसपछि बुधबार उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्का, महासचिव इन्द्रमान तुलाधर तथा व्यवस्थापक मधुसुदन उपाध्यायको बयान लिइएको थियो ।

नेम्बाङ र अलमुताइरीबीच गत साता मंगलबार एक होटलमा भएको भेटपछि दुवै पक्षले विवादलाई नचर्काउने र आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने सहमत भएको थियो । अलमुताइरी सहमति भएकै दिन पोखरा आएका थिए ।
नेपाल एक्वेस्टरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा नेम्बाङ र अलमुताइरीबीच विवाद समाधानका लागि भेटघाट भएको थियो । साउन ७ गते अलमुताइरी र दुई सञ्चारकर्मीसँगको विवादबाट बढ्दै जाँदा त्यसमा नेम्बाङ पनि तानिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->