लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए । तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका । उनीहरुका केटी साथी बेपर्वाह काखमा वा छातिमा टाउको अड्याएर मस्त ! उनीहरुको स्कर्ट बेपर्वाह हावामा उँडिरहेको थियो । त्यही भिडमा उनले भारतीय मुलकी एउटी युवती देखेछन् ।
अंग्रेजी संवत्को २७ सेप्टेम्बर अर्थात् विश्व पर्यटन दिवस । विश्व पर्यटन दिवसको अघिल्लो दिन पोखराले विभिन्न देशका राजदूत र नेपालस्थित विकास साझेदार नियोगका प्रमुखहरुलाई स्वागत ग¥यो । पोखरा र समग्र नेपालको पर्यटनलाई ‘ब्राण्डिङ’ गर्न तथा कोभिडपछिको पुनरुत्थानको लागि उनीहरुको यात्रा फलदायी हुने विश्वास लिइयो । संयोग ! सिनेमाको माध्यमबाट नेपाललाई भारतीय बजारमा ब्राण्डिङ गर्ने हिन्दी सिनेमाका सदावहार हिरो देव आनन्दको जन्मदिन पनि सेप्टेम्बर २६ मै विभिन्न देशका राजदूतहरुलाई पोखराले स्वागत गरेको थियो, पर्यटन प्रवद्र्धनको लालचासँगै । चलनचल्तीको भाषामा ‘देवानन’लाई कसैले नसम्झे पनि उनी नेपालको पर्यटन प्रवद्र्धनको सद्भावना राजदूत थिए भन्नेमा चाहिँ कुनै द्धिविधा छैन ।
देव आनन्द उनै व्यक्ति हुन्, जसले हिप्पीकालीन काठमाडौंलाई ‘हरे रामा हरे कृष्णा’ फिल्ममार्फत् पर्दामा उतारे । यो फिल्म हिट मात्रै भएन, नायिका जिनत अमानसँग उनको अफेयर नै चल्यो । भला, उनको त्यो प्रेम टुसाउन नपाउँदै माटोमा मिलेको नै किन नहोस् ! सिनेमामा रहेको दम मारो दम.. होस वा ‘ कान्छा रे कान्छी रे’ बोलको गीत, अहिले पनि उत्तिकै चर्चित छन् । काठमाडौंका गल्ली र चोकहरुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन यो सिनेमाले अतुलनीय योगदान दियो÷दिँदैछ । त्यसो त,सन् १९४६ मा ‘हम एक हैं’बाट अभिनय यात्रा थालेका देव आनन्दले सन् १९७४ मा ‘इश्क इश्क इश्क’ सिनेमा बनाए । उनी सो सिनेमाको सुटिङ पनि नेपालमै गरेका थिए ।नेपालमा सुटिङ गरिएको ‘जानी मेरा नाम’ले उनको ख्याति अझ उचाइमा पु¥यायो ।
‘रोमान्सिङ विट लाइफ’ शीर्षकमा आत्मकथा लेखेका र त्यही पुस्तक प्रवद्र्धनको लागि सन् २००८ मा नेपाल आएका देवानन्दसँग जोडिएका किस्साहरु अनेकौं छन् । उनी नेपालका तत्कालीन राजा महेन्द्र र रानी रत्नका प्रिय नायक थिए । कतिसम्म भने, राजा महेन्द्रले युवराज वीरेन्द्रको विवाहमा देवानन्दलाई विशिष्ठ अतिथिको रुपमा काठमाडौं बोलाएका थिए ।देवानन्दसँगको किस्सा त विनोद चौधरीको आत्मकथामा पनि पढ्न पाइन्छ । २०२५ सालमा खिचापोखरीमा खोलिएको अरुण इम्पोरियममा देवानन्द सपिङका लागि आएको प्रसंगलाई विनोदले आत्मकथामा उल्लेख गरेका छन् ।
नेपालमा सिनेमा सुटिङ,नेपालीसँगको आत्मिय सम्बन्धले मात्रै हैन, उनको अभिनयले पनि त्यो बेलाका धेरै युवाहरु देवानन्दको फ्यान बनेका थिए । वरिष्ठ लेखक वसन्त थापाले स्वयम्भूमा भागिरहेकी जिनत अमानलाई पच्छयाउँदै गरेका देवानन्दलाई नजिकबाट देखेको उल्लेख गरेका छन् भने त्यसपछि भक्तपुर र चिकमकुल गल्लीको सुटिङको प्रसंग पनि उल्लेख गरेका छन् ।
वसन्तका अनुसार न्यातपोल मन्दिर परिसरमा सुटिङ चरिहँदा देवानन्द चाहिँ डाइरेक्टरको कुर्सीमा थिए रे ! मुमताज भने भीडको बीचमै लुगा र कपाल मिलाउँदै । पछि फिल्ममा उनले त्यो सुटिङलाई सिनेमामा ‘मेला भर्न आएकी गाउँकी नवयौवना सुन्दरी मुमताज ‘हो रे घुँघुँरु का बोले’ भन्ने गीतमा नाचेको र प्रेम चोपडा उभिएर मुमताजलाई लालची आँखाले हेर्दै गरेको रुपमा देखे रे ! काष्ठमण्डप सत्तलमा चलिरहेको सुटिङको प्रसंगमा भने वसन्तले भनेका छन्,‘ सुटिङ चलिरहेको थियो । ठूलठूला ‘आर्क लाइट’ हरूले फ्याँकेको उज्यालोमा सत्तलको मचानमा ‘दम मारो दम’ गानाको छायांकन गर्ने काम भइरहेको थियो । हामी जिनत अमानलगायतका तरुनी तन्देरीहरू चिलिम तान्दै झुमेर नाचिरहेका देख्न सक्थ्यौं ।’ पछि ठेलमठेल भएको र प्रहरी र सुटिङ हेर्नेहरुबीच भिडन्त नै भएको पनि वसन्तको स्मृतिमा रहेको छ ।
रोमान्सिङ विद लाइफमा देवानन्द उल्लेख गरे अनुसार युवराज वीरेन्द्रको विवाहको निम्तो मान्न नेपाल आएका बेला उनलाई जर्मन डकुमेन्ट्री निर्माता क्रिष्टियन डोर्भरले भेट्न खोजे रे ! उनीहरु हिप्पीहरुको बाक्लो उपस्थिति हुने ‘द बेकरी क्याफ’े पुगेछन् ।

लामो कपाल पालेका, सयपत्रीको माला लगाएका र गाँजा तानिरहेका युवा–युवतीहरु मस्त थिए ।तीमध्ये कोही उपरखुट्टी लगाएर बसेका थिए भने केही ध्यान मुद्रामा आकासतिर फर्केका । उनीहरुका केटी साथी बेपर्वाह काखमा वा छातिमा टाउको अड्याएर मस्त ! उनीहरुको स्कर्ट बेपर्वाह हावामा उँडिरहेको थियो । त्यही भिडमा उनले भारतीय मुलकी एउटी युवती देखेछन् ।
खुल्ला खालको कपडा पहिरिएकी तथा भुइँको घाँससँग खेलिरहेकी युवतीको मुखबाट ‘बब मेरा चस्मा’ भन्ने वाक्य सुनेपछि देवानन्दलाई यी युवती भारतीय हुन् भन्ने पक्का भएछ । उनले ती युवतीकै जीवनीमा आधारित रहेर सिनेमा बनाउने सपना पालेछन् । अर्को साँझ सोल्टीको बारमा उनले युवतीलाई भेटेछन् ।
सोल्टीको भेट प्रसंग उल्लेख गर्दै उनले लेखेका छन्–
अर्को दिन म सोल्टीको बारमा गएँ । रेष्टुरेण्टमा काम गर्ने वेटरले ती केटी देखाइदिए ।उनी बारको एउटा कुनामा थिइन् । उनको पिठ्यु मेरो अगाडि थियो । उनले कसैले आफूलाई भेट्न खोजेको चाल पाइन् । उनी पछाडि फर्किइन्,मलाई चिनिन् र उभिएर भनिन्,‘हाइ तपाईं मलाई भेट्न चाहनुहुन्छ ?’
‘स्वभाभिक,काठमाडौंमा सबैभन्दा लोकप्रिय र आकर्षक व्यक्तित्वसँग । ‘म तपाईंको ठूलो फ्यान हो र मेरी आमा पनि ।
उहाँ( आमा) कहाँ हुनुहुन्छ ?
मोन्टेरियल, क्यानाडा ।
अनि तिमी ?
काठमाडौंमा बिदा मनाउँदै ।
बिदाको लागि सुन्दर ठाउँ (हाँसोसहित )
तिम्रो नाम ?
ज्यानिस ।
ज्यानिस ?
वास्तविक जसवीर तर जेनिस रोजेको (हाँसो )
जसवीर नाम गरेकी ती युवती क्यानडाबाट नेपाल आएकी रहेछिन् । ज्यानिस नामले बोलाइने उनका माता–पिताको डिभोर्स भएको रहेछ । उनी क्यानडाको मन्ट्रियलमा बस्ने पनि उनकै मुखबाट थाहा भयो । नेपालमा उनको नेपाली प्रेमी थिए ।
अनि तिम्रा बा ?
उनले आमालाई छाडे र अहिले उनी अन्तै बस्छन्, पञ्जावको कुनै ठाउँमा ।
देवानन्दलाई कथा फु¥यो । विहेको सप्ताहव्यापी कार्यक्रमपछि देवानन्द बिदाइ भेटको लागि दरबार गए ।
उनले राजा महेन्द्रलाई भने,‘ यदि महाराजले मलाई अनुमति दिनुहुन्छ भने……मसँग एउटा कथा छ र त्यो नेपालमा मात्रै हुन्छ ।
राजा सुन्ने मुडमा थिए ।
एउटा सिनेमा जसले युवा तथा विन्दास घटनाको प्रतिनिधित्व गर्छ….
यसको मतलव हिप्पी ? राजाको प्रश्न थियो ।
हो सरकार । यो सिनेमाको गतिलो सोच हो, म यो यहाँ बनाउन चाहन्छु । देवानन्दले राजाको स्वीकृति पर्खे ।
अगाडि बढ, तिम्रो स्क्रिप्ट तयार छ ?
म पहिले तपाईंको स्वीकृति चाहन्छु ।
यो तिम्रो सोच हो,मेरो स्वीकृति किन ?
स्क्रिप्ट तयार भएपछि छायाङ्कनको लागि स्वीकृति । स्क्रिप्ट सबै यहाँ भित्र छ (दिमागमा औंलाले छुँदै )सरकारबाट प्राप्त प्रोत्साहनले यो एउटै कागजमा छिट्टै आउँछ ।
के तिमी पोखरा गएका छौ ?
मैले सुनेको छु ।
के तिमी तिम्रो भ्रमण र बसाइ लम्ब्याउन चाहन्छौ ? तिम्रो कामको लागि त्यो धेरै शान्त र शान्तिपूर्ण छ ।
म त्यस्तो मन पराउँछु ।
त्यहाँ मेरो भाइ राजकुमार बसुन्धराको असाध्यै स्टाइलिस फिस्टेल नामक होटल छ । हिउँले ढाकिएको अन्नपूर्ण हिमालको अघिल्तिर । त्यो तिम्रो लेखाइको लागि प्रेरणादायी हुनुसक्छ ।
देवानन्दले ३ दिनमा स्क्रिप्ट सकाए । मुम्बइ पुगेर आफ्ना सहकर्मीसँग हिप्पीबारे फिल्म बनाउने घोषणा गरे । तर, उनको स्क्रिप्ट नै कतै पौराणिक कथा त हैन ? भन्ने प्रश्न गरे रे ! देवानन्दलाई जसवीर अर्थात् ज्यानिसको चरित्र निभाउने हिरोइन खोज्नै मुस्किल !
उनले भनेका छन्,‘ त्यो बेलाका कुनै पनि हिरोइन मेरो बहिनीको रोलमा खेल्न चाहँदैनथे सबै मेरो अपोजिट रोल खोज्थे ।’ देवानन्दले अनुहार भारतीय तर व्यवहार पश्चिमाजस्तो देखाउने नयाँ हिरोइन लिने विचार गरे । सनकी,बेपर्वाह र संसार के छ र भन्ने खालको अनि चुरुट खान र खुल्ला बस्त्र निर्धक्क लगाउने ज्यानिस जो उनलाई चाहिएको थियो !

त्यस्तैमा अमरजीत नामक साथीले आयोजना गरेको एउटा पार्टीमा देवानन्दले जिनतलाई भेटे । महाराष्ट्रको क्याथोलिक स्कूल पढेकी र भर्खरै मिस एसिया बनेकी जिनत त्यो पार्टीमा सहभागी थिइन् । ठ्याक्कै ज्यानिसजस्तै क्याजुअल डे«ेसमा उस्तै हाउभाउ ।
देवानन्दका अनुसार टाइट पाइन्ट र ठूलो कब्जा भएको बेल्ट लगाएकी जिनतको पेटीमै सानो पर्स थियो । पर्समा के छ भन्ने खुल्दुली मेट्न नपाउँदै जिनतले हात हालिन् । महंगो चुरोट निकालिन् र आफ्नो ब्यागबाट सुनौलो लाइटर निकालिन् । ओठमा चुरुट च्यापिन् । त्यो बेला जिनतका आँखा देवानन्दसँग ठोक्किए । उनलाई संसारले के भन्छ बाल थिएन । देवानन्द हेरेको हे¥यै भए । जिनतले देवानन्दतर्फ चुरुट बढाइन् । बट्टाबाट झिक्न नपाउँदै देवानन्दको अगाडि चुरुट थियो । चुरुट सल्काउँदा जिनत देवानन्दलाई नै नियाल्दै थिइन् ।
अडिसनको बेला जिनत देवानन्दले भने अनुसार मुस्कुराइन्, कराइन् ।स्टुडियोबाट निस्कँदा ठूलो र सेक्सी चस्मा लगाएकी जिनत देवानन्दकै कारमा थिइन् ।
मलाई तिम्रो चस्मा मन प¥यो ।
जिनतले तत्काल चस्मा फुकालिन् र देवानन्दको गोजीमा राखिदिँदै भनिन्,‘ मेरोतर्फबाट उपहार ।’
तर, यो तिमीलाई सुहाएको छ ।
त्यसैले त ।
जीवनपर्यन्त देवानन्दले त्यो चस्मा दराजको कुनामा राखिरहे रे !





