पोखरा/ गोरखा जिल्ला नगरपालिकाका वडाध्यक्षहरुले वडातहबाट बैंक खाता सञ्चालन गर्न भन्दै प्रदेश मुख्यमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएका छन् । गण्डकीका केही स्थानीय तहले वडाबाटै खाता खोलेर काम गरिरहेको र आफूहरुले सो सुविधा पाउनुपर्ने माग गरेका छन् ।
मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गोरखा नगरपालिका भित्रका विभिन्न ८ वटा वडा वडाध्यक्ष आएका थिए । ‘गण्डकी प्रदेशमा स्याङ्जाको पुतलीबजार नगरपालिका र पोखरा महानरपालिकाले वडा तहबाट नै खाता सञ्चालन गरेर आर्थिक कारोबार,’ भेटमा सहभागी वडाध्यक्ष डिल बहादुर थापाले भने ।
पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाइ खुशी बनाउनेहरुले योजनाका रकम पूरापूर लैजाने गरेपनि नियम अनुसार काम गर्नेलाइ भने विभिन्न वहानामा रकम कटौती गर्ने काम गरेको उनीहरुको आरोप छ ।
‘सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न एक जना कर्मचारी लिएर वडा कार्यालयबाट सेवा दिन असाध्यै मुस्किल भइरहेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘दरबन्दी अनुसारको कर्मचारी को व्यवस्था सहित यसै आर्थिक वर्षदेखि खाता सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाई दिन माग गर्दछौं ।’
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले संघीय सँरचना जनताको काम छिटो गर्नका लागि भएकाले पालिकाले वडामा आर्थिक अधिकार दिन कुनै पनि कानुनको समस्या नरहेको बताए । ‘प्रदेशको कानुनले रोकेको छैन । पहिलदेखि नै यसबारेमा कुरा उठाएका हौं । स्थानीय तहले वडालाइ अधिकार दिन सक्छ,’ उनले भने ।





