पोखरा/ महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु देखिएका बागलुङका २ स्थानीय तहले अघिल्लो आर्थिक वर्षमा भने बेरुजु प्रतिशतमा करेक्सन (सुधार) गरेका छन् । बरेङ गाउँपालिका र ताराखोला गाउँपालिकाको बेरुजु अंक करेक्सन भएको हो ।
आर्थिक बर्ष २०७५÷०७६ को प्रतिवेदनमा ५.२२ प्रतिशत बेरुजु देखिएको बरेङ र ५.२० प्रतिशत बेरुजु देखिएको ताराखोला आ.व. २०७६÷०७७ मा त्यसलाई सुधार गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार बरेङले ०.४२ प्रतिशत मात्रै खर्च बेरुजु देखिनेगरी गरेको छ । यो जिल्लाका दशवटा स्थानीय तहमा देखिएको बेरुजुमध्ये सबैभन्दा कम हो । बरेङमा ६६ करोड ३७ लाख ३९ हजार लेखा परीक्षण हुँदा २७ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
ताराखोला गाउँपालिकाले अघिल्लो प्रतिवेदनमा भन्दा धेरै सुधार गरेको छ । ताराखोलामा १.६१ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका १० स्थानीय तहमध्ये ढोरपाटन नगरपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महा लेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा ढोरपाटन नगरपालिकामा ६.७६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ मा ढोरपाटन नगरपालिकामा ६ करोड २५ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको हो । ढोरपाटनमा ९२ करोड ४८ लाख १८ हजार लेखा परीक्षण रकम रहेको थियो । बेरुजु धेरै हुनेमा बागलुङ नगरपालिका दोस्रो बनेको छ । बागलुङ नगरमा १.६४ प्रतिशत बेरुजु देखिएको छ । २ अर्ब ५ करोड ६५ लाख ३४ को लेखा परीक्षण रकम रहेकोमा ३ करोड ३६ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । काठखोला गउँपालिका र ताराखोला गाउँपालिकामा समान १.६१ प्रतिशत बेरुजु देखिएको छ । जैमिनीमा नगरपालिकामा १.१४ प्रतिशत बेरुजु छ ।
१ अर्ब ३७ करोड २८ लाख ४४ हजार लेखा परीक्षण रकम रहेकोमा १ करोड ५६ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको हो । काठेखोला गाउँपालिकामा १ अर्ब ६ करोड ४५ लाख ४ हजार रकम लेखा परीक्षण गरिएकोमा १ करोड ७१ लाख ५५ हजार रुपैयाँ बेरुजु देखिएको छ । ताराखोला गाउँपालिकामा ६० करोड ९२ लाख २३ हजार लेखा परीक्षण रकम रहेकोमा ९८ ला २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।
तमानखोला गाउँपालिकामा १.५१ प्रतिशत बेरुजु देखिएको छ । ४९ करोड ९३ लाख ७१ हजार लेखा परीक्षण रकम रहेकोमा ७५ लाख ५९ हजार रुपैयाँ बेरुजु देखिएको छ । निसीखोला गाउँपालिकामा ०.९४ प्रतिशत बेरुजु देखिएको छ । ७५ करोड ७४ लाख ९ हजार लेखा परीक्षण रकम रहेकोमा ७१ लाख २६ हजार रुपैयाँ बेरुजु देखिएको छ । गलकोट नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु देखिएको छ ।
१ अर्ब ३३ करोड ७६ लाख ४८ हजारको लेखा परीक्षण रकम रहेकोमा १ करोड १६ लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको छ । यो जिल्लामा दोस्रको कम बेरुजु भएको तथ्यांक हो । बडिगाड गाउँपालिकामा ०.७२ प्रतिशत बेरुजु देखिएको छ । त्यहाँ १ अर्ब २४ करोड ४९ लाख ६ हजार लेखा परीक्षण रकम रहेकोमा ८९ लाख ९२ हजार रकम बेरुजु देखिएको हो ।





