बागलुङ/ सदरमुकामदेखि अक्षेते र सिगाना हुँदै गाजादह, बरेङ, शान्तिपुर जोड्ने सडकको प्रवेशद्वारमै जिप मात्रै छिर्न सक्ने अवस्थाको छ ।
देउराली चोकबाट गाडी छिर्न नसकेपछि सिगानातर्फको सडक कालोपत्रे भएपनि ठूला गाडी लिएर जान सक्ने अवस्था छैन । सिगानातर्फ जानुपर्ने केही ठूला गाडीले पनि खहरे पुगेर घुम्दै ओखलढुंगा पुल पुग्छन् । तर त्यहीं खण्डमा पनि अर्को सवारी आएमा साइट दिने ठाउँ समेत छैन ।
बागलुङ नगरपालिकाले भने १२ देखि १५ मीटरको सडक बनाउने मापदण्ड बनाएको छ । पुराना सडक ६ मीटरसमेत नभएकोले मापदण्ड लागू गर्न कठिन भएको नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले बताए । बस्ती नभएको र भूगोलले साथ दिएको स्थानमा भने मापदण्ड अनुसारको सडक बनाउने काम भएको उनले बताए ।
चाहेर पनि कतिपय स्थनमा मापदण्ड लागू गर्न नसकिएको उनले स्वीकार्य । नगरपालिकाले कडा नियम बनाउन नसक्दा कार्यान्वयनमा कठिन भएको प्राविधिकको भनाई छ । नगरभित्रकै अधिकांस ग्रामीण सडक पनि साँघुरा छन् । लोकमार्गको मुलपानीदेखि काप्रेतर्फ जाने सडक, पुरानो नगरभित्रको चक्रपथसमेत मापदण्डका छैनन् । ‘पुराना सबै साँघुरा छन्, नयाँ सडक चौडा बनाउन कसरी सकिन्छ र’ वडा नं. १२ का अध्यक्ष गुरुदत्त पाठकले भने, ‘यिनका बजारीया सडकभन्दा हाम्रो गाउँका चौडा छन् ।’ जनताको घरखेत जोखिममा पारेर भने चौडा सडक बनाएर काम नभएको उनले बताए ।
गलकोटमा पनि यो समस्या बढी छ । ताराखोलाहुँदै म्याग्दीको रुमसम्म जोड्ने रणनीतिक सडकमा सूचिकृत भएर पनि सडक साँघुरै छन् । हटिया बजारदेखि हरिचौरहुँदै जाने सडकमा पुल छेवैमा साँघुरो छ । ‘बस लैजानु परेमा पुलबाटै गाडी घुम्दैन, त्यसैले चौडा पार्न खोजेका छौं’ वडा नं. ६ का अध्यक्ष नरबहादुर खत्रीले भने, ‘भित्री सडकभन्दा मुख्य सडक साँघुरो हुने गरी कतिपय संरचना बनेका छन् ।’ पुल छेउदेखि नगरपालिका कार्यालय रहेकै फाँटमा पनि मापदण्डको ख्यालै नगरी धमाधम घर बन्न थालेको उनले बताए ।
नगरपालिकाले नक्सापास गरेर मात्रै घर बनाउन पाउने व्यवस्था गरेपनि कतिपयले घर बनाएपछि मात्रै नक्साको खोजी गर्छन् । कतिपयले अग्ला घर बनाइरहेका छन् । ‘सडक मापदण्डबारे निर्णय भएपछि फिल्डमा केही कमजोरी छन्’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘नियमन र मापदण्डमा कडाइ हुनेछ ।’ मुख्य सडकहरुमा मापदण्ड कडाइ गरिने उनले बताए । गाडी नै छिर्न नसक्ने गरी घर बनाउन नदिने उनले बताए । भैसेदेखि हरिचौर आउने सडक पनि साँघुरो छ । चौडा पार्ने काम भएको छैन । बिच बिचमा केही घर बनिसकेका छन् ।





