बागलुङ/ गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । जसका कारण किसानको खेतबारी अहिले हरियाली भएको छ ।
बर्षात्को कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन् । बागलुङका अधिकांश किसानले असारभित्रै सबै खेतमा धान रोपेका थिए । भदौ लाग्दा खेतमा धमाधम धान गोड्नेको लहर देखिएको छ । समयमा धान रोपेकोले यतिबेला गोड्ने बेलासमेत भइसकेको छ । निरन्तर बर्षात्ले धानको उत्पादनसमेत बढ्ने गरी रोपाइँ राम्रो देखिएको किसानले बताए ।
भदौको पहिलो सातासम्म दैनिकजसो बर्षात् भएकोले धान राम्रो भएको बागलुङ नगरपालिका ३ का जंगबहादुर कार्कीले बताए । ‘पानी निरन्तर परेको छ, त्यसैले धान राम्रो बढेको छ, यो वर्ष उत्पादन पनि बढ्ने आश लागेको छ,’ उनले भने, ‘निरन्तर बर्षात् भएकोले सिँचाइ सुविधा पुगेको छ ।’
खेतमा पानी लगाउने भन्दै धाउनै नपरेको उनले बताए । बागलुङको काठेखोला जलाधार क्षेत्रमा खहरे, अक्षेते र गौडाकोट क्षेत्रमा बढी धान रोपिन्छ । दरमखोला जलाधार क्षेत्रको हटिया, हरिचौर, मल्म, काँडेवास र रिघा बढी उत्पादनको क्षेत्र हुन् ।
यो वर्ष बडिगाड गाउँपालिकाको ग्वालीचौर, खरवाङ र खार क्षेत्रमा पनि धानखेती राम्रो भएको छ । निसीखोलाका सबै फाँट, ढोरपाटन नगरपालिका, बागलुङको बलेवा, जैमिनी समेतमा धान उत्पादन बढ्ने संभावना देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले बताए । भट्टराईका अनुसार बागलुङमा ७ हजार ५ सय हेक्टर जमिनमा धान रोपाइ हुने गरेको छ । बर्षात्ले साथ दिएकोले सबै जमिनमा धान सपे्रको उनले बताए ।
गत बर्षभन्दा यो वर्ष छिटो रोपाइँ भएकोले उत्पादन १० देखि २० प्रतिशत बढी उनले प्रक्षेपण गरे । राम्रो उत्पादन हुँदा प्रतिहेक्टर ३ मेट्रिकटन धान फल्ने गरेको तथ्यांक छ । उनका अनुसार बागलुङमा २२ हजार ५ सय मेट्रिकटन धान फल्ने अनुमान छ । ‘अनुकल मौसममा किसानको १० देखि २० प्रतिशत धान उत्पादन बढ्ने गरेको छ, यो वर्ष बढ्ने गरी पानी परेको छ,’ उनले भने, ‘छिटो रोपेकोले हिउँदे बालीका लागि पनि किसानलाई सहयोग मिल्नेछ ।’
समयमा धान रोपेर छिटो थन्क्याउन पाउँदा किसानले ३ खेती लगाउन पाउने गरेको गलकोट नगरपालिका ७ का टोपबहादुर थापाले बताए । गत वर्ष भने मनसुन कमजोर भएकोले ढिलो रोपाइँ भएको थियो । ढिलो रोपाइँ भएपछि उत्पादनसमेत घटेको थियो । कोरोना संक्रमणले खेताला समेत पाएका थिएनन् । यो वर्ष समयमै काम भएकोले सामाजिक दूरी कायम गर्ने, मास्क लगाएर काम गर्ने कारणले समयमा काम भएको कार्कीले बताए ।





