पोखरा/ राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए ।
सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । जितसंगै क्यासलको ७ खेलबाट १९ अंक रहेको छ । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सविनको उत्कृष्ट ३ प्रहारमा पोष्ट बाधक बनेको थियो । हार पश्चात प्रशिक्षक राजेन्द्र तामाङले केही खेलाडीले भने अनुसार नखेलेको प्रतिक्रिया दिए । उनले क्यासल विरुद्धको खेल निकैनै प्रतिस्पर्धात्मक रहेको बताए । सविनको भने ७ खेलबाट १० अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ । क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु पहिलो स्थानका लागि खेल्ने बताए ।





