यतिबेला स्याङ्जाली अग्रज कवि नारायणप्रसाद ज्ञवालीले सार्वजनिक गर्नुभएको कौमुदी कविता संग्रह मेरो हातमा परेको छ । सम्पादन स्याङ्जाली साहित्यिक प्रतिभा मिलन समिरको रहेको छ । जे छ, मेहनत छ । परिश्रम छ । सर्वप्रथम पुस्तकको आवरण लाई ओल्टाइ–पल्टाई हेरिरहेँ । पूर्ण चन्द्रिकाले ब्रह्माण्ड उज्यालो बनिरहेको छ । ताराहरू जुनकिरीको उज्यालोजस्तै आकासमा चमचमाइरहेका छन् । चन्द्रमाको किरणले टाढा पृथ्वीमा रहेका रूख, विरूवा र स–साना झारहरू समेत प्रदिप्त बनेका छन् । मलाइ चित्रकलाको अर्थ खोज्न कठीन लाग्छ र चित्रकलामा प्रायजसोः अनुत्तीर्ण हुन्छु । लक्षणा शब्दशक्तिमा कौमुदी– चन्द्रमाको किरणले ब्रम्हाण्ड उज्यालो बनेको छ । नेपाली साहित्यको विद्यार्थी बनेर अझै बढी अर्थ खोज्दै जाँदा पुस्तकको आवरणमा अङ्कित चित्रकला र शीर्षकले नै सम्पूर्ण पुस्तकको सार बोकेको पाएँ । मानव जीवनको सार्थकता र जीवन बोधको अनुभूति कविताका हरफहरू बोलिरहेका छन् । पुस्तक बोलिरहेको छ ।
कवि नारायणप्रसाद ज्ञवालीको शैक्षिक योग्यता र पूरै जीवन शिक्षा क्षेत्रमा दिग्दर्शन बनिसक्नुभएका अनुभवी बौद्धिक व्यक्तित्वको संग्रहभित्र विचारण गर्ने सामथ्र्य मेरो योग्यताले नछिचल्न पनि सक्छ । सामान्य अर्थमा कौमुदीको अर्थ चन्द्रमाको किरण भनेर शब्दकोशले परिभाषित गरेपनि लक्षाणार्थ कौमुदी बहुअर्थी बन्न पुगेको छ । जसरी चन्द्रमाको जगमगाहटले अन्धकार रातमा पनि चन्द्रमाको शितल प्रकाशले पृथ्वी जगमगाइरहेको हुन्छ त्यसरी नै साहित्यको साधनाले मान्छेको मनको अन्धकार हटाएर उज्यालो बनाउन सक्छ भन्ने आशय कौमुदी शीर्षकले दिएको छ । आवरणमा दुरुस्त आएको छ । कविता बोलिरहेको छ । मेरो टिप्पणी क्षमताभन्दा बढीको विषयवस्तु रहन पनि सक्छ । यो पढ्नेहरूको टिप्पणी रह्यो र बुद्धिजीविहरूको वृहत समीक्षा, त्यो आँत मसँग नहुन पनि सक्छ ।
इश्वर एउटा शक्ति हो । शक्तिको उपज नै हो मान्छे पनि । प्राणीले आफू जे छ त्यस्तै सन्तान जन्माउँछ । शक्तिले जन्मेको मान्छेभित्र शक्तिकै अंश हुन्छ । शक्तिले शक्ति जन्माउँछ । प्रत्येक मान्छेभित्र अलौकिक शक्ति हुन्छ । शक्तिको साधना गरेर मात्र मान्छे शक्तिशाली बन्नसक्छ । शक्ति चिन्न सक्नु नानी हो । कौमुदी कविता सङ्ग्रहको आवरणमा रहेको चन्द्रिकाले मान्छेको बुद्धि, विवेक र ज्ञानलाइ सङ्केत गरिरहेको छ । आकाशभरी ताराहरू चम्किरहेका छन् तर एउटा चन्द्रिकाले सम्पूर्ण ब्रमाण्डलाई उज्यालो बनाइरहेको छ । पृथ्वीमा पनि मान्छेको भीड छ । ठेलमठेल भीडमा एउटा मान्छे मात्र चन्द्रिका बन्न सके सम्पूर्ण मानवहरूको लागि पथप्रदर्शन बन्न सक्छ । हिँड्ने धेरै हुन्छन् भिडमा दिग्दर्शक एउटा हुन्छ । वास्तवमा बल्ल त्यो आँखो हो । शक्तिशाली त्यो हो जसले मनुष्यलाइ दृष्टि दिनसक्छ । सबै देखेका कुराहरू सत्य हुँदैनन् । मान्छेभित्र रहेको मुढेबललाई कविले शक्तिशाली मानेका छैनन् । महाकवि देवकोटाले लेखेका छन्– ‘हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्ठभाषी, निर्मल शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ, मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ ।’ सानो भएर पनि अमूल्य छन् ।
ताराहरू चन्द्रमा भन्दा आकारमा ठुलो र अनगिन्ती भएर पनि एउटा चन्द्रमाले अन्धकार कालो रातमा धरतीमा उज्यालो प्रदान गरिरहेको हुन्छ । यसअर्थमा मान्छेलाइ सानो ठुलोको सामथ्र्य छुट्याउनुपर्दा, जो मनुष्य ज्ञानले आलोकित हुनसक्यो त्यो बल्ल शक्तिशाली मानव हो । मान्छेले जन्माएको मान्छे मानव हुन सक्नुपर्छ कविको कवितामा यती कुराले चित्त बुझ्यो । आवरणमा अङ्कित चित्रकलाले सङ्केत गरिरहेको छ– कला, साहित्य र ज्ञान नै सत्य हो । कैवल्य हो । पुस्तकको आवरण सामान्य छ तर शक्तिशाली छ ।
कौमुदीले धरातल जगमगाइरहँदा पहाड र थुम्को पछाडिपट्टिको भाग गाढा अँध्यारो देखिएको छ । प्रतिकात्मक रूपमा यसलाई यसरी लिन सकिन्छ– सबै मान्छे सत्यको नजिक पुग्न सक्दैनन् । मान्छेको भीडमा जसले सत्य देख्न सक्यो ऊ कालजयी र जिवन्त बन्छ । खुशी रहन्छ । सतही आँखाले सत्यलाई अवलम्वन गर्ननसक्दा धन–दौलत, शक्ति र सत्ता प्राप्त गरेर पनि मान्छे अँध्यारोमा अलपत्र परिरहेको गहिरो सत्य आवरणमा प्रदिप्त छ । प्रतिकात्मक रूपमा साहित्यको अध्ययन र साहित्य साधक मात्र मान्छेको जीवनमा निर्माण हो र हो जीवन्त पनि । आवरणदेखि कवितामा संग्रहित कवितामा कतैपनि निराशा छैन । कुण्ठा छैन । कविहरू बाँच्ने सकारात्मक धरातल पनि यही हो । उज्यालो शकुन र अँध्यारो अपशकुन प्रतिकात्मक रूपमा बृहत अर्थ पुस्तकमा आएको छ ।
पुस्तकको पहिलो उपजाति छन्दको कवितामा कवि नोस्टाल्जिक बनेका छन् । बालशुलभ चपलता र विगतमा आफ्नै गाउँ दिमिकको आँपको बगैचालाइ वर्तमानमा झल्झली सम्झिँदै कवि निकै खुशी हुन्छन् ः
अहो छँदा बालक कालमहाँ
खेल्थ्यौँ, दगुथ्र्यौँ सँग साथी त्यहाँ
लड्थ्यौँ, झगड्थ्यौँ क्षणभरका लागि
चौतारीमहाँ घरका पछाडि
चौतारी र बगैंचा नेपाली संस्कृतिको पहिचान हो यसको संरक्षण गर्ननसक्नुमा कविको गुनासो छ । अधिकांश कविताको सार आवरणमा नै प्रतिबिम्बित भएको छ ।संसारमा दुःख छ । दुःखको निराकरण हुनसक्छ भनेर महप्रास्थान गरेका गौतम बुद्धको छत्रछायाँ अन्तर्राष्ट्रिय दर्शन बन्यो, बरू आफै जन्मेको जगतमा रगतको खोलो बग्यो । बगिरहेको छ । कविता यसरी बोलिरहेको छ ः
शान्ति दीप जलाउने जगतमै ती बुद्ध जन्मे जहाँ
शान्ति भूमि भयो अशान्त अहिले कस्को कुदृष्टि यहाँ
समयको गतिलाई कसैले पनि रोक्न सक्दैन । जसले समयलाई चिनेर समयअनुकुल कर्म गर्छ त्यो अवश्य सफल हुन्छ । पन्चचामर छन्दको समय शिर्षकको कवितामा कविको अभिव्यक्ति यस्तो छ–
यदि भन्यो भोलि भोलि बनेर अल्छी लौं यदि
सबैको हुन्छ नै जसै भविष्यमा अधोगति
कवितामा नेपाली संस्कृति, चालचलन र मौलिकता जताततै पढ्न पाइन्छ । घाँटु, सोरठी, द्योसीरी, नेपाली लोकपरम्परालाई जीवित राख्न युवाहरूलाइ आव्हान गरिएको छ । स्थानीय प्राकृतिक बिम्बको प्रयोगले आफू जन्मेको ठाउँको गरीमा बढेको छ ।
नेताहरूले परिवर्तन र वादको खोल ओढेर जनतालाई पटकपटक धोका दिएको यथार्थ कविता बोलिरहेको छ । शक्ति र सत्तामा पुगेर जनताको लागि होइन आफ्नै सुविधाको लागि होडबाजी चलिरहेको नेपली शासकको शासकीय प्रवृत्ति र मौलाउदै गएको भ्रष्टाचारलाइ कविले दुरूस्त कविताको शैलीमा ब्यक्त गरेका छन् । अपवादको रूपमा राज्यप्रति इमान्दार निष्ठावान व्यक्तित्व पनि होलान् ! राज्य र जनताप्रति भ्रष्ट र गैरजिम्मेवार कुरूप चरित्रलाई उनले यसरी लय प्रदान गरेका छन्–
भ्रष्टाचार अति भयो मुलुक नै लुट्यौ सबैले मिली
हौला एक दुई कुनै सहृदयी लौ राष्ट्रवादी पनि
उदाउँदो युवा पुस्ताप्रति कवि आशावादी बनेका छन् । परिवर्तनको नाममा अनिष्ट कर्मले जर्जर बनेको देशलाई युवाहरूले समृद्ध बनाउन सक्छन् भन्ने विश्वास छ, नारायणप्रसाद ज्ञवाली सँग । युवाहरूसँग विचार र शक्ति दुवै छ । देशसँग अथाह श्रोत छ । विचार, शक्ति र श्रोतको प्रयोगबाट देशलाई समृद्ध बनाउन युवाहरूलाई सामुहिक अपिल गरिएको छ ।
मैले बचपनदेखि नै नजिकबाट चिनेको व्यक्तित्व हो–नारायणप्रसाद ज्ञावली । जहिलेबाट मैले कविता लेख्न थालेँ र कविताको बारेमा आफ्नो विचार राख्न सक्ने भएँ, कवितामाथि विमर्श भैरहँदा कतैपनि मतभिन्नता भएन । उहाँ गद्य र पद्य दुबै शैलीमा कविता लेख्नुहुन्छ । छन्दमा लेखिरहनुभएका कतिपय अग्रज व्यक्तित्वहरूले गद्य कवितालाइ खुलेरै विरोध गरिरहेको पनि देखिन्छ । तर उहाँको विचारमा कविता यस्तो पवित्र अमृत हो जो कला र विचारले सुन्दर हुन्छ । कविता श्रवणले मात्र आत्मा स्वच्छ हुन्छ । अग्रज कवि नारायणप्रसाद ज्ञवालीको पहिलो कविता संग्रह कौमुदीको सफलताको लागि हार्दिक बधाई तथा शुभकामना !
स्याङ्जा, वालिङ–६, मिर्दी





