आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अधिकांश खेल संघले बुझाउँदैनन् आर्थिक प्रतिवेदन

अधिकांश खेल संघले बुझाउँदैनन् आर्थिक प्रतिवेदन

झोले खेल संघले बिगा¥यो : अध्यक्ष बानियाँ ।


  • विजय नेपाली
  • भाद्र १ २०७८, मंगलबार

पोखरा/ कास्की जिल्ला खेलकुद विकास समितिमा सय बढी खेल संघको सिफारिस गरेको छ । तीमध्ये ३५ खेल संघ अझै जीवन्त छन् । ती संघले बेलाबेलमा खेलकुदको आयोजना गर्दै आइहेका पनि छन् । तर, तीमध्ये केहीले मात्रै बर्षेनि आर्थिक पारदर्शीता देखाउँदै आइरहेका छन् ।

जिल्लामा दर्ता रहेको खेल संघमध्ये क्योकुसिन कान कराँते, क्रिकेट संघ लगायतका केही संघहरुले मात्र आर्थिक वर्षको प्रतिवेदन बुझाएको पाइएको छ । समितिमा आबद्ध बाँकी संघले भने आफ्नो आर्थिक प्रतिवेदन बुझाएका छैनन् ।
अघिल्लो वर्ष भलिबल संघ, क्रिकेट संघ, साइक्लिङ संघ, बक्सिङ, आर्चरी, तेक्वान्दो, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, सितोरियो कराँते, पौडी, बुद्धिचाल, स्ट्रोङगेस्ट क्युकोसिन, क्युकोसिन बुदोकाई, मोआ थाई संघले आफ्नो प्रतिवेदन बुझाएका थिए । नियमित रुपमा आर्थिक प्रतिवेदन बुझाउने संघ यिनै हुन् ।

कास्कीमा खेल बिचौलियाकै हालिमुहालीका कारण धेरै संघसंस्थाले आर्थिक पारदर्शीता, वार्षिक प्रतिवेदन र संघको अधिवेशन तथा साधारण सभा नगर्ने गर्दै आइरहेका छन् । कानुनसम्मत् नचलेका ती संघलाईसमेत कास्की जिल्ला खेलकुद विकास समितिले संरक्षण गर्दै आइरहेको आरोप लागेको छ । उनीहरुले खेल प्रतियोगिता गर्दासमेत स्वीकृति लिँदैनन् ।

शुक्रबार मात्रै गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति र पोखरा महानगरपालिका खेलकुद विकास समितिको पहलमा विभिन्न ३६ खेलसंघका ४ सय खेलाडीले खोप लगाए । प्रति खेल संघका ११÷११ जना खेलाडी तथा प्रशिक्षकका दरले खोप लगाइयो । निष्क्रिय रहेका व्यक्तिले समेत पद र सेवाको लोभमा एक्लौटी रुपमा नाममात्रको संघ चलाइरहेका छन् ।

कोभिड खोपमा हालीमुहाली !

खोप कार्यक्रममा प्रदेश परिषद्को हाबी देखियो । कोभिडविरुद्धको खोपमा प्रदेश खेलकुद परिषद्का पदाधिकारी हाबी भएपछि जिल्ला खेलकुद विकास समितिका कर्मचारी नाम संकलन र खेल संघको तथ्यांक राख्न बसेको टेबलबाटै उठेर हिँडे ।

‘हामीले सबै खेल संघ र खेलाडीको नाम दर्ता गराउँदै खोप कार्यक्रम खघि बढाएका थियौं । तर, प्रदेश परिषद्को एकाएक हाबी भयो । त्यसपछि हामी निस्केर हिँड्यौं,’ जिल्ला खेलकुद विकास समितिका एक कर्मचारीले भने । खेलकुदमा व्यथिति व्यापक रहेको उनले बताए । खेलकुदमा राजनीति गर्नेहरुले सधैं खेलकुदलाई आधार बनाएर सेवा सुविधा लिने तर, खेलकुद र खेलाडी विकासमा नलाग्ने गरेको उनले आरोप लगाए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले खेलाडी भन्दै खोप लगाउन आएको देख्दा आफू अचम्ममा परेको बताए । ‘खेलाडी भनेर आएको देख्दा अचम्म लाग्यो । कहिल्यै खेलकुदमा नदेखेकाहरुको अनुहार पनि देखियो,’ उनले भने, ‘खेलकुदलाई झोलामा बोकेर हिँड्नेले बिगारेका हुन् । खेलकुदको नाम बेचेर खाने धेरै देखियो । अब सबैलाई ठाउँमा ल्याउनुपर्छ ।’

समितिमा नयाँ पदाधिकारी आएको र अब नविकरण र आर्थिक पारदर्शीता नदेखाउने खेलसंघलाई समितिको कुनैपनि सेवा सुविधा नदिने बताए । ‘हामीले अब केही दिनमै संघ नविकरणका लागि सूचना निकाल्दै छौं । हामी नयाँ समिति छौं । सबैको सहयोग चाहिन्छ,’ उनले भने । उनका अनुसार जिल्लामा दर्ता भएका सबै खेलकुदको पूर्वाधार देखि संघको सम्पत्ति, अवस्था, पदाधिकारी, खेलाडी सबैको विवरणका लागि पत्रचार गरिने छ ।

कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बरालले जिल्लामा ३५ खेल संघ दर्ता भएपनि केही संघलेमात्र वार्षिक नविकरण गर्दै आएको बताए । खेल संघलाई बारम्बार नविकरणका लागि ताकेता गर्दा समेत वेवास्ता गर्दै आइरहेको उनले सुनाए । गत वर्ष १७ खेल संघले मात्र प्रतिवेदन बुझाएको उनले जानकारी दिए । ‘जिल्लामा ४० खेलसंघ सूचिवद्धमा छन । तर केन्द्रको लागि अहिलेसम्म १ सय ५ सघंलाई सिफारिस गरिएको छ,’ उनले भने ।
उता पोखरा महानगर खेलकुद विकास समितिले समेत महानगरको सेवा सुविधा पाउनका लागि महानगरमा नविकरण तथा खेल संघ सुचिकरण गर्न पर्ने सूचना जारी गरेको छ । खेलकुदको व्यथिति हटाउन महानगरले समेत सूचिकरणका लागि आह्वान गरेको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । ‘हामी खेलकुदको विकासका लागि आएका हौँ । अब खेलकुद अघि बढ्छ,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->