बागलुङ/ बागलुङमा बर्खे आलु धमाधम कुहिन थालेपछि किसान चिन्तित बनेका छन् । आलुको राम्रो उत्पादन हुने क्षेत्रमा फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेको हो ।
जिल्लाको ताराखोला, भकूण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा लगायतका क्षेत्रमा फलेको आलु औषतभन्दा धेरै कुहिन थालेको छ । ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुसमेत कुहिन थालेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
आलुको भण्डारण राम्रो नहुँदा किसानले फलाएको आलु कुहिन थालेको हो । शितभण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताए । उपल्लो दमेकका अधिकांश किसानको मुख्य खेती नै आलु हो ।
‘प्रत्येक घरले कम्तिमा २० देखि ३० मुरीसम्म आलु उब्जाऊ गर्छन, यो वर्ष त्रिलोचन सापकोेटाले ८० मुरी आलु उत्पादन गरे’ छन्त्यालले भने ‘आलु उत्पादन राम्रो भएपनि व्यवस्थित शितभण्डार नहुँदा कुहिन थालेको छ ।’ दमेकमा मात्रै झण्डै १० टन आलु कुहिएपछि किसानले खाडल खनेर गाडेका छन् । आलु कुहिएपछि किसानलाई दैनिक गुजारा चलाउन कठिन हुने छन्त्यालले बताए ।
भकुण्डेको आलु पनि विगतमा भन्दा यस बर्ष धेरै कुहिएको छ । यहाँका किसानले बेसीका किसानसँग अन्नबाली लिएर आलुको सटही गर्छन् । केहीले आलु बिक्री गरेर अन्न भित्राउँछन् । ‘यसबर्ष आलु धेरै नै कुहियो’ किसान याम बहादुर थापाले भने ‘हाम्रो त मुख्य पेशानै यहीं हो, आलु बिग्रिए छाक टर्दैन् ।’ आलुसँग कोदो, मकै, गहुँ, धान साटेर परिवार पाल्ने किसान आलु कुहिएपछि समस्यामा परेको बताउँछन् ।
वर्षा धेरै हुँदा आलु खेतीमा क्षति व्यहोर्नु परेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए । ‘पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउनुहुन्न्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ’ भट्टराईले भने ‘वर्षा धेरै हुँदा पानी तर्काउनु पर्ने हो, किसानलाई सबै ज्ञान दिन सकिएको छैन् ।’ फसल लिएपछि भण्डारणमा त्रुटी हुँदा पनि आलु कुहिने गरेको भट्टराई बताउँछन् ।
छायाँ पर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डारण गर्दा क्षति हुने सम्भावना कम हुने उनले सुझाए । ‘अघिल्लो बर्ष डढुवा रोग लागेको आलुको बिउँ लगाउँदा आलु कुहिन्छ’ उनी भन्छन् ‘किसानले त्यो कुरा ख्याल गर्नुभएन्, त्यसैले जिल्लाभर समस्या छ ।’ शितभण्डार नहुँदा पनि किसानको बाली धेरै क्षति हुने गरेको उनले सुनाए ।
किसानको आलुबालीमा भएको क्षतिका बिषयमा जैमिनी नगरपालिकाका कृषि शाखाले चासो देखाएको छ । ‘शित भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राबिधिक त्रुटीहरु होलान’ कृषि प्राबिधिक रविन्द्र शर्मा भन्छन् ‘पकेट क्षेत्रमा शिलभण्डार निर्माणका लागि प्रस्ताव पठाएका छौं, स्वीकृत भएमा अर्को बर्ष शितभण्डार बन्छ ।’ संघ, प्रदेश र पालिकाको साझेदारीमा शितभण्डार निर्माण गर्ने गरि प्रस्ताव तयार भएको उनले बताए ।





