बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङमा विद्यालय खोल्ने तयारी

बागलुङमा विद्यालय खोल्ने तयारी


  • ढोरपाटन संबाददाता
  • भाद्र २४ २०७८, बिहिबार

‘बिद्यालय पुरै खोल्दा पनि बालबालिकाले एकदुई कोठा पनि भरिँदैनन् । सामाजिक दुरी कायम गर्ने, सरसफाइको मापदण्ड पालना गर्नेगरी पढाउन सकिन्छ ।

बागलुङ/ बागलुङ नगरपालिका–६ को भगवती प्राविमा २० जना विद्यार्थी पनि छैनन् । तर महिनौदेखि कोरोना संक्रमणको जोखिम भन्दै कक्षा संचालन भएको छैन । सिम्ले, खहरे र ल्वाङ गाउँ जस्ता बिद्यालयमा पनि न्युन विद्यार्थी छन् ।

कोरोना संक्रमण, निशेधाज्ञा जस्ता कारणले यहाँका बिद्यार्थीले कक्षा कोठामा गएर पढ्न सकेका छैनन् । अनलाइन कक्षामा पनि उनीहरुको पहुँच छैन । दुइ बर्षदेखि ती क्षेत्रका बालबालिकाको शैक्षिक स्थिति नाजुक बन्दै गएको छ ।

बागलुङ नगरपालिका शिक्षा शाखाका प्रमुख धनप्रसाद पोखरेलका अनुसार नगरभित्रका ८० बिद्यालयमध्ये ४० वटामा ७ देखि ४० जना मात्रै बिद्यार्थी छन् । उनीहरुमध्ये अधिकांस बालबालिकाको इन्टरनेटमा पहुँच छैन । दलीत, बिपन्न र मजदुरका बालबालिकाले इन्टरनेट सेवा नपाएका हुन् । अनलाइन विधिबाट पढाउने कुरा उनीहरुको लागि बढी सकस बनिरहेको छ ।

‘शिक्षा समितिको बैठकमा पनि मैले यो कुरा राखेको थिए, तर सुनुवाइ भएन’ पोखरेलले भने, ‘नगरक्षेत्रमा कोरोनाका कारण एक जनाको मृत्यु भएको भन्दै अझै रेड जोनबाट हटाइएको छैन ।’ स्वास्थ्य शाखाले रेड जोन भनिदिएपछि शिक्षा शाखा बोल्नै नसकेको उनले बताए । स्वास्थ्य शाखाको तथ्यांक र विवरण अनुसार नगर शिक्षा अधिकारी, नगर प्रमुख लगायतले निर्णय लिने गरेको उनको टिप्पणी छ । ‘बिद्यालय पुरै खोल्दा पनि बालबालिकाले एकदुई कोठा पनि भरिंदैनन् । सामाजिक दुरी कायम गर्ने, सरसफाइको मापदण्ड पालना गर्नेगरी पढाउन सकिने भन्दै उनले बिद्यालय खोल्न प्रयास गरिरहेको बताए ।

तीजपछि बिद्यालय खुलाउने बिषयमा बैठक बसेर निर्णय गर्ने पोखरेलले बताए । धेरै बिद्यार्थी संख्या भएका केही बिद्यालयमा भने दुइ सिफ्टबाट कक्षा चलाउन सकिने उनको भनाई छ ।

अभिभावकले पनि बालबालिकाले सिक्न नसकेको गुनासो गरेका छन् । ‘अनलाइन कक्षाबाट ठूलो कक्षाका बिद्यार्थीले केही सिकेका छन्, तर साना नानीले केही पनि बुझेनन्’ बागलुङ नगरपालिका–२ की दिलकुमारी पुनले भनिन्, ‘अनलाइन कक्षा पढेको भन्ने मात्रै छ, सिकाइ केहीपनि छैन ।’ कक्षा कोठामा पढ्दा बालबालिकाले लेख्न र पढ्न धेरै जानेको उनले बताइन् ।

सरकारले काठमाण्डौ उपत्यकाका सामुदायिक बिद्यालय असोज १ गतेदेखि खोल्ने निर्णयपछि देशभरका पालिका तहमा आफ्नो क्षेत्रको विश्लेषण गरेर खुलाउने प्रयास सुरु भएको छ । तर बागलुङमा अझै यो बारेमा कुनै प्रयास नभएको हो । अन्य पालिका तहमा पनि अझै ठोस निर्णय आएको छैन । निर्णय अभावमा अभिभावक अन्यौलमा छन् ।

अनलाइन जोडिएकै छैन भन्छन्, बानपा–१४ का धु्रब परियार । शिक्षकहरु आफ्नै काममा व्यस्त भैरहेको भन्दै कक्षा कोठामा पढाउने व्यवस्था नभएसम्म प्रभावकारी पढाइ नहुने उनले टिप्पणी गरे । केही दिनअघिनै बागलुङ शिक्षा बिकास तथा समन्वय इकाइले ४० प्रतिशत बालबालिका अनलाइन कक्षाको पहुँच बाहिर भएको अध्ययन सार्वजनिक गरेको थियो ।

निजी बिद्यालयले भने अनिवार्य अनलाइन कक्षा भनेर संचालन गरिरहेका छन् । तर अनलाइन कक्षा चलाउँदा शुल्क पुरै नउठेको भन्दै कक्षा संचालनकै माग गरिरहेका छन् । दैनिक २ घण्टाको अनलाइन चलाएर भर्ना र पुरै शुल्क लिएको अभिभावकले गुनासो गरेका छन् ।
स्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा कोरोनाका एक सयभन्दा कम संख्यामा सक्रिय संक्रमित छन् । गत बैसाख ४ गते नारायणस्थानमा एकैपटक ४० जनाभन्दा धेरै संक्रमित देखिएपछि बागलुङमा निशेधाज्ञा सुरु भएको थियो । अहिले जिल्लाका अधिकांस वडा ग्रिनजोनमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->