दक्षिण जोड्ने सबै सडक बर्षा, बाढी र पहिरोका कारण अवरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुंगे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याउँदै आएका छन् ।
बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका खाद्यान्न व्यवसायी अशोक आचार्यले शनिबार दिनभर कुश्मा–कैया झोलुंगे पुलको बाटो खाद्यान्न ओसारे । कैयातर्फ रहेको पिकअप भ्यान नभरिने बेलासम्म आचार्यले नुनतेल, चामल र दैनिक उपभोग्य बस्तु बोकेर पुलमा ओहोरदोहोर गरिरहे । आफूसँगै केही मजदुरहरु लगाएर कुश्माबाट कैया पु¥याइएका सामान कैयादेखि भने सवारीले नै बोक्ने गरेका छन् ।
सडक सञ्जाल टुटेको जिल्लाको दक्षिणी बजार शेरा बजारमा भरियाको भरमा कालीगण्डकी तारेर केही दिनयता नुनतेल पु¥याइएको छ । असार १ गतेको भारी बर्षापछि बागलुङ नगरपालिका १० को एक्लेसालमा गएको पहिरोले बागलुङ कुश्मीशेरा सडक बगायो । सोही दिन पहिरोको शिकार बनेको कालिगण्डकी करिडोर पनि राम्रोसँग मर्मत भएको छैन् । दक्षिण जोड्ने सबै सडक बर्षा, बाढी र पहिरोका कारण अबरुद्ध भएपछि कुश्मा–कैया अग्लो झोलुंगे पुलमा भरिया लगाएर व्यवसायीले बजारमा खाद्यान्न पु¥याएका हुन् ।
आचार्यमात्रै होइन, दक्षिण क्षेत्रका बजारमा खाद्यान्न ढुवानी गर्ने सबै व्यवसायीले अग्लो पुल तारेर गाउँमा सामग्री पु¥यारहेका छन् । लामो समय सडक सुचारु नहुँदा व्यवसायी र उपभोक्ता सबैलाई मार परेको जैमिनी नगरपालिका ९ का व्यवसायी राजु शर्मा बताउँछन् ।
करिडोरमा खसिरहने पहिरो र बागलुङ कुश्मीशेरा सडक बन्द हुँदा सदरमुकामसँग सडक सम्पर्क टुटेपनि पर्वतको मुकामसँग दक्षिणले सम्पर्क राख्ने गरेको छ । आफ्नै जिल्ला मुकाम जाने बाटो छैन, समयमा सडक मर्मत गर्न नसक्दा छिमेकी जिल्लाको घुमाउरो बाटोहुँदै मुकाम पुग्नु परेको जैमिनी चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु आचार्यले गुनासो सुनाए ।
सडक नभएकै कारण यहाँका किसानले उत्पादन गर्ने दैनिक २ हजार लिटर दुध महंगो भाडा तिरेर यान्त्रिक पुलको बाटो कुश्मा पु¥याउने गरिएको छ । पुल तारेर ल्याइएको खाद्यान्न र यान्त्रिक पुल तरेर बजार पुग्ने दुध दुवैको मूल्य महंगो पर्ने उपभोक्ताको गुनासो छ ।
सरोकारवाला निकायले भने करिडोरमा पहिरो झरिरहने भएका कारण मर्मत भएपनि सामान्य बर्षा हुँदा समेत रोकिन गरेको बताउँछन् । बागलुङ कुश्मीशेरा सडकको बेसनै नरहने गरी पहिरोले बगाएकाले हिउँद लागेपछि मात्रै सडक मर्मत गर्न सकिने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।





