बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुई वर्षभित्रै बरेङमा कालोपत्रे बाटो

दुई वर्षभित्रै बरेङमा कालोपत्रे बाटो


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७८, मंगलबार

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरु भएको हो ।

बागलुङ/ सदरमुकामबाट भौगोलिक हिसाबले नजिकै भएपनि सडक विकासका दृष्टिले टाढा रहेको गाउँपालिकाको हो बरेङ गाउँपालिका । २०६३ सालमा पहिलोपटक छिमेकी जिल्ला गुल्मी हुँदै कच्ची सडक बरेङ पुगेको थियो ।
गुल्मीको शान्तिपुरबाट सातदोबाटोहुँदै बरेङ कच्ची सडक पुग्दा गाउँमै सवारी देखेका बरेङबासीले अब भने कालोपत्रे सडकको सपना देख्न थालेका छन् । आफ्नै जिल्ला सदरमुकाम बागलुङ बजार र गण्डकी प्रदेश मुकाम पोखरा पुग्ने सडकसँग जोडिने गरी बरेङले अबको २ वर्षमा कालोपत्रे सडक पाउने छ ।

एसियाली विकास बैंकले नामाकरण गरेको बागलुङ–कमुश्मीशेरा–बरेङ–शन्तिपुर सडकखण्डअन्र्तगत विभिन्न खण्डमा कालोपत्रेका लागि विनियोजित योजना बरेङका सपना हुन् । ‘एसियाली विकास बैंक हाम्रोसम्म आई नै पुगेन, कुश्मीशेरासम्म विस्तार भएको बाटोले केही आशा भने जगाएको थियो,’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘अहिले यही सडक कालोपत्रेको योजना विनियोजन भएर काम सुरु भएको छ, हाम्रो लागि खुसीको कुरा हो ।’
यो सडकखण्डअन्र्तगत बागलुङ नगरपालिका १३ को पाग्जादेखि टाकुरीसम्म १० किलोमिटर र जैमिनी नगरपालिकाको कुश्मीशेरादेखि राङ्खानी देवलधारासम्म अर्को १० किमी खण्ड कालोपत्रेको काम चलिरहेको छ । पाग्जातर्फको काम सकिएकाले निर्माण कम्पनी हस्तान्तरणको चरणमा छभने कुश्मीशेरा देवलधारासम्मको खण्डमा केही संरचना निर्माण भएका छन् ।

बरेङ पुग्नका लागि देवलधारादेखि बरेङको लिउँवा गाउँसम्म ११ किलोमिटर खण्डमा कालोपत्रे गर्न यसै बर्षदेखि काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ३४ करोड बजेट विनियोजन गरेपछि काम सुरु भएको हो । २०७८ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता गरेको पूर्र्वाधार कार्यालय बागलुङले २ वर्षमा काम सकिने जनाएको छ । पूर्वाधार कार्यालयका इञ्जिनियर श्याम प्रसाद भण्डारीका अनुसार २०८० साल असार ३० गतेसम्ममा बरेङ गाउँपालिका कालोपत्रे सडकसँग जोडिने छ ।

उक्त खण्ड कलोपत्रको जिम्मेवारी पाएको रौताहा/खानी/धुलीखेल कम्पनीले काम सुरु गरेको जनाएको छ । सडक कालोपत्रेका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधनका लागि जग्गाको खोजी भैरहेको कम्पनीले जनाएको छ । उक्त खण्ड कालोपत्रे हुँदा जैमिनी नगरपालिकाको कुश्मीशेराबाट २१ किलोमिटरको दुरीमा लिउँवा जोडिने छ भने बागलुङ बजारबाट ४२ किलोमिटर कालोपत्रे सडकमा बरेङ पुग्न सकिन्छ ।
‘अहिले आफ्नै जिल्लाको बाटोभन्दा गुल्मीको बाटो सहज भनेर हिड्नुपरेको छ,’ बरेङ ५, सुखौराकी रचना पौडेल भन्छिन्, ‘सडक कालोपत्रे भए सदरमुकामबाट छोटोबाटो घर पुगिन्थ्यो ।’ सडक फराकिलो र पक्कि हुँदा गाउँपालिकाका अन्य पूर्वाधार बिकास, स्वास्थ्यको पहुँच र स्थानीय उत्पादनको बजारीकरणमा सहज हुने गाउँपालिकाको विश्वास छ ।

प्रत्येक स्थानीय तहको मुकाम जोडने कालोपत्रे सडक बनाउने गण्डकी प्रदेशको बहुबर्षीय योजनाअन्र्तगतको काम शुरु भैसकेकोे निर्माण कम्पनीका साइड इन्चार्ज सुबेदीले बताए । हाल बरेङ बजारमा गाउँपालिकाकै स्रोत साधनको प्रयोग गरेर निर्माण गरिएको एक किलोमिटर सडक मात्रै कलोपत्रे छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->