बागलुङ/ गण्डकी प्रदेशका ११ जिल्लामा रहेका आयुर्वेदिक औषधालयहरुमध्ये बागलुङमा रहेको धौलागिरि आयुर्वेदिक औषधालय प्रथम भएको छ । औषधालयले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा औषधालय प्रथम भएको हो ।
औषधि उत्पादन, बिरामीको उपचार, मासिक तथा वार्षिक कार्यसम्पादन, कर्मचारीको अनुशासन, पत्राचार, बेरुजु र कोभिड महामारीमा गरेका कामको मूल्यांकनका आधारमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले औषधालयलाई उत्कृष्ट ठहर गरेको हो ।
औषधालयले १ सय पूर्णांकमा ८० दशमलव ८ अंक प्राप्त गरेको थियो । दोस्रो भएको जिल्ला आर्युवेद औषधालय स्याङ्जाले ७६ दशमलव ६ र तेस्रो भएको कास्की आर्युवेदिक औषधालयले ७५ दशमलब ६ अंक प्राप्त गरेका छन् । वार्षिक समीक्षा कार्यक्रममा औषधालयलाई पुरस्कृत गरिएको थियो ।
‘कामको मूल्यांकन भएको छ, हामीलाई थप जिम्मेवार भएर काम गर्ने हौसला थपियो,’ औषधालयका प्रमुख डाक्टर सरोज कुमार रायले भने, ‘हामीले यो स्थानलाई कायम राख्नेगरी काम गर्नेछौं ।’ औषधालयले कोभिड महामारीको समयमा गाउँ गाउँमा पुगेर औषधि वितरणदेखि योग तथा ध्यान सम्बन्धि प्रशिक्षण चलाएको थियो । मासिक कार्यसम्पादनको बुलेटिन तयार गर्ने धौलागिरि आर्युवेदिक औषधालय गण्डकी प्रदेशको पहिलो हो ।





