बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बिरानो लाग्ने शहर !

बिरानो लाग्ने शहर !

शहरमा चिल्ला गाडी हुइँकिन्छन्,सपना बोकेर आउनेहरु भागदौड गर्छन्, रोजगारी खोज्नेहरुले श्रम बेच्छन् अनि मै हूँ भन्नेहरुले औकात देखाउँछन् । तर,यही शहरमा आफन्तबाटै हेपिएका,सहारा गुमाएकाहरुले श्रम बेच्छन्,जीवनयापनसँगै जीवनको धागो तन्काउँछन् ।


  • दिवस गुरुङ
  • भाद्र १४ २०७८, सोमबार

रातभर दर्केको पानी केही ओभाएको थियो । भुइँको चिस्यान भने अझै बाँकी नै थियो ।मध्यान्न १२ बजेको हुँदो हो । पोखरा एयरपोर्ट पछाडिको माउन्टेन म्युजिम जाने सडक छ । त्यहीसडक छेउ बोराले छाएको एउटा सानो अस्थायी टहराले नजर तान्यो । टहराभित्र टुसुक्क बसेकी थिइन्–एउटा बूढीआमा । उनी अगाडि सिमेन्ट मोल्ने कराइ थियो । उनी३–४ वटा दाउरा ठोसेर आगो बाल्ने तर्खरमा थिइन् । रातभर दर्केको पानीले दाउरा भिजेको हुनुपर्छ, आगो बलेन । बरु धुवाँको मुस्लो पो वरिपरिमडारिन थाल्यो ।
सकी–नसकी ढुम्रोले आगो फुक्ने प्रयास गरिन्। सास फूल्यो,सायद ! स्याँ स्याँको आवाज धुवाँसँगै मिसिएकोबाहिरै पुग्यो। केही मिनेटको अथक प्रयासपछि बल्लआगोको ज्वाला दन्किन थाल्यो । बाक्लो चस्माको फ्रेमभित्रबाट उनी एकनजर कुनातिर डुलाइन् । त्यहाँ रहेको बोराबाट दुई चार वटा हरिया मकैका घोगाहरु निकालिन् । कराइमाथि राखिन् । प्लाइको टुक्राले धुँवा हम्काइन् । चिम्टाले मकै ओल्टाइपोल्टाइन् । बिस्तारै आगाको रापलेमकै पाक्न थाल्यो ।
उनीकिन्न आउनेहरुलाई टिमुरको अचारसहित मकैको घोगा दिन्थिन। जिब्रोमै गड्ने अचार भएर होला,खानेहरुजिब्रो पड्काउँथे। प्रत्येक घोगाको चालीस रुपैँया दिन्थे अनि बाटो लाग्थे ।

दिवश गुरुङ
उनको दैनिकी नै उही । बिहान खाना खाएपछि सधैं यहीँ आउँछिन् । दिनभर उहीँ काम, धुवाँ पुत्याउने, मकै पोल्ने ।डेरा फर्कने समय त साँझको सात बजे मात्र । यसैबाट आउने पैसाले जेनतेन डेराको भाडा तिर्छिन्, औषधि उपचार गछिन् अनि घरखर्ची यसैबाट धान्छिन् । जेनतेन एउटा ज्यानलाई चलेको छ, आजको दिनसम्म । तर, त्यति सहज कहाँ छ र ? धुँवाले सास फेर्न कठिनाइ पार्दछ, दम बढेर आउँछ तर धुँवासँगै नखेली कहाँ बल्छ र साँझ बिहानको चुलो ?
‘हाम्रो गाउँतिर त गोरु जोत्दा मकै र अन्य खेतीपाती खान्छन् भनेर मुखमा कोर्को लाउने गरिन्थ्यो । अहिले हेर सबैले थुतुनो दिनभर ढाकेर हिँड्नुपर्ने जुग आयो । मान्छे अधर्मी भए । पापी बढे, लोभले संसार ढाक्यो । यसैको बदलामा मान्छे सिध्याउने खेल हो भगवानको ।अरु केही हैन,’ कोभिड महामारीबारे उनी बोल्न थालिन् । पहिलो कोरोना लहरमा महिनौं उनी कोठाभित्र थुनिइन् । न मकै बेच्न पाइन्, न भयो दुई–चार पैसाको आम्दानी नै । घरखर्ची चल्न धौधौ भएको थियो । त्यसैले उनी लकडाउन सामान्य नहुँदानहुँदै पनि उही दैनिकीमा फर्किएकी थिइन् । अर्थात् उनी मकै पोल्न थालेकी थिइन् ।
लकडाउनमा बाहिर निस्किएर मकै पोलेर बेच्दा पुलिसहरुले केही भनेनन् आमा ? प्रत्युत्तरमा भनिन्, ‘आउँथे नि गाडीमा पुलिसहरु । एकछिन हेर्थे, मकै पोलेको आमा, भन्थे अनि जान्थे । कहिले म मकै पोलेर नि दिन्थँे। आफ्नै सन्तानहरुझैं लाग्छन्, उनीहरु पनि । उनीहरुलाई नि दुःखै छ नि बरा । हाम्रैलागि त दिनरात आफ्नै ज्यानको बाजी राखेर खटिरहेका छन् नि ।’
जन्म घर उनको तेह्रथुम । जन्मेको केही महिनामै आमा बितिन् । आमाको माया र प्रेम उनले अनुभव त के स्पर्शसमेत गर्न पाइनन् । केही महिनामै रुखबाट लडेर बा पनि बितेछन् । अनि टुहरी बनिन् । त्यतैतिरका लिम्बु परिवारको पालनपोषणले हुर्किइन् ।समय बित्दै गयो ।उमेर पुगेपछि उनको बिहे भयो । समयले डोहो¥याउँदै उनलाई पोखरासम्म ल्याइपु¥यायो । छोराछोरी जन्मे, हुर्के र आ–आफ्नै बाटो ततेरे । एकमात्र सहारा श्रीमान बितेको पनि दशक भइसक्यो । अनि फेरि उनी एक्लै भइन् ।
‘छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाइँलाई । आखिर जीवन त एक्लै पो काट्नु पर्ने रहेछ । नातिनातिनाहरुले पनि बिहे गरिसके होलान् । तर, कहिल्यै एकपल्ट आमा भनेर कोही बोलाउनसमेत आएनन् । वा, बोलाउन जरुरी ठानेनन् । उनीहरु पनि एकदिन मजस्तै बूढाबूढी हुन्छन्, असक्त हुन्छन् भन्ने सत्यता उनीहरुले बुझेनन्’ यति भनिरहँदा उनका आँखाहरु रसाएका थिए ।
उनलाई आजकल साथ दिने उनको त्यही सुनसान डेरावाला कोठा न हो । एयरपोर्ट पछाडि सानो कोठा लिएर बसेकी छिन् । महिनाको पाँचवटा हजार घरबेटीलाई बुझाउछिन् । औषधिमुलो खर्च पनि त्यस्तै हुन आउँछ । एक जनालाई भएपनि बिहान–बेलुका चुलो त बाल्नै पर्ने । धन्न अहिलेसम्म जेनतेन चलिरहेछ जिन्दगी । कुन दिन रोगले थला पर्ने हो, त्यही न हो डर । महत्वाकांक्षी सपना छैनन् । बस, बिहान बेलुकाको चुँलो बलोस् कोठामा ।
‘शहर मान्छे नै मान्छेले भरिइसके । धान फल्ने फाँटमा घर फलाइसके, अनि फलाए कौसीमा तरकारी । सारा शहर यसरी सम्पत्ति, सम्मान र पैसाको यति भोगी भइसकेको छ कि मानवता विलीन हुँदै गइरहेको कसैलाई थाहा पत्तै छैन । लाग्छ, मृत शहर बनिसक्यो पोखरा,’ मनको कुन्ठा पोख्छिन् उनी ।
शहर महंगीले आकाशिएको छ । उनी दश वर्षअघि तरकारी बेच्थिन् । एक मुठा सागको ३ र फर्सीको मुन्टा २ रुपैयाँमा बेचेको सम्झना छ उनलाई । आजकल त्यहीँ साग वा फर्सी सयभन्दा घटीमा पाइँदैन । ‘आजकलका मान्छे कतिसम्म लोभी भएका हुन् । अति गर्नु, अत्याचार नगर्नु । जे कुरामा पनि मनपरि महंगी गराएको छ । यसरी अरुलाई अत्याचार गरेर कमाएकालाई त किन बाघले खान्छ, कि आगाले,’ उनले थपिन् ।
आफ्नै ज्यान भारी लाग्छ उनलाई, कहाँ बोक्न सक्नु बोराभरिको हरिया मकै । त्यसैलेहरेक बिहान तरकारी मन्डीबाट बोराभरि हरिया मकै मगाउँछिन् । यता,नजिकैको काठ मिलबाट केही दाउरा ल्याउँछिन् । अनि सुरु हुन्छ उनको व्यापार ।
दिनको व्यापार खुबै भए सात आठ सय रुपैँया । कति त भोलि ल्याइदिन्छु भनेर फर्केरै नआएका सम्झनाहरु छन्, उनीसँग । तर, उनमा पैसा नतिरी जानेहरुसँग कुनै गुनासो छैन । ‘नभएरै दिएनन् होला वा पैसा ल्याउन बिर्से होलान् । म बूढीको पसिना खाएर पुग्छ भने पुगोस् उनीहरुलाई,’ उनी भन्छिन् ।
सोचेजस्तो सहज त कहाँ छ र त्यहीँ पैसा कमाउन ? गर्मीमा खलखली पसिना, अनि जाडोमा कटकटी घुडाहरु खान्छन् । यति सहेरै त जेनतेन बलेको छ –उनको बिहान बेलुकाको चुल्हो । उमेरले ८८ पुगिन् । नब्बे सालको भूकम्प जाँदा १० महिनाकी थिइन् रे ! रसिला मकै र चोपिलो चट्नी सिध्याएर बिदा माग्दै गर्दा सोधेँे, ‘आमा, तपाईको नाम के नि ?’ । मुसुक्क मुस्कुराउँदै जवाफ दिइन्, ‘सहारा । सबैको सहारा । मकै पोलेर सबैको पेट भराउने सहारा ।’लाग्छ,उनलाई आफू एक्लिएको थाहापत्तो छैन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->