शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘बिणा’ बिर्सेकोगलकोट !

‘बिणा’ बिर्सेकोगलकोट !


  • प्रकाश बराल
  • भाद्र ८ २०७८, मंगलबार
galkot bazar

विसं १९९० सालमा गलकोटका अन्तिम राजा भरतबम मल्लले हालको हरिचौर बजारमा रहेको गलकोट दरबार बनाएर सरेको लिखित इतिहास छ । उनी आफंैले राजगद्दी त्याग्ने राजासमेत हुन् । उनले २००७ को आन्दोलनमा कांग्रेस राजनीतिमा होमिएर राजगद्दी त्यागेका थिए ।

२००७ सालको जनक्रान्तिका सहिद थीरबम मल्ल राज परिवारका सदस्य हुन् । चौबिसे राजाको पालामा मल्लहरुको गलकोट राज्य थियो । उक्त राज्यकै कारण बागलुङको सदरमुकाम पनि गलकोटमै थियो । मल्ल दरबार अहिले पनि जिवितै छ ।

पञ्चायतकालमा पहुँचवालाहरुले सदरमुकाम हालको बागलुङ बजारमा सारे । तर, गलकोटेले आफ्नो पुरानो विरासत बिर्सेका छैनन् । अहिले पनि गलकोट भनेपछि ताराखोलादेखि पाण्डवखानीसम्मका एकजुट भइहाल्छन् । राज्यकोपुनसंरचना अघि गलकोट एउटा क्षेत्रको नाम थियो । नगरपालिका गठन गर्दासमेत उनीहरुले उक्त क्षेत्र टुक्राएनन् । गलकोट क्षेत्रको एकीकृतविकास गर्न पनि उनीहरुले विभिन्न कार्यक्रम जोडेर ल्याइरहेका छन् ।
यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड घुम्टेलाईआधार मानेर गलकोटेले आफ्नो पहिचान खोज्छन् । उनीहरुका गीतसंगीत, रितिरिवाज, धर्मसंस्कृति सबै घुम्टे दरमखोला र ‘गलकोत’सँग सम्बन्धित छन् । ५०वर्ष अघिको जस्तो गलकोटको एकता भने अहिले टुटेको छ ।

‘ऐतिहासिक राज्य मात्र नभएर गलकोट छुट्टै सभ्यता बोकेको भूगोल हो,’ प्राध्यापक डा. दिनबहादुर थापा भन्छन्, ‘तर पछिल्लो समय बजारले गलकोटको अस्तित्व लुटिरहेको छ ।’ आत्मनिर्भर र सभ्यताको गलकोट फर्काउन अब धेरै कठिन भइसकेको उनले बताए ।
५०वर्ष अघिसम्म गलकोटमा ३ तहको बसाइँ र उत्पादन थियो । लेक, मध्यम र औल । अर्थात्गर्मी सिजनमा उच्च पहाडी बस्तीमा गोठ सारिन्थ्यो । किसानले त्यही बसेर खेती गर्थे । माथिल्लो बस्तीमा जौं, उवा, आलु र भाँगो लगाउँथे । मध्यम बस्तीमा मकै, कोदो उत्पादन हुन्थ्यो । औल अर्थात् मैदानी भागमा धान र गहुँ खेती गरिन्थ्यो । ती खेतीले गलकोटे आत्मनिर्भर थिए ।

‘गलकोटवासीले १० प्रतिशत किनेर खान्थे । त्यो भनेको बुटवल पुगेर ल्याउने नुन तेल र केही फेन्सी कपडा हो । अन्य सबै कुरामा आफ्नै उत्पादनबाट उनीहरु निर्भर थिए,’ थापाले भने, ‘अहिले त १० प्रतिशत आफ्नो उत्पादन होला, ९० प्रतिशत बजार बाहिरको छ ।’ त्यो पनि गलकोटेहरु भारतीय सेनामा भर्ती हुने र आउने जाने समयमा बुटवलदेखि सामान ल्याउने क्रमले मात्रै केही आयात देखिन्थ्यो ।
‘औल बिग्रे लेकले, लेक बिग्रे औलले बचाउँछ भन्ने सुनिन्थ्योे,’ गलकोट नगरपालिका ५ का अध्यक्ष नारायणध्वज मल्लले भने, ‘मौसम बिग्रियो भनेपनि लेक र बेसीमा एकैपटक उत्पादनमा असर पर्थेन ।’ भेडाबाख्रा, गाइभैसी पाल्ने भएकोले दूध, घिउमा पनि गलकोट पहिलेदेखि समृद्ध भएको उनी स्मरण गर्छन् । बरु बुटवलमा गएकाहरुले गलकोटको घिउ बेचेर अत्यावश्यक सामान किन्थे । नगद खर्च गर्नु पर्थेन ।गलकोटभित्रै बस्नेहरुले बस्तु विनिमय गर्थे । आलु नभएकोले धान–चामलसँग साटफेर गर्थे ।

अहिले धेरै गलकोटेहरु युरोप र जापान छन् । विदेशमा काम गरेपछि करोडौं रेमिट्यान्स भित्रिएको छ । तर, त्यो रेमिट्यान्स गलकोट बनाउन खर्च भएको छैन । काठमाडांै, चितवन, बुटवल र पोखराका खडेरी, आर्कषक फेन्सीमा लगानी बढेको छ । मोजमस्ती, ऐसआराममा सबै लगानी डुबेको पूर्व शिक्षक टंक केसी बताउँछन् । भन्छन्, ‘मोजमस्तीले गलकोटको अस्तित्व लुटिसकेको छ ।’
लेकको बसाइँ सबै हटिया र हरिचौर तथा राजमार्ग छेउका फाँटमा सरेको छ । जसका कारण उत्पादन घटेर शून्यजस्तै भइसक्यो । अब गलकोटमा खानेसबै वस्तु तराई र भारतबाट आउन थालेको छ । ‘पहिला पनि केही सामान तराईबाट आएकै थियो, घोडा खच्चडमा भित्रिन्थ्यो,’ केसीले भने, ‘अहिले त खेतबारी बाँझियो, किनेर खाने, रमाउनेमात्रै छ ।’ गलकोटको मौलिक उत्पादन लोप भएको उनले बताए ।

गलकोटको नाम

गलकोट चौबिसे राज्यमा पथ्र्यो । राजाहरुको बसाइँ अहिलेको सियाला भन्ने स्थानमा थियो । उनीहरुको कोत रहेको स्थान गोलो थियो । त्यसैले गोलो कोत भन्ने गरिन्थ्यो । गोलोकोत अपभ्रंश हुँदै गोलकोत र पछि गलकोट भएको ऐतिहासिक दस्जावेजमा उल्लेख भएको बताउँछन्,डा. दिनबहादुर थापा ।
‘राजा रजौटा भएको स्थानमा कोत घर हुने गर्छ, सियालाको कोतघर पनि त्यसकै उदाहरण हो,’ थापा भन्छन्, ‘त्यसैले अहिले पनि कोतघर संरक्षणको अभिायन चलेको छ ।’ राजा भएको स्थानमा सेना हुने र उनीहरुको हातहतियार राख्ने स्थान कोतघर हो । यहाँको कोतघरमा अहिले पनि पुराना हतियार संरक्षित छन् । त्यतिले नपुगेर अजंगका खुकुरी र खुँडा बनाएर कोतघरमा राखिएको छ ।

कोतघरसँगैको कालिका मन्दिरमा गलकोटका सबै क्षेत्रबाट मानिसहरु पूजा गर्न पुग्ने गरेको उनले बताए । अहिलेपनि चैतेदशैं र बडादशैंमा कोतघरमा बली चढाउने, पूजा तथा मेला समेत लाग्ने गरेको छ ।
कोतघरबाट राजाका परिवार बिस्तारै बसाइँ सरेको इतिहास छ । उनीहरु हटिया नजिकैको रजना भन्ने स्थानमा झरेर केही समय बिताएपछि फेरिश्रद्धाखेतमा बसाइँ सरेको उल्लेख छ ।
विसं १९९० सालमा गलकोटका अन्तिम राजा भरतबम मल्लले हालको हरिचौर बजारमा रहेको गलकोट दरबार बनाएर सरेको लिखित इतिहास छ ।भरतबम मल्ल आफंैले राजगद्दी त्याग्ने राजासमेत हुन् । उनले २००७ को आन्दोलनमा कांग्रेस राजनीतिमा होमिएर राजगद्दी त्यागेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे बताउँछन् ।

त्यसो त राजा हटेर रजौटाको रुपमा मात्रै भएकोले केही तिरो उठाउने, केही प्रशासनिक सम्मान र सेवा सुविधा भने उनीहरले पाइरहेकै थिए । २०१५ सालको निर्वाचनमा निर्वाचन क्षेत्र नं. ८६ बाट कांग्रेसको उमेदवार भएर भरतबम निर्वाचित भए । नेपालको पहिलो संसदमा मल्लले राजारजौटा हटाउने सार्वजनिक प्रस्ताव दर्ता गरेका थिए । त्यसपछि गलकोटबाट औपचारिक राजारजौटाको अन्त्य भएको इतिहास छ ।
यी सबै क्रियाकलापले गलकोट एकीकृत स्थान हो भन्ने पुष्टि गर्छ । आधुनिक गलकोटमा पनि भौगोलिक, सांस्कृतिक र सांगीतिक एकता भने कायमै छ । उत्पादन भने बिर्सेका गलकोटेको विरासत भने बेलाबेला झल्किन्छ । त्यसैले जापान, युरोप र अमेरिकासम्म पुगेर गलकोट समाज निर्माण भएका छन् ।
‘उनीहरुले विदेशबाटै भएपनि सामाजिक सेवा गरिरहेका छन् । मौलिक कला, उत्पादन र संस्कार बिर्सेपनि भौतिक रुपमा लगानी गर्न भने गलकोटे अझै अगाडि छन्,’ भन्छन् घुम्टे युवा परिवारका अध्यक्ष थमन थापा । विद्यालय, स्वास्थ्य संस्था र पूर्वाधार बिकासमा समेत विदेशबाट चन्दा संकलन हुने गरेको हो ।

संस्कृति

गलकोटमा बाहुन,क्षेत्री, मगर र दलित सबै समुदायको बसोबास छ । देशविदेश पुग्दा उनीहरुले जातजाति, भाषाभन्दा माथि उठेर गलकोटे परिचय दिन्छन् । गलकोटे भन्नासाथ गीतसंगीत, आर्थिक र सेवा सम्मानमा धनी भनेर चिनिन्छन् ।
यहाँका नेवारहरुले हाटबजार राख्ने गरेकोले हटिया नामाकरण भएको थियो । अहिले हटिया उदाउँदो सहर बन्दैछ । राजाको दरबारदेखि प्रशासनिक केन्द्र रहेकाले हरिचौरको आफ्नै महत्व छ । यहाँको कौलेनीमा खत्रीहरुको बसोबास बढी छ । मल्ममा सातसय बगाले बस्छन् । पाण्डवखानी, रिघा जस्ता स्थान दलीत र जनजाती बाहुल्यता छ । खरुवा, चमुवा क्षेत्र बाहुन बाहुल्यता छ । जो जहाँ बस्छ त्यो स्थानमा उनीहरुको कला र संस्कृति समेत छन् ।
दरमखोला
गलकोटको पहिचान दरमखोलाले दिएको छ । दरमखोला जलाधार क्षेत्रले हरिचौरदेखि रिघासम्म सिंचाइ, जलविद्युत, माछापालनलाई समेटेको छ । कलाकारले दरमखोला साछी राखेर धेरै गीत गएका छन् । गलकोटको पानी सभ्यताको प्रतीक पनि हो ।

जलाधार क्षेत्र भएकै स्थानमा सबैभन्दा पहिला मानिसको विकास भएको छ । प्रगति गरेको छ । भूगोलको अध्ययनमा पनि गलकोट सिंगो भूगोल र सांस्कृतिक एकता भएकोले सभ्यताको केन्द्र हो भन्न सकिन्छ ।
दरमखोलाको माछाले धेरैको मन जितेको छ । जापान, अस्ट्रेलिया र अमेरिका बस्ने नेपालीले दरमखोलाको माछा मगाउँछन् । ‘दरमखोलाकै असलाको सुकुटी पठाइदिनु भनेर धेरैले फोन गर्छन्,’ हटियाकी कौशिला घर्तीले भनिन्, ‘प्रतिकेजी ४ हजार ५ सय रुपैयाँमा असलाको सुकुटी पठाएकी छु ।’
दरमखोला, गौंदीखोला, ताराखोला र नरेठाँटी खोलामा चिसो पानी भएकोले स्वादिला असला माछा पाइन्छन् । गलकोट क्षेत्रमै करोडौं लगानी गरेर धेरै किसानले आफ्नै घरमा माछा पाल्न थालेका छन् ।

पर्यटन

पुरानो विरासतले गलकोटेलाई आफ्नो क्षेत्र पर्यटकीय गन्तव्य बनाउन उक्साएको छ । गाईघाट, सहश्रधारा झरना, कोतघर, घुम्टेसहित टेउवा पर्यटक लोभ्याउने गन्तव्य बनेका छन् ।
११ देशका कलाकारले मुर्ति कुदेर टेउवामा राखेपछि कलाकारिताको गन्तव्य बनेको छ । ऐतिहासिक दरबार देखाएर फोटो खिचाउने पर्यटक पनि उत्तिकै छन् ।मध्यपहाडी लोकमार्गले गलकोटलाई सुगम बनाइदिएको छ ।
त्यसैले ट्याक्सी लिएर गलकोट घुम्न जानेको कमी छैन । पछिल्लो दशकमा गलकोटमा दर्जनौं होटल बनेका छन् । पाण्डवखानी र रिघामा मगर समुदायले देखाउने सांस्कृतिक प्रर्दशन, सिद्ध बराह, रिघाको बौद्ध गुम्बाले पर्यटक लोभ्याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->